काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई निर्दोष ठहर गरेको अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।
गत पुस १३ गते जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई उक्त मुद्दामा दोषी ठहर गरेको थियो । साेही महीनाको २५ गते अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको थियो ।
त्यसपछि उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
२०७९ भदौ ५ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध भदौ २१ गते जाहेरी परेको थियो ।