नेपालमा प्रमुख खाद्यान्नमध्ये धान पछि मकैलाई मानिन्छ । परम्परागत खानामा रहने गरेको विविधताको बानी छोडी धानको भातमा बढी निर्भर हुँदा र धानको उत्पादन पनि मागअनुसार बढ्न नसक्दा धान तथा चामल माथिको परनिर्भरता बढ्न गएको छ । त्यसै गरी मागको तुलनामा मकैको उत्पादन पनि बढ्न नसकेको कारणले हुन सक्छ यसको उच्च आयात निरन्तर रूपमा भइरहेको र परनिर्भरता कायमै रहेको छ । खाद्यान्नको साथै पशु आहारका रूपमा पनि यसको उल्लेख्य मात्रामा प्रयोग हुने गरेकाले मकैको आयातमा प्रभाव पारिरहेको हुनसक्छ । एक तथ्यांकअनुसार नेपालमा कुल उत्पादित मकैको ३० प्रतिशत अंश दानामा खपत हुँदै आएको छ । आयातित मकैको हकमा पनि यही अनुपात लागु हुने देखिन्छ । आयात घटेको अवस्था देखिँदा उत्पादनमा वृद्धि भएका कारणले नभई दाना खाने गरेका पशुको संख्या घटेको संकेत पनि हुन सक्छ किनभने नेपालमा खेतीयोग्य जमीन दिन परदिन बाँझो जमीनमा परिणत भइरहेको विभिन्न तथ्यांकले देखाउने गरेका छन् । जेजस्तो भए तापनि कृषि प्रधान देशमा प्रमुखमध्येको एक खाद्यान्नको परनिर्भरता बढ्नु पक्कै राम्रो होइन ।
यस लेखमा देशको दोस्रो प्रमुख खाद्यान्नको रूपमा रहिआएको मकैको विगत केही वर्ष देखिको आयात प्रवृत्ति, गतवर्ष कुन कुन देशबाट के कति, कस्तो रूप वा प्रकारमा आयात भएको रहेछ, तथ्यांकीय विश्लेषण प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसमा भन्सार विभागको वैदेशिक व्यापार तथ्यांकलाई आधार मानिएको छ ।
यस लेखको प्रयोजनका लागि नेपालमा आयात हुँदै आएको मकै वा यससँग सम्बन्धित खाद्यवस्तुको रूप वा अवस्था यस प्रकार रहेको छ :
मकै (बीउ बाहेकको मकै दाना एचएस कोड १००५१०००), मकै बीउ (दाना एचएस कोड १००५९०००), मकैको पीठो (एचएस कोड ११०२२०००), दलेको मकै (ग्रोट्स), पिठो (मिल), र गुटिका (पेलेट्स) एचएस कोड ११०३१३००), चामलबाहेक अन्य प्रकारले तयार पारिएको भूस हटाएको, पेलिएको थिचेर च्याप्टो पारेको फलेको, टुक्रा पारेको वा खस्रो गरी पिंधेको मकै (एचएस कोड ११०४२३००), मकैको स्टार्च (एचएस कोड ११०८१२००), मकैको प्रशोधित तेल (एचएस कोड १५१५२९००) र निफनेर वा पिँधेर वा अरू कार्यद्वारा निकालिने मकैको गुटिकाका रूपमा रहेको वा नरहेको ढुटो चोकर र अन्य अवशेष (एचएस कोड २३०२१०००) ।
मकैबाट तयार गरिने खाद्यवस्तुका केही रूप जस्तो कि स्वीट कर्न एवम् औद्योगिक प्रशोधनबाट तयार गरिने पप कर्न, कर्नफ्लेक्स आदि यसमा समावेश गरिएको छैन ।
आयात हुने मकैको प्रशोधित वा अप्रशोधित रूप वा अवस्था सबै उपर्युक्त शीर्षकमा समेटिएको छ । यद्यपि आयात मूल्यका हिसाबले हेर्दा बीउ बाहेकको मकै दाना प्रमुख रूपमा आयात भइरहेको छ । यसको तुलनामा अन्य रूपको आयात निकै कम मूल्यको भएको तथ्यांकले देखाउँछ ।
विगत ५ वर्षमा भएको मकैको आयात तथ्यांक हेर्दा आव २०७६/७७ देखि आव २०७८/७९ सम्म निरन्तर रूपमा वृद्धि भएको देखिन्छ । त्यसपछि आयात घट्दो क्रममा रहेको देखिन्छ । आव २०७६/७७ मा रू. १५ अर्ब १६ करोड मूल्यको आयात भएकोमा आव २०८०।८१ मा आइपुग्दा रू. १५ अर्ब ६९ करोड मूल्यको आयात भएको छ । यस ५ वर्षको अवधिमा रू. २० अर्ब ४५ करोड आयात मूल्यको उच्चतम विन्दुमा पुगेर पुन: घट्दै गएको देखिन्छ ।
विगत ५ वर्षमा परिमाणका हिसाबले आव २०७६/७७ देखि आव २०७७/७८ सम्म वृद्धि भएको देखिन्छ । त्यसपछि आयात घट्दो क्रममा रहेको देखिन्छ । आव २०७६/७७ मा ४५७ हजार मेट्रिक टन आयात भएकोमा आ व २०८०।८१ मा आइपुग्दा घटेर ३६८ हजार मे टन आयात भएको देखिन्छ । आयातको उच्च विन्दु आव २०७७/७८ मा ६०५ हजार मे टन आयात भएको थियो ।
मकैका आयातित विविध रूपमध्ये सबैभन्दा बढी आयात हुने बीउबाहेकको मकै दाना हो । आव २०८०/८१ र चालू आवको प्रथम ८ महीनाको तथ्यांक हेर्दा मकै तथा त्यससँग सम्बद्ध वस्तुको कुल आयात मूल्यको करीब ९० प्रतिशत अंश यसले ओगटेको छ । चालू आवमा रू. १२ अर्ब १७ करोडको यसको आयात भइसकेको छ । साथै यस अवधिमा यसको प्रतिकेजी आयात मूल्य रू. ५० रहेको छ ।
मकैको आयात कहाँबाट भइरहेको छ भन्ने सन्दर्भमा वर्षभरिमा देशगत रूपमा आयात हेर्न पछिल्लो आव २०८०/८१ लाई आधार मानिएको छ ।
उक्त आवमा आयात भएको मकैको रूप वा प्रकारमा सबैभन्दा बढी बीउ बाहेकको मकै दाना रू. १३ अर्ब १ करोड ८७ लाख मूल्यको आयात भारतबाट भएको थियो । यो आयात मकैजन्य वस्तुको कुल आयात रू. १५ अर्ब ६९ करोड मूल्यको ८३ दशमलव शून्य प्रतिशत अंश हुन आउँछ । यसैगरी दोस्रो स्थानमा मकैको स्टार्च रू. ५९ करोड १६ लाख मूल्यको आयात पनि भारतबाट भएको थियो । यो आयात मकैजन्य वस्तुको कुल आयातको ३ दशमलव ७७ प्रतिशत अंश हुन आउँछ । तेस्रो स्थानमा अर्जेन्टिनाबाट बीउबाहेकको मकै रू. ५५ करोड ७४ लाख मूल्यको (३ दशमलव ५५ प्रतिशत अंश) आयात भएको थियो । यसपछि अन्य थोरै मात्रामा आयात हुनेमा टर्कीबाट बीउबाहेकको मकै दाना रू. ३४ करोड २८ लाख मूल्यको, ब्राजीलबाट रू. १३ करोड ५ लाखको बीउबाहेकको मकै दाना, अर्जेन्टिनाबाट बीउ मकै रू. १ करोड ५८ लाखको आयात भएको थियो । यसबाहेक केही छिटपुट प्रशोधित प्रकारमा विशेष गरी भारतबाट आयात भएको देखिन्छ ।
लेखक तथ्यांक शास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।