दशकौंअघिबाट कृषिमा यान्त्रिकीकरण थालेको इजरायलले अहिले खेतीमा ड्रोन र रोबोट प्रयोग गर्न शुरू गरिसकेको छ । त्यहाँ बालीमा विषादी छर्न ड्रोन र बालीको निगरानीका लागि रोबोट प्रयोग गरिन्छ ।
नेपाललगायतका देशहरू यान्त्रिकीकरणकै चरणमा रहँदा इजरायल भने एक कदमअघि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चरणमा पुगेको हो । इजरायल मात्रै होइन, छिमेकी भारतले पनि कृषिमा एआईकै प्रयोग गरिरहेको छ । छिमेकी देशमा पछिल्लो ४ वर्षयता ‘डिजिटल भारत’ अभियान चलिरहेको छ ।
नेपाल भने अझै यान्त्रिकीकरणकै युगमा छ । ‘कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन नीति, २०७१’ जारी भएको दशक बित्न लाग्दा पनि देशभर पूर्णरूपले कृषिमा यान्त्रिकीकरण हुन सकेको छैन । अर्थात् अझै पनि धेरै ठाउँमा परम्परागत तरिकाले नै खेती गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहरा अझै देशमा कृषिमा एआईको प्रयोग शुरु नभइसकेको स्वीकार्छन् ।
‘अहिले एआई सञ्चालन भइसकेको अवस्था छैन । तर, नेपाल सरकारको नीतिअनुरूप मन्त्रालयका कार्यक्रमहरूलाई डिजिटलाइज्ड गरिरहेका छौं । कार्यालय व्यवस्थापनदेखि लिएर रोगकीराहरूका तथ्यांकलाई डिजिटलाइज्ड गर्ने प्रयास गरिरहेका छौं । किसान परिचयपत्रको कार्यक्रम पनि डिजिटलाइज्ड गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘कृषिमा एआईको हिसाबमा शुरुआती अवस्थामा छौं ।’
एआई प्रणालीको शुरुआतका लागि तथ्यांक चाहिने भएकाले अहिले तथ्यांक संकलनमै क्रममा रहेको उनको भनाइ छ । ‘एआई प्रणालीको शुरुआतका लागि सही तथ्यांक चाहिन्छ । हामीसँग सबै क्षेत्रको सही तथ्यांक छैन,’ उनले भने ।एआईको माध्यमबाट विभिन्न देशले उत्पादन बढाइरहँदा नेपालले भने यसको सदुपयोगका लागि पाइला अघि बढाएको छैन । यसको प्रयोग देशको कृषिको समुन्नतिका लागि महत्त्वपूर्ण बन्ने पक्का छ ।
समृद्ध बन्ने अवसर, तर छैन चासो
कृषि क्षेत्रको पछिल्लो अवस्था दयनीय छ । पछिल्ला केही वर्षमा नेपालमा कृषिजन्य वस्तुको आयात वर्षेनि बढ्दो छ । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७४/७५ यताका ५ वर्षमा कृषिजन्य वस्तुको आयात ५७ दशमलव ४९ प्रतिशतले बढेको छ ।
तथ्यांकअनुसार आव २०७८/७९ मा नेपालमा ३ खर्ब ५५ अर्बको कृषिजन्य वस्तु आयात भएको थियो । त्यसको ५ वर्षअघि आव २०७४/७५ मा भने २ खर्ब ४ अर्बको मात्र कृषिजन्य वस्तुको आयात भएको थियो । हुन त सरकारले यस क्षेत्रमा छुट्याउने बजेट वर्षेनि बढाएको देखिन्छ । सरकारले आव २०८०/८१ का लागि कृषिक्षेत्रलाई ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको थियो, जुन अघिल्लो आव २०७९/८० को तुलनामा ३ अर्ब रुपैयाँ बढी हो ।
आव २०७४/७५ यता बजेटमा कृषि बजेटको अंश पनि वर्षेनि बढ्दो छ । आर्थिक वर्ष २०७४/७५ को बजेटमा कृषिका लागि विनियोजित रकमको अंश १ दशमलव ८९ प्रतिशत थियो । त्यसको ५ वर्षपछि आव २०७८/७९ मा यो बढेर २ दशमलव ७६ प्रतिशत पुगेको छ । त्यसअवधिका बजेटमा कृषि बजेटको अंश वर्षेनि बढिरहेको छ ।
कृषिमा वर्षैपिच्छे बजेट बढिरहँदा पनि कृषि वस्तुको आयात बढ्नुको कारण यसक्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग खासै बढ्न नसक्नु । हुन त सरकारले जिल्लाका कृषि ज्ञान केन्द्रहरूमार्फत किसानहरूलाई अनुदानमा कृषियन्त्र वितरण गरिरहेको छ । यसबाट परम्परागत कृषि प्रणाली आधुनिकतातर्फ अग्रसर भए पनि कृषि अर्थतन्त्र समृद्ध बन्न सकेको छैन । कृषिमा नयाँ प्रविधि अपनाउन नसक्दा अपेक्षाअनुसार उत्पादन बढ्न सकेको छैन, कृषि उपजमा परनिर्भरता बढ्दो छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको योगदान पनि वर्षेनि घटिरहेको छ । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा जीडीपीमा कृषिक्षेत्रको योगदान २८ दशमलव ८ प्रतिशत थियो । आव २०७४/७५ मा यो घटेर २७ दशमलव ५९ प्रतिशत कायम भयो । आव २०७७/७८ मा त यो २४ दशमलव ९० प्रतिशतमा झरेको छ । आव २०७८/७९ मा जीडीपीमा कृषिक्षेत्रको योगदान २३ दशमलव ९५ प्रतिशत रहेको सरकारी तथ्यांकले देखाएको छ ।
जीडीपीमा कृषिक्षेत्रको योगदान घट्नुको एक कारण कृषिमा प्रविधिको प्रयोग कम हुनु रहेको जानकार बताउँछन् । यसमा राज्य पक्षको कमजोरी रहेको किसानको आरोप छ । देशमा कृषिमा नयाँ प्रविधिको प्रयोग बढाउन राज्यले चासो नदिएको उनीहरूको आरोप छ ।
‘नेपालमा कृषिक्षेत्रलाई बेवास्ता गर्ने गरिएको छ । कृषिक्षेत्रमा संलग्न हुनेलाई प्रोत्साहन गरिएको देखिँदैन,’ कैलालीका किसान नेता लोकेन्द्र जैसी भन्छन्, ‘कृषिमा नयाँनयाँ प्रविधि भित्त्याएर यस क्षेत्रमा आकर्षण बढाउन सकिन्छ ।’ कृषिमा एआईको प्रयोगले कृषिजन्य वस्तुको आयात घटाएर निर्यात बढाउन सकिन्छ । जानकारहरू भन्छन्– एआईको प्रयोगले खर्च घट्दा उत्पादन लागतसमेत घट्छ, जसबाट कम लगानी गरेर धेरै आम्दानी गर्न सकिन्छ । तर, सरकारले यसप्रति खासै चासो देखाएको छैन । छिमेकी देश एआई चरणमा पुगिसक्दा नेपालमा शुरुआत नहुनुले सरकारको उदासीनता देखाउँछ ।
सरकारी अधिकारी भने नेपालमा एआई प्रयोगमा नीतिगतरूपमा काम हुन आवश्यक रहेको बताउँछन् । सरकारी नीति बने देशमा कृषिमा एआईको प्रयोग गर्न सकिने ती अधिकारीको भनाइ छ । कृषि मन्त्रालयका सहायक प्रवक्ता बोहरा नेपालले भारतजस्तै कृषिमा एआई प्रयोग गर्न सक्ने बताउँछन् । ‘भारतले साना किसानलाई लक्षित गरेर काम गरिरहेको छ । त्यो हामीले पनि गर्न सक्छौं,’ उनी भन्छन् ।
एआईले कसरी मद्दत पुयाउँछ कृषिमा ?
कृषिमा एआईको प्रयोगले उत्पादन बढ्ने र उत्पादन लागत घट्ने जानकार बताउँछन् । जानकारहरूका अनुसार एआई टुलको माध्यमबाट कृषिबाली र पशुमा लाग्ने रोग–कीराको निगरानी र नियन्त्रण गर्न सकिन्छ । यस्तै, कृषिबालीमा कुन विषादी, कति मात्रामा र कहिले हाल्ने आदि कुराको जानकारी पनि एआईबाट पाइन्छ ।
नेपालमा न्यूजिल्याण्डजस्तो नभई साना किसानलाई लक्षित गरी एआई टुल विकास गरिनुपर्ने कृषि मन्त्रालयका सहप्रवक्ता बोहोरा बताउँछन् । नेपालमा ९० प्रतिशत साना किसान रहेकाले उनीहरूलाई लक्षित गरी एआई टुल विकास गरिनुपर्ने उनको भनाइ छ । एआई टुल विकासका लागि किसानको प्रत्येक घरधुरीको तथ्यांक र सूचना आवश्यक पर्ने उनी बताउँछन् । ‘जुन कुराको एआई टुल बनाउने हो, त्यसबारे प्रत्येक घरधुरीको सूचना आवश्यक पर्छ, जस्तै : माटोको एआई टुल बनाउने हो भने किसानको प्रत्येक घरधुरीको यकिन तथ्यांक संकलन हुनुपर्यो,’ उनी भन्छन्, ‘त्यसको आधारमा एआई टुल बनायौं भने त्यसले मिसलिड गर्दैन ।’
एआईका रूपमा कृषि रोबोट र ड्रोन पनि प्रयोग गर्न सकिने जानकार बताउँछन् । कृषिउपजको जाँच गर्न र बालीको हेरचाह गर्न कृषि रोबोटहरू प्रयोग गर्न सकिन्छ । यी रोबोटहरूले खेतमा घुमेर किसानहरूलाई उपाय सुझाउँछन् । बाली निगरानीका लागि ड्रोनको समेत प्रयोग गर्न सकिन्छ ।
कृषि मन्त्रालयका सहप्रवक्ता बोहोरा नेपालमा तराईभन्दा पहाड र उच्च पहाडमा ड्रोन प्रयोग आवश्यक रहेको बताउँछन् । ‘पहाड र उच्च पहाडमा ठूलठूलो स्याउ बगैंचा छन् । त्यसको अनुगमनका लागि ड्रोन प्रयोग गर्न सकिन्छ । उच्च पहाडमा चौंरीपालन गर्दा विभिन्न जटिलता आउँछन् । त्यसमा पनि ड्रोन प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘जति उच्च पहाडमा ड्रोन आवश्यक छ त्यति तराईमा ड्रोन आवश्यक पर्दैन । तराईको ल्याण्ड होल्डिङ ड्रोन नै लगाउनुपर्ने खालको छैन । तैपनि गर्न नसकिने भन्ने होइन । क्लस्टरमा गर्न सकिन्छ केही कुराको लागि ।’
उनी ठूलठूलो उद्योगमा पनि रोबोट प्रयोग गर्न सकिने बताउँछन् । ३०० देखि १००० ओटासम्म गाई पाल्ने फर्म, च्याउखेतीको ठूलो फर्ममा पनि रोबोट प्रयोग गर्न सकिने उनको भनाइ छ । तर, नेपालमा त्यस्तो खालको रोबोटको प्रयोग एकदम कम हुने उनी बताउँछन् ।
उनी नेपालमा माटोको एआई टुल विकास गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । ‘कृषिमा मनलाग्दी किसिमले विषादी प्रयोग भइरहेको छ, जसका कारण माटोको उर्वरा शक्ति ह्रास हुँदै गएको छ । त्यसकारण माटोको विश्लेषण गरेर एआई टुल विकास गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसबाट कुन माटोमा कुन बाली लगाउने, कुन विषादी कति प्रयोग गर्ने निक्र्याैल गर्न सकिन्छ ।’
अबको सरकारको बाटो
पछिल्लो समय नेपालमा ठूला कर्पाेरेट हाउसले पनि कृषिमा लगानी बढाएका छन् । गोल्यान ग्रुप, वैद्य अर्गनाइजेशन, ज्योति ग्रुपलगायतले यस क्षेत्रमा लगानी गरेका हुन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाको पनि कृषिमा आकर्षण देखिएको छ । उनीहरूको आकर्षण कायम राखिराख्न पनि सरकारले कृषिमा एआई प्रयोगको शुरुआत गर्नुपर्ने जानकार बताउँछन् । कृषिमा एआईको चरण शुरू भएकाले नेपालले पनि त्यही अनुरूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानको माग छ ।
कृषि मन्त्रालयका सहप्रवक्ता बोहोरा सरकारले यो आर्थिक वर्षदेखि घोषणा गरेको लगानी दशकमा एआईसम्बन्धी गतिविधि सञ्चालन गर्ने गरी कार्यक्रम ल्याइनुपर्ने बताउँछन् । ‘मुख्यतया माटो, मलको प्रयोग, पहाड र उच्च पहाडमा चौंरीपालन, भेडापालन र फलफूल किसानका लागि ड्रोनलगायतका एआई गतिविधि सञ्चालन गरिनुपर्छ । यसका लागि निजी क्षेत्रको सहकार्यमा सबैको अपनत्व हुनेगरी कार्यक्रम गर्नुपर्छ,’ उनको सुझाव छ ।