फागुन २५, गोरखा (अस) । गोरखाको मनकामना बजारका व्यापारीहरूले रिचार्ज कार्डमा ठगी गर्दै आएको पाइएको छ । मनकामना मन्दिर आएका दर्शनार्थीलाई मन्दिर परिसरवरपरका व्यापारीहरूले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्डमा ठग्ने गरेको पाइएको हो । ग्राहकले १ सयको कार्डलाई १ सय ५ रुपैयाँ तिरेर किन्नुपरेको बताएका छन् । पोखराबाट मनकामना मन्दिर दर्शनका लागि आएकी दीपिका भुसालले भनिन्, ‘एनटीसी र एनसेल दुवै कार्ड किन्दा व्यापारीले पाँच÷पाँच रुपैयाँ बढी लिए ।’
मनकामनामा रिचार्ज कार्ड किन्दा सङ्खुवासभाका हिक्मत गोलेले पनि ठगिएको गुनासो गरिन् । ‘नमस्तेको १ सयको कार्ड किन्दा पाँच रुपैयाँ बढी लिए,’ उनले भनिन् । राजमार्ग छेउमा रहेको र प्रसिद्ध धार्मिक स्थलमा पनि भक्तजन ठगिएको उनले गुनासो गरिन् । मनकामना मन्दिरवरपर करीब २ दर्जन रिचार्ज कार्ड पसल छन् ।
मनकामनाका व्यापारीहरूले भने रिचार्ज कार्ड लिन केबलकारमार्फत मुग्लिन बजार ओहोरदोहोर गर्नुपर्ने भएकाले यात्रामा लाग्ने भाडाका लागि रू. ५ बढी लिनुपरेको बताएका छन् । गोरखाको स्थानीय प्रशासनले वर्षको एक÷दुईपटक मात्रै बजार अनुगमन गर्छ । सदरमुकामआसपासका बजारमा मात्रै अनुगमन हुने भएकाले सदरमुकाम टाढाका बजारमा मूल्यसूचीविना पनि सामानको विक्री हुँदा ग्राहकहरू मर्कामा परेका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.