वीरगञ्ज । अत्याधिक विद्युत् कटौतीका कारण बारा-पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूको उत्पादन अस्तव्यवस्त भएको उद्योगीहरूले बताएका छन् ।
कोरिडोरमा प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमै विद्युत् कटौतीको बढी समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पछिल्लो समय कोरिडोरमा गरिएको अघोषित लोडसेडिङले उत्पादनको मुख्य सिजनमै हात बाँधेर बस्ने अवस्था आएको बताए ।
कोरिडोरका फलाम उद्योगहरू र ठूला उत्पादकले ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका छन् । निर्माण सामग्रीको विक्री हुने मुख्य सिजनमै विद्युत् नभएर उत्पादन गर्न नसकिएको एक उद्योगीले बताए । बारा-पर्सालाई निर्माण सामग्री उत्पादनको हब भनिए पनि विद्युत् अभावले उत्पादन समस्याग्रस्त भएको उद्योगीले बताएका छन् ।
परवानीपुर-रक्सौल प्रसारण लाइनबाट १५० मेगावाट विद्युत् आयात भइरहेको र यसबाट उद्योगमा आपूर्ति दिइएको प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुवेले बताए । ६६ केभीबाट आपूर्ति लिएका औद्योगिक ग्राहकहरूलाई बढी समस्या भएको प्राधिकरणका अधिकारीहरूले बताएका छन् ।
भारतबाट विद्युत आयात कटौती भएदेखि नै कोरिडोरका उद्योगमा अघोषित लोडसेडिङ हुन थालेको हो । अहिले साँझ ५ बजेदेखि ११ बजेसम्म लाइन काट्ने गरिएको प्राधिकरणले बताएको छ । भारतले यो समयमा विद्युत आपूर्ति नगरेकाले उद्योगमा लाइन काटेर घरायसी ग्राहकलाई आपूर्ति दिने गरिएको छ ।
विद्युत कटौती बढेपछि सिमेन्ट, डण्डी, पाइप, पेन्टजस्ता उद्योग प्रभावित भएका छन् । यी उद्योगले विद्युत बढी खपत गर्छन् । बजारमा माग सिर्जना हुने समयमै विद्युत कटौतीले उत्पादन गर्न नपाएपछि उद्योगी चिन्तित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।
६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा अहिले १२ घण्टा पनि लाइन नरहेको एक उद्योगीले बताए । ती उद्योगीका अनुसार लाइन दिइएको भनिएको समयमा पनि पटकपक लाइन कट्ने समस्याले हैरान बनाएको नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका उद्योग समिति अध्यक्ष दीपेश अग्रवालले बताए । यता ११ र ३३ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा पनि कटौती भइरहेको छ।
गत चैत ३ देखि भारतबाट आयात हुने विद्युतको समय कटौती भएको थियो । त्यसअघि दैनिक २० घन्टा आयात हुनेमा अहिले १२ घन्टामात्रै भएको प्राधिकरणका अधिकारीहरूले बताएका छन् । प्राधिकरणले केही दिनअघि हावाहुरीका कारण प्रसारण पूर्वाधारमा क्षति पुगेकाले आपूर्तिमा समस्या आएको बताएको थियो ।
अहिले सुख्खाका कारण विद्युत्को आन्तरिक उत्पादन घटेको र भारतबाट आयात पनि कम भएकाले आपूर्तिमा समस्या देखिएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।