विराटनगर। सुनसरी मोरङ औद्योगिक कोरिडोर क्षेत्रको प्रमुख उद्योग हिमगिरी हाइजिन प्रालिले उत्पादन बढाउन थप एक अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । आफ्नो उत्पादनको प्रवर्द्धन र प्रचारका लागि महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)लाई शनिवार ब्रान्ड एम्बासडर नियुक्त गर्ने कार्यक्रममा उद्योगले यस्तो घोषणा गरेको हो ।
उत्पादनको विविधीकरणका लागि लगानी बढाउन लागिएको उद्योगका प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले बताए । ‘कम्पनीले स्याम्पू, ब्यूटीशोप, डिटर्जेन्ट पाउडर लगायत सामग्री उत्पादन गर्न उक्त परिमाणमा लगानी गर्ने तयारी गरेको हो,’ उनले भने ।
खुला सीमानाको कारण बजारको जोखिम रहे पनि नेपाली उत्पादन गुणस्तरीय भएकाले भारतीय बजारमा समेत हिमगिरीका उत्पादनको बजार राम्रो रहेको जानकारी उनले दिए ।
कम्पनीले उत्पादित वस्तुको प्रवर्द्धन र प्रचारका लागि महजोडीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतामा महजोडी र हिमगिरी हाइजिनका अध्यक्ष महेश जाजुले हस्ताक्षर गरेका छन् । यस अवसरमा हिमगिरी उत्सव पनि मनाइएको छ । उत्सव दुई दिनसम्म चल्नेछ । अध्यक्ष जाजुले महजोडीले राम्रो कम्पनीहरूको मात्र प्रचार गर्ने गरेकाले हिमगिरीलाई विश्वास गरेर जोडिएकोमा खुशी व्यक्त गरे । उनले हिमगिरीका ‘धोनी’ र ‘एक्स्ट्रा’ नामक लुगा धुने साबुनले नेपाली बजारमा ५० प्रतिशत हिस्सा ओगटेको दाबी गरे । हिमगिरी जस्ता कम्पनीको कारण लुगाधुने साबुन र डिटर्जेन्ट पाउडरमा नेपाल आत्मनिर्भर हुँदै गएको उनले बताए ।
कलाकार श्रेष्ठले कलाकारले अब नेपाली उद्योग व्यवसायको प्रवर्द्धन गर्न थालेको बताए । स्वदेशी उत्पादनको प्रचार गर्नु कलाकारको कर्तव्य भएको र आफूहरूले गुणस्तरीय वस्तुको मात्र प्रचार गर्ने उनको भनाइ छ । कलाकार आचार्यले नेपालमा उत्पादनमूलक एवं रोजगारी दिने उद्योगको संख्या बढ्नुपर्ने बताए ।
हिमगिरी हाइजिनले चार सयभन्दा बढी वितरकमार्फत ‘धोनी’ र ‘एक्स्ट्रा’ ब्रान्डको साबुन नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । कम्पनीले कोभिड–१९ को समयमा सेनिटाइजर, मास्क लगायत समेत उत्पादन गरेको थियो ।