काठमाडौं । धितोपत्र कारोबारमा लगाइएको लक इनको अवधि पुरा गरी असोज महीनामा कुल ३ करोड ३८ लाख २६ हजार कित्ता शेयर कारोबार योग्य हुने भएको छ । तीन कम्पनी सर्वोत्तम सिमेन्ट, साहस उर्जा लिमिटेड र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको उक्त बरावर कित्ता शेयरको लकइन अवधि असोज महीनाभित्र सकिने भएको हो ।
नेपाल धितोपत्र बोर्ड सेबोनले सूचीकृत कम्पनीको शेयरको लक इन अवधिक सकिनु १ महिना अगाडि सूचना जारी गरी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीले लकइन अवधि सकिने दिन सार्वजनिक गरेका हुन । यी कम्पनीले योग्य संस्थापक लगानीकर्ता, संस्थापक शेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र आफ्ना कर्मचारीका लागि जारी गरेको शेयरको लकइन अवधि सकिने भएको हो । यी तीन कम्पनीको आगामी असोज २१ गते भित्रे लक इन अवधि सकिदै छ ।
नेप्सेका अनुसार साहस ऊर्जा लिमिटेडको कुल २ करोड ८२ लाख १० हजार कित्ता शेयरको लक इन अवधि आगामी असोज १६ गते सकिने भएको छ ।कम्पनीको संस्थापकतर्फको २ करोड ४५ लाख कित्ता, स्थानीयको ३५ लाख कित्ता र कर्मचारीको नाममा रहेको २ लाख १० हजार कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।
त्यस्तै, सर्वोत्तम सिमेन्टको योग्य संस्थागत लगानीकर्ताको लागि छुट्याएको २४ लाख कित्ता शेयरको लक इन असोज ५ गते सकिने भएको छ । साथै यस कम्पनीले सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको १ लाख ५४ हजार २२७ कित्ता शेयरको लक इन अवधि भने भदौ २५ गते हिजो सकिएसँगै आज देखि कारोबारयोग्य भइसकेको छ ।
त्यसैगरी, बुद्धभूमि हाइड्रोपावरको ३२ लाख १६ हजार कित्ता शेयरको लक इन अवधि आगामी असोज २१ गते सकिने भएको छ । कम्पनीको संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको नाममा रहेको १६ हजार कित्ता शेयरको लक इन सकिने भएको हो ।
सबै कम्पनीको शेयर लक इन अवधि सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्नेछ ।