काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आगामी चैत ११ गते १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
बैंकले यस वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको छ । पछिल्लो आर्थिक वर्ष ०७७/७८ मा ८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यसपछिका तीन आर्थिक वर्षमा लाभांश वितरण गरेको छैन ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
संस्थापक शेयरधनीको तर्फबाट रिक्त सञ्चालक पदमा गरिएको नियुक्ति अनुमोदनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २९ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।