नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष पुगेको अवसरमा चीनले सन् २०२५ मा ‘भिजिट नेपाल–२०२५’ मनाउने भएको छ । नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले नेपाल भ्रमणका बेलामा उक्त जानकारी दिएको समाचार सार्वजनिक भएको छ । नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम मनाउने निर्णय गरिएको उपविदेशमन्त्री वेइतोङको भनाइ छ । यसले नेपालको पर्यटन क्षेत्रमा एउटा आशाको सञ्चार त गराएको छ तर कतै चीनसँग बीआरआई परियोजनाका लागि भएको सम्झौता जस्तै गफ र विवादमै सीमित हुने हो कि भन्ने पनि देखाएको छ । उनको भ्रमणपछि नेपालमा सरकार परिवर्तन भएको छ । त्यसो हुँदा यो कार्यक्रम हराउने सम्भावना बढी देखिएको छ ।
हुन त यो नयाँ कुरा होइन । खासमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा नै यस विषयमा समझदारी भएको थियो । भ्रमणपछि दुई देशले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा चीनले आफ्ना पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने र दुवै देशले सन् २०२५ मा चीनमा नेपाल भ्रमण वर्ष मनाएर चिनियाँ पर्यटकलाई नेपालको भ्रमण गर्न प्रेरित गर्न सांस्कृतिक र पर्यटकीय आदानप्रदानसम्बन्धी गतिविधि आयोजना गरिने भनिएको थियो । त्यस्तै दुवै देशले आफ्ना देशका वायुसेवा प्रदायकहरूलाई थप उडान भर्न र पोखरासहितका नयाँ गन्तव्यहरूमा सेवा दिन सहयोग र प्रेरित गर्नेसमेत भनिएको थियो ।
सरकार फेरिए पनि स्थायी सरकार मानिने कर्मचारीतन्त्रले कार्यक्रमबारे मन्त्रीलाई अवगत गराउने र सहमत गराउने गर्नुपर्ने हो तर त्यसो नभएको हो कि भन्ने देखिन्छ ।
त्यतिबेला नै यस विषयमा कुरा भए पनि नेपालले केही पनि तयारी गरेको छैन । सरकारले नेपाल भ्रमण वर्ष २०२५ मनाउने भनी त्यतिबेला कार्यक्रम ल्याए पनि पछि त्यो कार्यक्रम नै सरकारले बिर्सियो । अहिले त सरकार नै परिवर्तन भएको छ । नयाँ सरकारको प्राथमिकतामा यो विषय पर्छ कि पर्दैन भन्ने थाहा छैन किनकि सरकार वा मन्त्री फेरिनासाथ यस्ता कार्यक्रम सबै फेरिने गरेका छन् । तर, चीनसँग एक चरणको वार्ता नै भइसकेको र चीनले यसमा सहमति जनाएकाले यो कार्यक्रम रोकिनु हुँदैन । अन्य देशमा नेपालमा जस्तो कुनै कार्यक्रम तय गरेपछि विशेष कारण र परिस्थितिबाहेक अन्य अवस्थामा त्यसमा कुनै पनि परिवर्तन हुँदैन । अहिले नेपालले बिर्सिएको भ्रमण वर्ष २०२५ लाई चीनले सम्झाइदिएको छ । त्यसैले यसका लागि जो सरकार आए पनि तयारी थाल्नुपर्छ । नयाँ पर्यटनमन्त्रीको ध्यान यसमा जानु आवश्यक छ । चीनले जे गर्छ गर्छ भनेर बसियो भने ठूलो अवसर नेपालले गुमाउन सक्छ । अवसरमात्र होइन, विश्वाससमेत गुमाउन सक्छ ।
हालै सार्वजनिक भएको एक आँकडाअनुसार चीनको स्वशासित क्षेत्र तिब्बतमा १ वर्ष ५ करोड पर्यटक आएका छन् । त्यहाँ आउने धेरैजसो पर्यटक हिमाली बौद्ध संस्कृतिप्रति आकर्षित भएका पाइन्छन् । नेपालमा पनि हिमाली बौद्ध संस्कृति छ । नेपाल बुद्धको जन्मस्थलसमेत हो । तर, त्यहाँ आएका पर्यटकलाई नेपाल ल्याउने गरी सरकार र निजीक्षेत्रले काम गरेको देखिँदैन । तिब्बतबाट काठमाडौं सीधा हवाई सम्पर्क छ । अझ विगतमा त तिब्बत काठमाडौं बस यातायातसमेत सञ्चालन भएको थियो । तर, अहिले चीनसँग यो सम्बन्ध काटिएको अवस्था छ । नेपाल आएका पर्यटकहरू तिब्बत जाने र तिब्बतबाट नेपाल आउने प्रचलन पनि थियो तर त्यतिबेला अहिले जस्तो चिनियाँ पर्यटक भने नेपालमा ठूलो संख्यामा आउँदैनथे । तिब्बतको मुख्य आम्दानी नै अहिले पर्यटन हुन थालेको छ । नेपालले त्यहाँ आएकामध्ये २/३ प्रतिशत पर्यटक नेपाल ल्याउन सक्यो भने २० लाख पर्यटक सामान्य बन्न सक्छ । तर, त्यसका लागि गर्नुपर्ने काम भने प्रशस्त छन् ।
नेपालमा भारतीय पछि दोस्रो बढी पर्यटक चिनियाँहरू रहेका छन् । यद्यपि कोरोनाकालपछि भने चिनियाँ पर्यटकको यो संख्या छैन । नेपालले ५ लाख चिनियाँ पर्यटक ल्याउने लक्ष्य लिएको पनि हो । तर, त्यो लक्ष्यअनुसार काम भएको छैन । सरकार फेरिए पनि स्थायी सरकार मानिने कर्मचारीतन्त्रले यस्ता कार्यक्रमबारे मन्त्रीलाई अवगत गराउने र सहमत गराउने गर्नुपर्ने हो तर त्यसो नभएको हो कि भन्ने देखिन्छ । अब निजीक्षेत्र र सरकार मिलेर चीनसँग राम्रोसँग वार्तागरी यस कार्यक्रमलाई सफल बनाउन आवश्यक छ । १६ लाख पर्यटक भित्त्याउने भनी आगामी आर्थिक वर्षको बजेटले लक्ष्य लिएको छ । त्यसका लागि पर्यटनको चिनियाँ बजारमा आँखा लगाउनैपर्छ, त्यसलाई उच्च प्राथमिकता दिनैपर्छ ।
चिनियाँ पर्यटक ल्याउन पहिलो त हामीले पर्यटन प्याकेज बनाउन आवश्यक छ । त्यो प्याकेजको प्रचार गर्नुपर्छ । चीनमा सरकारले नै आफ्ना नागरिकलाई नेपाल जाऊ भनेर भनिदियो भने यो संख्या निकै बढ्छ । तैपनि प्रवर्द्धनात्मक कार्यक्रम व्यापक रूपमा गरिनु आवश्यक छ । यसका लागि चीनमा रहेको नेपाली दूतावासलाई अत्यधिक परिचालन गर्नु आवश्यक छ । दूतवासले पर्चापम्लेट बाँड्ने बाहेक अन्य काम गर्न सकेको देखिँदैन । बजेट अभावले चाहेर पनि काम गर्न नसकिएको भन्ने दूतावासको भनाइ पाइन्छ । त्यसैले सरकारले त्यहाँको दूतावासलाई पर्यटन प्रवर्द्धन शीर्षकमा नै बजेट दिनु आवश्यक हुन्छ । अर्को, नेपाल पर्यटन बोर्डले पनि प्रवर्धनात्मक कार्यक्रम गर्न आवश्यक छ । अहिले हानले चीनमा प्रवर्धनात्मक कार्यक्रम गर्यो । निजीक्षेत्रले आफ्नो पहलमा यस्तो कार्यक्रम गरे पनि त्यो सानो भएकाले अलि फरक तरिकाले प्रचार गर्न आवश्यक छ ।
यदि २०२५ मा चीनमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्ने हो भने अहिले राजमार्गहरूमा जेजस्ता समस्या छन् तिनको समाधान भइसक्नुपर्छ । पोखरा, लुम्बिनी, सौराहा आदि क्षेत्रमा पुग्ने सबै राजमार्गको अवस्था निकै खराब छ । यसमा सुधार गर्न पनि उत्तिकै आवश्यक छ । हामीले आफ्नो आन्तरिक तयारी पर्याप्त गर्न सकेनौं भने चीनले जति नै सकारात्मक सन्देश दिए पनि पर्यटक ल्याउन सकिँदैन ।
ऋण तिर्नकै लागि चीनबाट सीधै पोखरा उडान थाल्नु जरूरी छ भन्ने सन्देश चीनलाई दिनुपर्छ । सकेसम्म नेवानिलाई नै यहाँबाट चीनका केही प्रमुख शहरहरूमा उडानका लागि अनुमति दिलाउन सकियो भने ठूलै उपलब्धि हुने देखिन्छ ।
दोस्रो काम भनेको चीनका धेरै शहरहरूमा हवाई सम्पर्क सञ्जाल स्थापित गर्नु हो । अहिले हिमालय एअरलाइन्सले बेइजिङ काठमाडौं उडान शुरू गरेको छ तर नेपाल वायुसेवा निगमले सेवा नदिई यहाँको हवाई भाडा घट््दैन । त्यसैले सरकारले पर्यटक ल्याउन नेपाल वायुसेवालाई बेइजिङ, क्वान्चाउ, सांघाइ, चोङचाङलगायत मुख्य स्थानमा उडान गर्ने वातावरण बनाइदिनुपर्छ । त्यस्तै ल्हासा र काठमाडौंबीच पनि सोझै उडान शुरू हुन आवश्यक छ । ल्हासा–काठमाडौं बससेवा थप प्रभावकारी बनाउनुपर्नेमा बन्द नै गर्नु राम्रो होइन । ल्हासामा आउने पर्यटक प्राय: तिब्बतीहरूको रहनसहन हेर्न हिमाली बौद्ध संस्कृतिबारे जान्नका लागि आउँछन् । नेपाल पनि हिमाली बौद्ध संस्कृतिको महत्त्वपूर्ण स्थल भएकाले यस्ता पर्यटकलाई पनि सजिलै नेपालमा तान्न सकिन्छ ।
चीनको ऋणबाट बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलले व्यवसाय पाइरहेको छैन । चिनियाँहरूले सबैभन्दा बढी मन पराएको नेपालको ठाउँ भनेको पोखरा हो । त्यसो हुँदा चीनबाट सीधै पोखरा विमानस्थलमा पर्यटक आउन पाए खर्च जोगिनुका साथै पोखरा सिंगल डेस्टिनेशन बन्न सक्छ । चीनका पर्यटकलाई काठमाडौंसँग खासै लगाव पाइएको छैन । त्यसैले चीनबाट सीधै पोखरा विमानस्थलमा वायुसेवा दिन चिनियाँ कम्पनीलाई आग्रह गर्नुपर्छ । नेवानिले पनि त्यस्तै उडानका लागि पहल गर्नुपर्छ र यसमा सरकारले सहयोग गर्नुपर्छ ।
सन् २०१२ मा लगभग ७२ हजार चिनियाँ पर्यटक नेपाल आएकोमा कोभिड महामारी देखिनुभन्दा अघि सन् २०१९ सम्म उक्त संख्या १ लाख ७० हजार पुगेको थियो । तर, कोरोनापछि २०२० मा ४५४०, २०२१ म २८२९, २०२२ मा १७७४२ र २०२३ मा २६९८० चिनियाँ पर्यटक आएका देखिन्छन् । त्यही भएर पछिल्लो समयमा नेपाल चीनबीचको सीधा उडान संख्या उल्लेख्य रूपमा घटेको छ । नेपालले हवाई भाडामा भ्याट लगाउँदा चिनियाँ विमान कम्पनीहरूले विरोध गरेका छन् । यसले भाडा झनै महँगो बनाउँछ । यसै पनि चीनबाट नेपाल आउने हवाई भाडा महँगो छ । यही कारण नेपाल आउनुभन्दा चिनियाँहरू थाइल्यान्ड, मलेशिया, माल्दिभ्सलगायत मुलुकमा जान रुचाएको देखिन्छ ।
नेपालले चिनियाँ पर्यटक बढाउन भिसा शुल्क मिनाहा गरेको छ । तर, यतिमात्र पर्याप्त छैन । त्यस्तै पोखरामा ड्र्यागन बोट प्रतियोगिता आयोजना गरिएको छ । चिनियाँ पर्यटकलाई लक्षित गरेर पोखरामा केही पूर्वाधारमा लगानी पनि गरिएको छ । तर, पोखरालाई विशेष बनाउन अझै थुप्रै प्रडक्ट थप्न आवश्यक देखिन्छ । चिनियाँ पर्यटकलाई ट्रेकिङमा खासै रुचि छैन भनिन्छ । तर, साहसिक खेलमा भने उनीहरू रुचि राख्छन् । त्यसैले त्यस्तो साहसिक पर्यटक प्रडक्ट बढाउन पनि आवश्यक छ ।
विगतमा १ वर्षमा २ लाखसम्म चिनियाँ पर्यटक आएर तिनलाई सेवा दिइसकेकाले अब त्यसको दोब्बरभन्दा बढी पर्यटक ल्याउन खासै गाह्रो हुन नपर्ने हो । पहिला जस्तो गाइड वा खानेकुराको अहिले समस्या छैन । चिनियाँ भाषा बुझ्ने गाइडहरू पनि छन् । चिनियाँ लगानीका होटेलहरू पनि छन् ।
चीनबाट पोखरा वा भैरहवामा सोझै उडान हुनसक्यो भने त्यसले एउटा नयाँ गन्तव्यको पनि विकास हुन्छ । पुरानै शैलीबाट काठमाडौंको विमानस्थलमा ल्याउने फेरि यहाँबाट पोखरा लैजाने गर्दा समय र पैसा बढी लाग्छ । चिनियाँ पर्यटक सीधै पोखरा आउन पाए र त्यहीँबाट आफ्नो मुलुक जान पाए भने पक्कै पनि चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनेछ ।
नेपाल र चीनबीचको संयुक्त विज्ञप्तिमा चिनियाँ पर्यटकलाई लक्षित गरी दुई देशले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने उल्लेख गरेको भए पनि नेपालले आमरूपमा उक्त वर्षलाई भ्रमण वर्ष मनाउन लागेको हो वा होइन भन्ने स्पष्ट छैन । वास्तवमा सरकार पर्यटन प्रवर्द्धनको कुरामात्रै गर्छ, काम गर्दैन भन्दा पनि हुन्छ । भ्रमण दशकको कुरा आएको थियो । त्यो कुरा सेलायो र २०२५ लाई भ्रमण वर्ष मनाउने कुरा आयो । यो पनि कुनै तयारी भएको देखिँदैन । लहडमा एकथोक भन्दिने र त्यसलाई फलोअप केही पनि नगर्ने प्रवृत्ति छ । नयाँ पर्यटनमन्त्रीले पर्यटन नीतिका बारेमा अध्ययन गर्न समिति बनाएको समाचार आएको छ । नीति भनेको दीर्घकालीन हो । त्यसका लागि लामो समय चाहिन्छ तर अहिले तत्काल परिणाम दिने खालको कार्यक्रम गर्न हतार भइसकेको छ । त्यसमा नयाँ पर्यटनमन्त्रीको ध्यान जानु आवश्यक छ ।
बीआरआईका लागि चीनसँग सम्झौता भयो तर कार्यान्वयनका लागि केही पनि काम भएको छैन । नेपालले अनुदान भए लिने तर ऋणचाहिँ नलिने भनेर स्पष्ट पार्न सकेको छैन । त्यसो हुँदा चीन नेपालसँग सशंकित भएको हो कि भन्ने देखिन्छ । नेपालले आफ्नो कुरा स्पष्ट पार्ने गरी कूटनीतिक अभियान चलाउन आवश्यक देखिन्छ । कूटनीति सही भएन भने अर्थनीतिमा पनि असर पर्छ । अहिले चीनले चासो देखाएको भ्रमण वर्षमा सरकारले चासो देखाएन भने ठूलै अवसर गुम्छ ।
चीन आजका दिनसम्म नेपालको पर्यटनका लागि दोस्रो ठूलो स्रोत बजार हो । अन्तरराष्ट्रिय रूपमा हेर्ने हो भने बाहिर सबैभन्दा ठूलो संख्यामा पर्यटक पठाउने देश चीन हो । सरकारले नै नेपाल भ्रमणको कुरा गरिसकेपछि पक्कै पनि चीनमा त्यो सन्देश बाहिर जान्छ र हाम्रै पर्यटन बोर्ड र अरू सेवाप्रदायकलाई चीनमा मार्केटिङ गर्न सजिलो हुन्छ ।
सन् २००३–०४ तिर चीनले आफ्ना नागरिकहरूले घुम्न जान मिल्ने देशको सूचीमा नेपाललाई राखेपछि बिस्तारै काठमाडौंमा चिनियाँ पर्यटकहरू आउन थालेका हुन् । तर, चीनसँग पहुँचको ज्यादै ठूलो समस्या छ । दुईओटा विमानस्थल बने तर सफलतापूर्वक सञ्चालन हुन सकेका छैनन् । यो पालिको भ्रमणमा पनि केही छलफलहरू भए पनि ठोस रूपमा यसरी सञ्चालन हुन्छ भन्ने कुरा आएको छैन । बढी खर्च गर्ने खालका पर्यटकलाई आकर्षित गर्न नयाँ गन्तव्यहरूको पहिचान, गन्तव्यसम्म पुग्ने पूर्वाधारहरूको स्तरोन्नति र महत्त्वपूर्ण चिनियाँ बजारहरूमा प्रवर्द्धनात्मक गतिविधिहरूलाई बढाउनुपर्छ । चीनले बनाइदिएको भनेर भारतले पोखरा विमानस्थलबाट भारतमा हवाई सेवाका लागि स्वीकृति दिएको छैन । यो अवस्था चीनलाई राम्ररी बुझाएर यसको ऋण तिर्नकै लागि चीनबाट सीधै पोखरा उडान थाल्नु जरुरी छ भन्ने सन्देश चीनलाई दिनुपर्छ । सकेसम्म नेवानिलाई नै यहाँबाट चीनका केही प्रमुख शहरहरूमा उडानका लागि अनुमति दिलाउन सकियो भने ठूलै उपलब्धि हुने देखिन्छ ।
त्यसैले यो भ्रमण वर्षको कुरा के हो सरकारले स्पष्ट पार्नुपर्छ, व्यवसायीलाई त्यसमा समावेश गर्नुपर्छ र चीनको सदाशयतालाई अवसरमा परिणत गर्न चुक्नु हुँदैन ।
लेखक पर्यटन व्यवसायी हुन् ।