सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेपछि पुस महीनामा यसको आयात ह्वात्तै बढेको छ । सुन सस्तिएका कारण माग केही बढेको भए पनि मूलत: यसले अवैध आयातलाई रोकेको छ र वैध बाटोबाट सुन आयात हुन थालेको छ । यसरी सुन आयात बढ्दा सरकारले पाउने राजस्व पनि बढेको छ । यसबाट भन्सार दर र वैध आयातको सम्बन्धलाई देखाएको छ ।
भन्सार दर र तस्करीका बीच सम्बन्ध छ । खासगरी खुला सिमाना भएको मुलुकमा भन्सार दर उच्च भयो भने तस्करीको सम्भावना उच्च हुन्छ । भारत र नेपालबीच खुला सिमाना छ र मुलुकको धेरै भाग यस्तो खुला सिमानासँग जोडिएको छ । यस्तो खुला सिमानाका कारण अवैध रूपमा सामान ओसारपसार हुने गर्छ । नेपालमा अनौपचारिक अर्थतन्त्र मौलाउनुको कारणमध्ये एउटा प्रमुख कारण यो पनि हो । नेपालको ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक छ भन्ने अनुमान गरिएको छ । त्यसो हुँदा यसलाई औपचारिक प्रणालीमा ल्याउन भन्सार दरमा विशेष ध्यान जानु आवश्यक छ ।
नेपालमा भन्दा भारतमा सुनको भन्सार दर उच्च हुँदा तेस्रो मुलुकबाट सुन तस्करी भएर आउने र त्यो सुन भारततर्फ जाने गरेको थियो । त्यति बेला सीमाक्षेत्रमा राष्ट्र बैंकले भारतीय मुद्राको तोकेको विनिमयदरभन्दा सस्तोमा कारोबार भएको थियो । त्यसो हुनुको कारण सुन तस्कारी मानिएको थियो । तर, नेपाल सरकारले मङ्सिर महीनामा भन्सार दर घटाएपछि सुनको वैध आयात बढेको छ । त्यसपछि सिमाना क्षेत्रमा भारूको कारोबार राष्ट्र बैंकले तोकेअनुसार भइरहेको समाचार आएको छ । यसले भन्सार दर र तस्करीबीचको सम्बन्धलाई देखाउँछ । भन्सार दर घटाउँदा सरकारलाई घाटा नहुने रहेछ भन्ने यसले पनि देखाएको छ । वैध बाटोबाट सुन आउँदा भन्सार राजस्व पनि सरकारलाई बढी उठ्छ । त्यसैले वैध आयातलाई प्रोत्साहन गर्न भारत र नेपालबीचको करको दरमा सामाञ्जस्य हुन जरुरी छ ।
सीमाक्षेत्रका व्यवसायीले भारतको जीएसटीअनुसार केही वस्तुको भन्सार र मूल्यअभिवृद्धि दर समायोजन गर्न बारम्बार सरकारलाई आग्रह गरेका छन् । भन्सार दरको अन्तरका कारण नेपालमा सामान महँगो भएपछि पारि भारत गए किनमेल गर्नेको भीड नै लाग्ने गरेको छ । सरकारले यसलाई रोक्न झोलामा ल्याएका वस्तुमा पनि न्यूनतम भन्सार दर लगायो तर त्यो सफल हुन सकेन । साइकलमा राति सामान ओसारपसार गर्नेहरूले उताको सामान यता ल्याउने र त्यो सामान देशका मुख्य शहरहरूमा पुग्ने गरेको व्यवसायीको भनाइ छ । यसले गर्दा भन्सार तिरेर सामान आयात गर्नेहरू मर्कामा पर्ने गरेका छन् । त्यसलाई रोक्न भारतको जीएसटी हेरेर कर लगाउनुपर्ने र नेपालमा भारतमा जस्तै बहुदरको मूल्यअभिवृद्धि कर लगाउनुपर्ने नेपाली व्यवसायीको माग छ ।
सुनमा भन्सार घटाउँदा वैध आयात बढेको देखिएको र त्यसबाट सुन व्यवसाय औपचारिक प्रणालीमा आउने हुँदा सरकारलाई फाइदा भएको छ । सुन व्यवसायीको भनाइमा सुनको मागअनुसार अझै पूरा सुन आयात हुन सकेको छैन । नेपालमा वाणिज्य बैंकहरूलाई मात्र सुन आयातको अधिकार छ । उनीहरूले अहिले दैनिक २० किलो सुन आयात गर्न पाउँछन् । उनीहरूले आयात गरेको सुन व्यवसायीको संगठनको सिफारिशमा सुन विक्री हुने प्रणाली अहिले छ । तर, सुनको भाउ घटेपछि बजारमा सुनको माग बढेको र मागअनुसार आपूर्ति नभएको व्यवसायीको भनाइ छ ।
यसरी सुन आयात बढी हुँदा अनुत्पादक क्षेत्रमा लगानी बढ्छ । अहिले बैंकले निक्षेपमा दिने ब्याजदर निकै कम हुँदा मानिशहरू लगानीका लागि वैकल्पिक क्षेत्र खोज्ने गर्छन् । नेपालमा त्यस्तो लगानीको क्षेत्र नहुँदा सुनमा लगानी गर्ने प्रचलन छ । यद्यपि नेपालमा कच्चा सुनको विक्री वितरण गैरकानूनी छ । त्यसैले सुन खाता जस्तो बैंकिङ प्रडक्ट ल्याउन आवश्यक छ भने अर्कातिर कमोडिटी एक्सचेन्जको स्थापना गरेर सुनमा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ । मुद्रास्फीतिसँग आफ्नो बचत रकमलाई सन्तुलन राख्न पनि सुनमा लगानी गरिने भएकाले त्यस्तो अवसर नेपालीलाई उपलब्ध गराउनु उपयुक्त हुन्छ ।