विदेशिने नेपालीको संख्या बढिरहेको छ । यसलाई कतिपयले नकारात्मक रूपमा चित्रण गरेको पाइन्छ भने कतिपयले स्वाभाविक रूपमा लिनुपर्ने तर्क गरेका छन् । यसै सन्दर्भमा अध्यागमन विभागले सार्वजनिक गरेको २०२४ को तथ्यांकअनुसार यस वर्ष १६ लाख ७४ हजारभन्दा बढी विदेश गएका छन् । यो भनेको दैनिक औसतमा २३ सयभन्दा बढी हो । यसरी लर्को लागेर नेपाली विदेशिँदा त्यसको आर्थिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पारेको छ । खासमा यसले नेपालको जनसांख्यिक लाभको उपयोग देशको विकासमा हुन नसकेको र बिस्तारै यो अवसर नेपालले गुमाउँदै जाने सम्भावना बढेको देखाएको छ । त्यसैले यो प्रवृत्तिलाई कि त रोक्न सक्नुपर्छ कि त विदेश गएर शीप सिकेका र आर्थिक आर्जन गर्न सकेका नेपालीलाई नेपालमा लगानी गर्ने र नेपालमै फिर्ता हुने वातावरण बनाइनुपर्छ ।
एक वर्षमै ६६ हजारभन्दा बढी नेपाली स्थायी बसोवासका लागि विदेशिएका छन् । यद्यपि यो संख्या गतवर्षभन्दा झन्डै चार हजारले कम छ । यसरी स्थायी बसोवास गर्न जाँदा तिनले यताको सम्पत्ति अवैधानिक बाटोबाट लगेका हुन सक्छन् । यो प्रवृत्तिबाट पूँजी पलायन हुन सक्छ । यस सम्बन्धमा स्पष्ट अध्ययन भएको छैन । त्यसमा पनि उच्च दक्षतायुक्त जनशक्ति कत्तिको स्थायी बसोवासका लागि बाहिरिएका छन् भन्नेमा पनि ध्यान जानु आवश्यक छ ।
वैदेशिक रोजगारीमा जानुलाई पूर्णतया अनुपयुक्त मान्न नसकिए पनि नेपालबाट जाने अत्यधिक जनशक्ति अदक्ष वा अर्धदक्ष हुनु चाहिँ चिन्ताको विषय हो । यस्तो जनशक्तिले ठूलो मात्रामा विप्रेषण पठाउन सक्दैन । विदेश जानेमध्ये आठ लाख ५६ हजार वैदेशिक रोजगारीमा गएको देखिन्छ । यीमध्ये अधिकांशले विप्रेषण पठाउँछन् । त्यही विप्रेषण रकम नै नेपालको अर्थतन्त्रका लागि सास हो । एक वर्षमा आठ लाख युवा काम गर्न गए पनि त्यसमा कतिपय बीचमा आएका र फेरि गएका छन् । त्यसो हुँदा प्रत्येक वर्ष ८ लाखभन्दा बढी युवा विदेशिएको भन्न मिल्दैन । तैपनि अदक्ष युवालाई विदेश जान रोक्नु अर्थतन्त्रका लागि लाभदायी हुन्छ । नेपालमै दक्ष र अदक्ष कामदारको अभाव हुँदा अर्थतन्त्रमा असर परेको छ । कतिपय क्षेत्रमा भारतीय र बंगलादेशी कामदार प्रयोग गर्नु परिरहेको छ । त्यसैले नेपालबाट भारततर्फ ठूलो रकम विप्रेषणका रूपमा गइरहेको छ । यद्यपि यसको सही तथ्यांक भने पाइँदैन । विदेशिनेमध्ये १ लाखभन्दा बढी अस्थायी बसोवासका लागि विदेशिएका छन् । ती पनि एक प्रकारको स्थायी रूपले देश छाड्नेमै पर्छन् ।
पुग न पुग ३ करोड जनसंख्या भएको मुलुकका लागि विदेशिनेको यो संख्या चानचुने होइन । तर, यो संख्या हेरेर नीतिनिर्माताले नीति बनाउनतिर ध्यान नदिएको हो कि भन्ने देखिन्छ । विदेशमा जानेलाई स्वदेश फर्काएर नै मुलुकको विकास हुन्छ भन्न नजिकका छिमेकी चीन र भारत नै पर्याप्त छन् । तर, ती देशले जस्तो नेपालले अवसर दिन नसक्ला । तैपनि स्थीर नीति र आत्मविश्वास जगाउन सक्ने सरकार बनेर देशले एउटा गति समातेमा धेरै नेपाली स्वदेश फर्कन र नेपालमा लगानी गर्न तयार देखिन्छन् । तिनलाई नेपालमा ल्याउन सकियो भने पूँजीमात्र होइन, प्रविधि पनि भित्रिन्छ ।
त्यस्तै, गैरआवासीय नेपालीलाई आवासीय नेपालीसरह लगानीको सुविधा दिन सकिन्छ कि सकिँदैन भन्नेमा अध्ययन गरेर त्यसतर्फ पनि सोच्नु उपयुक्त हुन्छ । गैरआवासीय नेपालीलाई केही अधिकारसहितको नागरिकता दिन थालिएको छ । यसबाट मुलुकले लाभ लिन सक्नु पर्छ । जेहोस्, मुलुकबाट बाहिरिने यो लर्कोलाई रोक्न सकिन्न तर त्यसलाई कसरी नेपालको हितमा प्रयोग गर्न सकिन्छ भनेर नीति बनाउन भने अब ढिला गर्नु हुँदैन ।