काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्ममा रू.७ करोड ४९ लाख नोक्सानीमा रहेको छ । गत आवको यसै अवधिमा भने कम्पनी रू. १ करोड १५ लाख नाफामा थियो । चालू आवमा कम्पनीको ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै नोक्सानीमा गएको हो ।
कम्पनीको ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २५ दशमलव ३४ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको ब्याज आम्दानी रू. ६१ करोड ७ लाख रहेकोमा चालू आवमा घटेर रू. ४५ करोड ५९ लाखमा सीमित भएको हो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा रू. १ करोड ६१ लाख रहेकोमा चालू आवमा रू.७ करोड ५० लाख ऋणात्मक छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव २० छ ।
चुक्ता पूँजी रू. ७२ करोड १४ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १९ करोड ३३ लाख र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख सञ्चिति गरेको छ । सो अवधिमा रिटेन्ड अर्निङ भने रू. ७ करोड ७२ लाख ऋणात्मक छ ।