काठमाडौं। पानी उद्योग वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले मर्चेन्ट बैंक एनएमबी क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको छ । यो सहकार्य वृजहिमालयन स्प्रिङको ब्राण्ड स्थापित गरी व्यवसाय वृद्धि, विस्तार तथा विकासको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि एक महत्त्वपूर्ण कदम रहेको बताइएको छ ।
सम्झौताअनुसार एनएमबी क्यापिटलले पूँजी पुर्नसंरचना तथा वित्तीय परामर्श सेवा लगायत विभिन्न रणनीतिक साझेदार भित्त्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिई व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताइएको छ ।
एनएमबी क्यापिटलले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुर्नसंरचनामा सहयोग गर्नेछ । हाल वृजहिमालयनले ‘पूर्ण’ ब्राण्डमा १ लिटर, ५०० मिलिलिटर, २५० मिलिलिटरको बोतलमा मिनरल पानी तथा २० लिटरको जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ । केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृजहिमालयन स्प्रिङले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको बताइएको छ ।
मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्त, बीमा, उत्पादनमूलक उद्योग, सिद्वार्थ बैंक, सिद्वार्थ प्रिमियर इन्स्योरेन्स, सिद्वार्थ क्यापिटल, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अवसर इक्विटी, वृज सिमेन्ट, श्री स्टील्स, अर्घाखाँची सिमेन्ट, वृज एडिटिभ्स, वृज ग्लास, एसिएन कंक्रिटोसहित विभिन्न व्यावसाय सञ्चालन गर्दै आएको छ ।