भूराजनीतिक अवस्थितिले कुुनै पनि मुलुकको निर्यात व्यापारको ढाँचा तय गर्छ । नेपालको भूराजनीतिक अवस्थितिले उच्च मूल्य र न्यून तौल भएका प्रतिस्पर्धात्मक लाभ भएका वस्तुहरू निर्यात गर्नुपर्छ भन्ने नेपालको निर्यात व्यापारको ढाँचा निर्धारण गर्छ । यही पक्षलाई दृष्टिगत गरी नेपालले उच्च मूल्य र न्यून तौल भएका वस्तुहरूको निर्यात गर्ने नीति पनि अंगीकार गर्दै आएको छ । यस नीतिसँग मेल खाने नेपाल सुहाउँदो उच्च मूल्य र न्यून तौलको निर्यात ढाँचामा समाहित हुने वस्तुहरूमा यार्सागुम्बा पनि रहेको छ ।
यार्सागुम्बा निर्यातको अवस्था
उच्च मूल्य र न्यून तौल भएको तथा दुर्गम हिमाली क्षेत्रको आयआर्जनको आकर्षक स्रोतका रूपमा रहँदै आएको यार्सागुम्बाले नेपालको निर्यात बास्केटमा महत्त्वपूर्ण स्थान बनाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०११/१२ मा रू. १२ करोड ६९ लाख बराबर रहेको यार्सागुम्बाको निर्यात आव २०२३/२४ मा रू. ७० करोड १९ लाख पुगेबाट यो क्षेत्र आकर्षक क्षेत्रमा रूपमा विकसित हुँदै गएको पुष्टि हुन्छ । आव २०२३/२४ मा विश्वका १७ ओटा देश र तीनओटा महादेशमा नेपाली यार्सागुम्वा निर्यात भएको छ । देशगत आधारमा हेर्दा आव २०२३/२४ मा नेपालको यार्सागुम्बा सर्वाधिक रूपमा हङकङ (चीन)मा निर्यात भएको छ भने अन्य मुलुकहरूमा चीन, कम्बोडिया, भियतनाम, सिंगापुर, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, मलेशिया, ताइवान (चीन), मंगोलिया, फ्रान्स, जापान, चेक गणतन्त्र, रूस, ग्रीस, अस्ट्रेलिया र अस्ट्रिया रहेका छन् ।
यार्सागुम्बा निर्यातबाट राजस्वमा पुगेको योगदान
आव २०८०/८१ को भन्सार महशुल दरबन्दीका अनुसार नेपाल सरकारले यार्सागुम्बा निर्यात गरेवापत प्रतिकेजी रू. ५ हजारका दरले भन्सार राजस्व असुल गरिरहेको छ । यसरी आव २०२३/२४ मा यार्सागुम्बा निर्यातबापत रू. ७४ लाख १७ हजार ७ सय १० बराबरको राजस्व संकलन भएको देखिन्छ ।
यार्सागुम्बाको व्यवस्थित बजार प्रवर्द्धन गर्न नेपाली यार्सागुम्बालाई विश्वभरि परिचित गरी देशगत विविधीकरण गरी यसबाट अधिकतम लाभ लिन सर्वप्रथम यसलाई भावसहित नेपाली नाममा ब्राण्डिङ गर्नु जरुरी छ ।
सारमा भन्नुपर्दा विश्वमा आकर्षक बजार रहेको, नेपालमा राम्रो संकलन सम्भावना भएको बहुमूल्य उत्पादन यार्सागुम्बाको समग्र विकासका लागि देहायका विषयहरूको सम्बोधन हुनुपर्ने भने देखिन्छ । नेपालको भूराजनीतिक परिस्थिति सुहाउँदो नेपालको मौलिक उत्पादनको रूपमा रहेको यार्सागुम्बाको उत्पादनदेखि निर्यातसम्मका सबै क्रियाकलापहरूलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आवश्यक देखिएको छ । यार्सागुम्बाको निर्यातबाट मुलुकलाई अधिकतम लाभ लिन, यार्सागुम्बा व्यवसायबाट हुने लाभको न्यायोचित वितरण, दिगो विकासको अवधारणा अनुसार यार्सागुम्बाको संकलन तथा समग्र यार्सागुम्बा व्यवसायलाई मर्यादित, पारदर्शी र टिकाउ बनाउन देहायका सरोकारहरू रहेका छन् ।
नेपालको मौलिक एवम् उच्च मूल्य न्यून तौल भएको वस्तुका रूपमा रहेको यार्सागुम्बाको उत्पादन, संकलन, संरक्षण तथा दिगो विकास गरी यार्सागुम्बा व्यवसायबाट अधिकतम लाभ लिन राष्ट्रिय नीतिको आवश्यकता सर्वत्र महसूस गरिएको छ । यसका लागि सर्वप्रथम यस क्षेत्रको व्यवस्थित, वैज्ञानिक र दिगो विकास गर्न यार्सागुम्बा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा हुन आवश्यक देखिएको छ ।
दोस्रो, जडीबुटीहरूमा अत्यन्त संवेदनशील क्षेत्रका रूपमा यार्सागुम्बालाई चिरकालपर्यन्त जोगाइराख्न र भविष्यका सन्ततिले समेत यसको लाभ लिने वातावरण सृजना गर्न नेपालका अन्य जडीबुटीहरूको क्षेत्रमा झैं यार्सागुम्बाको संकलनलाई व्यवस्थित गर्न जरुरी देखिएको छ । यार्सागुम्बाको व्यवस्थित संकलन गर्न सर्वप्रथम यार्सागुम्बाको संकलन गर्न आचारसंहिता तर्जुमा गरी कार्यान्वयन गर्नु जरुरी देखिन्छ । दोस्रो, यार्सागुम्बाको संकलन, भण्डारण, ओसारपसार गर्न तालिम योग्यता निर्धारण गरी कार्यान्वयन गर्नु पनि आवश्यक छ । तेस्रो, यार्सागुम्बाको दिगोपन कायम गर्न यार्सागुम्बाको संकलनमा क्षेत्रहरू तोकी कोटा निर्धारण गर्नु पनि त्यत्तिकै जरुरी देखिएको छ ।
चौथो, यार्सागुम्बाको संकलन, ओसारपसार, भण्डारण र वितरणमा सुरक्षाको प्रत्याभूति हुने गरी संकलन क्षेत्रमा संकलन अवधि, भण्डारण र ओसारपसार अवधिमा सुरक्षा निकायको परिचालन पनि जरुरी देखिएको छ । पाँचौं यार्सागुम्बामा हुने गुण र तत्त्वहरू कायम हुने गरी तापक्रम कायम गर्न लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी यार्सागुम्बाको संकलन हुने प्रमुख केन्द्रहरूमा मिनी भण्डारण गृहहरू तथा काठमाडौंमा प्रदर्शनी कक्षसहितको भण्डारण गृह निर्माण हुन जरुरी छ ।
यार्सागुम्बाको व्यवस्थित बजार प्रवर्द्धन गर्न नेपाली यार्सागुम्बालाई विश्वभरि परिचित गरी देशगत विविधीकरण गरी यसबाट अधिकतम लाभ लिन देहायका कार्यहरू गर्न सर्वप्रथम नेपाली यार्सागुम्बालाई भावसहित नेपाली नाममा ब्रान्डिङ गर्नु जरुरी छ । यसैगरी नेपाली यार्सागुम्बालाई अन्तरराष्ट्रिय अभ्यास र स्ट्यान्डर्डबमोजिम लेबलिङ गर्न पनि त्यत्तिकै जरुरी छ ताकि उपभोक्ताहरूले एक झलकमा नै यार्सागुम्बाको सम्पूर्ण लाभको जानकारी प्राप्त गर्न सकून् । यार्सागुम्बाको गुण र विद्यमान तत्त्व कायम हुने गरी प्याकेजिङ गर्न अन्तरराष्ट्रिय मापदण्डबमोजिम यार्सागुम्बाको प्याकेजिङ गर्ने अभ्यासलाई अनिवार्य रूपमा लागू गर्न पनि जरुरी छ ।
यार्सागुम्बाको व्यवस्थित प्रचारप्रसार गरी नेपाली यार्सागुम्बालाई विश्वभरि परिचित गराउन देशगत विविधीकरण गरी यसबाट अधिकतम लाभ लिन यार्सागुम्बाको वृद्धि, संकलन, लाभ र दुर्गम क्षेत्रका जनताको आयआर्जनमा गरेको योगदान र यसका औषधीय लाभहरूको जानकारीसहितको आकर्षक डकुमेन्ट्री बनाई प्रचारप्रसार गर्न पनि त्यत्तिकै जरुरी छ ।
नेपालको मौलिक एवम् उच्चमूल्य, न्यून तौल भएका वस्तुका रूपमा रहेको यार्सागुम्बाको उत्पादन, संकलन, संरक्षण तथा दिगो विकास गरी यार्सागुम्बा व्यवसायबाट अधिकतम लाभ लिन राष्ट्रिय नीतिको आवश्यकता सर्वत्र महसूस गरिएको छ ।
यस्तै विभिन्न मेलामहोत्सवमा नेपाली यार्सागुम्बाका बारेमा प्रचारप्रसार गर्न तथा उपभोक्ताहरूलाई व्यवस्थित जानकारी प्रदान गर्न अन्तरराष्ट्रिय मापदण्डअनुसारका गुणस्तरीय ब्रोशर तयार गरी नेपाली यार्सागुम्बाको ख्यातिको प्रचारप्रसार गर्नु पनि त्यत्तिकै जरुरी देखिन्छ । यार्सागुम्बा विशिष्ट गुण भएको जडीबुटीमा पर्छ । परन्तु शास्त्रीय विश्वासमा टेकेर यस उत्पादनको आधुनिक विधि र पद्धतिअनुसार अनुसन्धान र विकासका क्षेत्रमा नेपाल सरकार र निजीक्षेत्रको लगानी हुन पनि त्यत्तिकै जरुरी छ । वैज्ञानिक आधारमा यार्सागुम्बाको महत्त्वको खोजी गर्न, प्राकृतिक वातावरणमा यार्सागुम्बाको उत्पादन विस्तार गर्न वनस्पति विभागसँगको समन्वय, विश्वविद्यालयहरूका जीवशास्त्र विभागहरूको सक्रियतामा निजीक्षेत्र, आयुर्वेदिक संस्थान र उद्योगहरूसहित यार्सागुम्बाको दिगो विकास गर्न यार्सागुम्बा अनुसन्धान र विकास गर्ने रणनीति अंगीकार गरिनु पनि आवश्यक देखिन्छ ।
नेपाली जनताको आयस्तरमा वृद्धिसँगै उच्च मूल्यका वस्तुहरूमा नेपाली उपभोक्ताको पहुँच सहज भएको परिस्थितिमा स्वदेशमा पनि यार्सागुम्बाको उपभोग वृद्धि गर्नेतर्फ नेपाल सरकार र निजीक्षेत्र दुवैको ध्यान जानु आवश्यक छ । यार्सागुम्बाको स्वदेशमा पनि उपभोग वृद्धि गर्न यार्सागुम्बाको उपयोगिता, महत्त्व र उपभोग विधिबारे वास्तविक सूचना र तथ्यहरू प्रचारप्रसार गरी स्वदेशमा पनि यार्सागुम्बाको बजार विस्तार गर्न आवश्यक छ । यो रणनीति अंगीकार गर्न सकेको खण्डमा केवल विदेशमा मात्र निर्भर बजारमा स्वदेशी बजारमा समेत उपस्थिति भई यार्सागुम्बाको आपूर्ति र मागलाई स्वदेश र विदेश दुवैतर्फको बजारले स्थिरीकरण गर्न सक्ने देखिन्छ ।
यार्सागुम्बाको दिगो संकलन सर्वत्र चासोको विषय बन्न गएको छ । बीउ नै मासिने गरी भइरहेको अव्यवस्थित संकलनले गर्दा भविष्यमा यार्सागुम्बाको बीउसमेत मासिने हो कि भन्ने चिन्ता सर्वत्र व्याप्त छ । यस परिस्थितिमा यार्सागुम्बाको संकलन व्यवसायको अनुगमन र नियमन गर्न यार्सागुम्बाको दिगोपना कायम गरी यस व्यवसायलाई स्वच्छ, पारदर्शी, मर्यादित र अधिकतम लाभ हुने प्रकृतिको व्यवसायका रूपमा विकास गर्न यार्सागुम्बा व्यवसायको अनुगमन र नियमन गर्न नेपाल सरकारका सम्बद्ध सरोकार निकाय र निजीक्षेत्रको संयुक्त प्रतिनिधित्व हुने गरी यार्सागुम्बा व्यवसायको अनुगमन र नियमन गर्न संयन्त्रको गठन हुन पनि आवश्यक छ ।
उपर्युक्त परिस्थितिमा यार्सागुम्बाको व्यवस्थित विकास गर्न यार्सागुम्बा विकास परियोजनाको ढाँचामा यस क्षेत्रको व्यवस्थित र संगठित विकास गर्न जरुरी देखिन्छ । यसको शुरुआत यार्सागुम्बासम्बन्धी राष्ट्रिय नीति तर्जुमाबाट हुन जरुरी छ । यस नीतिअन्तर्गत रही पहिलो चरणमा निजीक्षेत्रको समेत सहभागितामा यार्सागुम्बाको संकलन गर्न आचारसंहिता तर्जुमा, यार्सागुम्बाको संकलन, भण्डारण, ओसारपसार गर्न तालिम योग्यता निर्धारण, यार्सागुम्बाको संकलनमा कोटा निर्धारण तथा आलोपालो यार्सागुम्बा संकलन विधिको अवलम्बन, यार्सागुम्बाको संकलन हुने प्रमुख केन्द्रहरूमा भण्डारण गृहहरूको निर्माण, यार्सागुम्बाको प्रमुख बजार र सम्भावना भएका सम्भाव्य मुलुकहरूमा नेपाल सरकारको सहयोगमा व्यवसायीहरूलाई मेलामा सहभागिताको व्यवस्था हुन जरुरी देखिन्छ । यस्तै गरी यार्सागुम्बालाई गुणस्तरका मापदण्डबमोजिम परिचित गराउन ब्रान्डिङ, लेबलिङ तथा प्याकेजिङको तालिमहरू पनि नियमित आवृत्तिमा सञ्चालन हुन जरूरी छ । ख्यातिप्राप्त टेलिभिजन प्रसारण संस्थाहरूसँगको सहकार्यमा यार्सागुम्बासम्बन्धी डकुमेन्ट्री निर्माण तथा कलाक्षेत्रमा विशारद प्राप्त संस्थाहरूसँगको सहकार्यमा यार्सागुम्बाको इतिहास र उपयोगिता झल्किने खालका उच्च गुणस्तरका ब्रोशरहरू प्रकाशन हुन पनि त्यत्तिकै जरूरी छ । यसका अतिरिक्त विदेशस्थित नेपाली राजदूतावाशहरूको सहकार्यमा यार्सागुम्बाको बारेमा वैज्ञानिक पद्धतिअनुसार बजार अध्ययन गरी नेपाली यार्सागुम्बाको बजारको प्रवर्द्धन गर्दै प्राप्त बजारको स्थायित्व प्रदान गर्न पनि उत्तिकै जरुरी छ । यसै गरी यार्सागुम्बाको क्षेत्रमा कार्यरत प्राज्ञिक, निजीक्षेत्रका संघसंस्थाहरूको क्षमता अभिवृद्धि गर्न संस्थागत क्षमता अभिवृद्धि हुन पनि जरुरी छ । सारमा भन्नुपर्दा यार्सागुम्बाको निर्यातबापत प्राप्त हुने राजस्वलाई यार्सागुम्बाको विकासमा उपयोग गर्ने रणनीति अपनाउन पनि त्यत्तिकै जरुरी छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।