काठमाडौं । घाटामा रहेका कम्पनीको शेयर मूल्य पनि उच्च रहेका बेला पछिल्लो समय वाणिज्य बैंकको शेयरको भाउ भने माथि उठ्न सकेको छैन । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ११ ओटाको प्रतिशेयर मूल्य २०० रुपैयाँभन्दा तल झरेको छ ।
बजार पूँजीकरणका हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकका शेयर सबैभन्दा सस्तामध्येमा पर्छन् । कुमारी, प्रभु, लक्ष्मी सन्राइज, नेपाल इन्भेष्टमेण्ट मेगा, सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ्रे, एनएमबि, हिमालयन, ग्लोबल आइएमई, प्राइम कमर्सियल र नेपाल बैंक लिमिटेडको शेयर मूल्य २०० रुपैयाँभन्दा तल रहेको छ ।
यीमध्ये पनि सबैभन्दा सस्तो कुमारी बैंकको शेयर छ । सोमवार कुमारीको शेयर मूल्य प्रतिकित्ता १३२ रुपैयाँ ३० पैसा कायम भएको छ । दोस्रोमा प्रभु बैंकको शेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ कायम भएको छ । सबैभन्दा महँगो स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य प्रतिकित्ता ५१३ रुपैयाँ ५० पैसा छ । विगतमा वाणिज्य बैंकहरूको शेयर एकदमै मूल्यवान् मानिन्थ्यो । केही वर्षयता वाणिज्य वैंकका शेयर मूल्य अन्य क्षेत्रका सूचीकृत कम्पनीको तुलनामा माथि उठ्न सकेको देखिँदैन । धितोपत्र विज्ञ तथा अधिवक्ता ज्योति दाहालका अनुसार पछिल्लो समय वाणिज्य बैंकको घट्दो लाभांश दरका कारण लगानीकर्तामा तिनको शेयर किन्ने आकर्षण घटेको हो ।
‘गतवर्षको नाफाबाट धेरै बैंकले लाभांश दिएनन्,’ उनले भने, ‘पछिल्लो वित्तीय विवरण हेर्ने हो भने पनि अझै १/२ वर्ष लाभांश दिन नसक्ने अवस्था छ । यसले गर्दा पनि वाणिज्य बैंकको शेयर लगानीकर्ताको रोजाइमा नपरेको हो ।’ गत आर्थिक वर्ष (आव) नाफा कमाएको हिसाबमा चालू आव २०८०/८१ मा २० मध्ये १२ ओटा बैंकले मात्र लाभांश वितरण गरेका छन् । हिमालयन, एनएमबि, प्राइम कमर्सियल, कुमारी, नेपाल इन्भेष्टमेण्ट, नेपाल, प्रभु र कृषि विकास बैंकले यस वर्ष लगानीकर्तालाई लाभांश दिएका छैनन् । चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्ने हो भने आगामी वर्ष पनि धेरै वाणिज्य बैंकले शेयरधनीलाई प्रतिफल दिन नसक्ने अवस्था देखिएको छ । १० ओटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।
हिमालयन, नेपाल इन्भेष्टमेण्ट, कुमारी, एन आई सी एशिया, लक्ष्मी सन्राइज, नेपाल, एनएमबि, ग्लोबल आइएमई, माछापुच्छ्रे र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । ‘लगानी गर्ने भनेको प्रतिफलको लागि हो प्रतिफल नै छैन भने किन लगानी गर्ने,’ दाहालले प्रश्न गरे ।
लगानीकर्ता छोटेलाल रौनियार वाणिज्य बैंकको शेयर पूँजी धेरै भएकाले लगानीकर्ताको आकर्षणमा नपरेको बताउँछन् । ‘पछिल्लो समय लगानीकर्ताको रोजाइमा कम शेयर पूँजी भएको कम्पनी परेका छन् । निश्चित समूह नै मिलेर कम पूँजी भएको कम्पनीको शेयर मूल्य उचालेका छन्,’ उनले भने ।
वाणिज्य बैंकको शेयर संख्या धेरै छ । शेयर संख्या धेरै हुँदा भएको नाफाबाट लाभांश धेरैलाई बाँड्नुपर्ने हुन्छ । यसो हुँदा लगानीकर्ताले पाउने लाभांश सीमित हुन्छ । पछिल्लो चरणको मर्जर तथा प्राप्तिपछि वाणिज्य बैंकको संख्या २० मा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकबाहेक १९ बैंक धितोपत्रको दोस्रो बजार नेप्सेमा सूचीकृत छन् ।
मर्जरपछि बढेको पूँजीअनुसार व्यवसाय बढाउन नसक्दा यिनीहरूको शेयर मूल्य निकै तल झरेको जानकार बताउँछन् । रौनियार भन्छन्, ‘अहिले त वित्तीय विवरण पनि त्यत्ति राम्रो आइराखेको छैन । यसकारण पनि वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छैन ।’