संसारमै आइक्यू कम भएको नेपाली हो भन्ने कुरा बेलाबेलामा आइरहन्छ । नेपालीहरूको सार्वजनिक स्थलहरूमा चुरोट पिउने र जथाभावी थुक्दै हिँड्ने बानी, सामाजिक चालचलन, सामाजिक सञ्जालहरूमा गरिने टिप्पणीहरू र चेतनाको स्तर हेर्दा हो जस्तो पनि लाग्छ । भूपि शेरचनले बुद्धुजीवी भनेर उहिले ऐलान गरिसकेका थिए । बुद्धि नभएकैले वीर भएका हुन् भन्ने उनको हाइपोथेसिस थियो । तर म देशैभरि जताजता जान्छु, बुद्धिजीवी नै बुद्धिजीवी मात्रै देख्छु त । संसद्देखि सडकसम्म, होटलदेखि मोटलसम्म, रेस्टुराँदेखि पसल वा बहालसम्म, बस चढ्नुस् कि प्लेनमा उड्नुस्, तपाईं कुनै न कुनै बुद्धिजीवीको फेला परिहाल्नुहुन्छ । रिक्सा तान्नेदेखि प्लेन उडाउनेसम्म सबै एकसे एक विद्वान्, त्यो पनि हरेक विधामा । रकेट साइन्सदेखि होम साइन्ससम्ममा सबका सब विज्ञ । भारतमा कसले कति सिट जित्छ र सरकार कसले बनाउँछ भनेर ठोकुवा गर्नेदेखि देशको अर्थतन्त्र कता जान्छ भनेर दाबी गर्नेसम्म सबै विषयमा सर्वज्ञानी । त्यसो भए को हो त खाँटी बुद्धिजीवी ?
बुद्धिजीवी भनेको त्यो हो, जसले बुद्धि बेचेर खान्छ । श्रमजीवीले श्रम बेचेर पेट पाल्छ भनेजस्तै बुद्धिजीवीले बुद्धि बेचेर खान्छ । तर बुद्धिजीवीले बुद्धि बेच्यो भने ऊसँग के बाँकी रहन्छ र भनेर सोध्नुहोला । बुद्धिजीवीसँग बुद्धिको खानी वा कुवा नै हुन्छ नि त । अनि उसले बुद्धिको कुवामा बाल्टी हालेर विचार निकालिरहन्छ र बेचिरहन्छ । बिकेन भने त्यै विचारले आफै ख्वाल्ल नुहाउँछ । तर, कुन बाल्टीबाट कस्तो विचार बेचेँ भनेर उसैलाई थाहै हुन्न ।
त्यसो त बुद्धि नै नभएकाहरू पनि समाजमा बुद्धिजीवी कहलिएर हिँडिरहेका हुन्छन् । बुद्धि नभएका नेताका निगाह पर्यो भने स्वाँठ पनि विद्वान् र बुद्धिजीवीमा गनिएर बुद्धि बेचेर खाएको स्वाँग गर्न सक्छ । शिवको घाँटीमा बेरिन पाएपछि सर्पले पनि गरुडलाई फणा उठाउने गरेजस्तै क्या ! त्यसैले त भनिएको ‘स्थानं प्रधानम् न बलप्रधानम्’ । अझ बुद्धि बेच्न भनेर संसद् छिरेका सांसदहरू बुद्धि बेच्नुपर्ने बेलामा कि त संसद् बेन्चमै निदाइरहेका हुन्छन् वा हाजिर गरेर बाहिर कोकोसँग अर्थोकै क्यै बेच्न हिँडिरहेका हुन्छन् । अरूको के कुरा गर्नु ?
अचम्मको व्यक्तित्व पो हुन्छ त बुद्धिजीवीको । छाती स्वाभिमानी पोजमा, भाषामा जी हजुरी । अनुहार चिन्तक, दार्शनिकको जस्तो । पोशाक परिवेशअनुसारको । चलाख, होसियार । ध्यान बोतल र नुनिलोमा । कुरा सधैं राजनीतिक रेसको, तर सन्दर्भ सधैं देशको र भेषको । भित्र व्यक्तिवादी, बाहिर राष्ट्रवादी ।
भलै बुद्धिजीवी बुद्धिजीवी नै हुन्छ । उसको यही नै पहिचान पनि हो । भैरव अर्यालले उहिले बुद्धिजीवीलाई आलु भनेका थिए, जहाँ जस्तो अवस्थामा जसरी पनि मिल्न सक्ने भएर । तर, अहिलेका बुद्धिजीवीको लक्षण आलुजस्तै भए पनि कतिपय कुरामा भने काँचो पिँडालुजस्ता हुन्छन् । वास्तवमा बुद्धिजीवीमा कुनै अर्को सिंग वा जुरो पलाएको हुँदैन । ऊ त्यस्तै हुन्छ । दुई हातखुट्टा, एउटा ठूलै पेट, सानो छाती, तर कान चाहिँ निकै टाठा । तर सुनेर कुरा काट्नभन्दा पहिल्यै कुरा काट्ने हतारमा । आवश्यकता पर्यो भनेमात्र देख्ने बाक्लो चस्मा लगाएका आँखाहरू । कोपर्न चिथोर्न सक्ने औंला र नङहरू । अवसर सुँघ्न सक्ने कला भएको एउटा लामो नाक र आ–आफ्नै ठाउँमा अवस्थित अन्य अंगहरू ।
तर यी सबै सामान्य मानव शरीर–शास्त्रीय गुण–अवगुण जे भए पनि ऊ बुद्धिजीवी नै हुन्छ । ऊ जे हो, त्यै हो । बुद्धि हुनु नै बुद्धिजीवी हुनुको अनिवार्य शर्त हैन । किनकि ऊ बुद्धि जुराएर, फुराएर वा भुटेर पनि जिउन सक्छ । जिउन मात्र होइन, सात पुस्तालाई सम्पत्ति सोर्न सक्छ । त्यसैले ऊ बुद्धिजीवी हो ।
प्राय: बुद्धिजीवीले म बुद्धिजीवी हुँ भन्ने देखाउन आफ्नो नाम अगाडि डा., पीएचडी, प्रोफ. आदि लगाएर भिजिटिङ कार्ड बाँड्न मन पराउँछन् । थेसिस हीराको विषयमा लेखेर पीएचडी गरेका रहेछन् भने पनि आफूलाई केरादेखि कीरासम्मको ज्ञान रहेको देखाउन चुक्दैनन् । यसो कुरा चल्यो कि आफू त डाक्टरजस्तो मान्छे भन्न चुकाउँदैनन् । कसैले लेख्दा वा बोल्दा डा. साब भन्न छुटायो भने बल्ल तपाई्रले डा. साबको घमण्डको घडा विष्फोट भएको देख्नुहुनेछ ।
अरू देशको चैं थाहा भएन, तर नेपालमा भने बुद्धिजीवी सामूहिक प्राणी हो । ऊ एक्लै बस्नै सक्दैन, समूह बनाइहाल्छ । कुनै न कुनै राजनीतिक दलको झण्डामुनि गएर ओत लागिहाल्छ । आफ्नो बुद्धि जहाँ बेच्न सक्छ, त्यैं जान्छ । चाखलाग्दो कुरा यो छ कि बुद्धिजीवीले जे सोचेको हुन्छ, नेताले पनि त्यै सोचेको हुन्छ वा जे नेताले सोच्छन् बुद्धिजीवीले पनि त्यैै सोचिरहेको, बोलिरहेको पाइन्छ । किनकि बुद्धिजीवी आखिर जीवी नै होन्त । उसले पनि बाँच्नु पर्छ नि त । राजनीतिज्ञ, नेताहरूसँग असहमत भएर ऊ कसरी बाँच्न सक्छ र ?
बुद्धिजीवी सामान्यतया शहरहरूमा अझ राजधानीमा धेरै पाइन्छन् । उसलाई त्यहाँको वातावरण खुब राम्रो लाग्छ । यी शहरहरूमा बस्दै गर्दा बुद्धिजीवीका एउटा आँखा किताब वा पत्रपत्रिकामा र अर्को आँखा कुनै भवनमा अड्किरहेको हुन्छ, जहाँ उसलाई बुद्धिजीवी हुनुको कारण फाइदा हुन सक्छ । जस्तै, कुनै समिति, आयोग, परिषद्, विश्वविद्यालय, साझा लगायतका सरकारी संस्थाहरू, राजदूतावास आदि । यसरी ज्ञान प्राप्तिको दुईटा डुंगामा उसका दुई खुट्टा सवार भइरहन्छन् । अनि एक्कासि उसलाई सत्ताको डुंगामा चढ्ने अवसर पनि आइलाग्न सक्छ । अनि उनका खुट्टा कुनमा चढ्ने, कुनलाई छोड्ने भन्ने दोधारमा धर्मराउन थाल्छन् । त्यसपछि उनी जे जे बोल्न थाल्छन्, त्यसबाट ज्ञानको सुगन्धभन्दा लाभको दुर्गन्ध चैं ह्वास्सै आउन थाल्छ । जब लाभको कुरा गर्नुपर्ने हुन्छ, तब बुद्धिजीवीले त्यसलाई कुनै सिद्धान्तमा लपेटेर भावपूर्ण शब्दहरूले सजाएर बोल्न थाल्छन् ।
अचम्मको व्यक्तित्व पो हुन्छ त बुद्धिजीवीको । छाती स्वाभिमानी पोजमा, भाषामा जी हजुरी । अनुहार चिन्तक, दार्शनिकको जस्तो । पोशाक परिवेशअनुसारको । चलाख, होसियार । ध्यान बोतल र नुनिलोमा । कुरा सधैं राजनीतिक रेसको, तर सन्दर्भ सधैं देशको र भेषको । भित्र व्यक्तिवादी, बाहिर राष्ट्रवादी । त्यो संस्थाको प्रोजेक्ट सकेर आए, अब उता जाने तयारीमा । थपीराखुँ, चाटीराखुँ, अड्डा जमाइराखुँ । राजपथदेखि साहित्यका गल्लीहरूमा, त्यहाँबाट फेरि राजपथमा । यता चाँदी उता सुन । चामलभित्रका घुन ।
बुद्धिजीवीका आँखै खतरा, बाजका जस्ता । कहाँ छ नियुक्ति खाली, कहाँ छ थैली भारी, सबै थाहा हुन्छ । शब्द, लक्षणा, व्यञ्जना, भाषा, तर्क उसका अघिपछि दौडिरहन्छन् । प्रत्येक लाभका ठाउँका सूचना ऊसँग हुन्छ । यो गणतन्त्र उसकै लागि त आएको हो नि । किनकि ऊ बुद्धिजीवी हो । तपाईंका छरछिमेकतिर आसपासमा पनि पक्कै होलान् है बुद्धिजीवीहरू, कतै गोष्ठी सेमिनारमा वक्ता बन्न जाने तयारीमा, सुट, टाईमा आयोजकका सवारीमा । जताजता वाह सुन्न पाइन्छ, त्यता त्यता दौडाहा र रनाहा । के गरेँ भने सुद्दी नरहने सुद्धिजीवी, बुद्धि नभईकनै चल्ने वाह ! हाम्रा बुद्धिजीवी ।