हेटौँडा । चालू आर्थिक वर्षमा वागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेको छैन । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको हो ।
प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर रहेकोमा दुवै शीर्षकबाट आव ०८१/८२ मा रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने अनुमान गरिएको थियो। तर ९ महिनामा रु १६ अर्ब ७४ करोड २० लाख ८६ हजारमात्र राजस्व सङ्कलन भएको छ ।
वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव ०८१/८२ मा घरजग्गा रजिस्ट्रेसनबाट रु ७ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ९ महिनामा रु ३ अर्ब ३९ करोड ७१ लाख ७० हजारमात्र सङ्कलन भएको छ ।
त्यसैगरी, सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव ०८१/८२ मा रु ७ अर्ब ५० करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण भएकामा ९ महिनामा रु ४ अर्ब ९३ करोड ५४ लाख ८९ हजारमात्र सङ्कलन भएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट)बापत रु ८ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा रु ५ अर्ब ६४ करोड ८१ लाख सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु ३ अर्ब ६९ करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएकामा रु १ अर्ब ९२ करोड ४१ लाख २१ हजारमात्र असुली भएको छ । रासस