नेपालले भारतमा गर्ने निर्यातमा हुने विभिन्न खालका गैरभन्सार अवरोधमध्ये एक मानिएको प्रयोगशालामा परीक्षणसम्बन्धी समस्या १० ओटा खाद्यसमूहअन्तर्गतका वस्तुका लागि भने अब सहज हुने भएको छ । भारतले ती १० वस्तुका लागि नेपालको नेशनल फुड एन्ड फिड ल्याबोरेटरी (एनएफएफआरएल) मा गरिएको नमूना परीक्षण प्रयोगशालाको परीक्षणलाई मान्यता दिएकाले यस्तो अवस्था आएको हो । यसरी केही वस्तुका लागि भए पनि प्रयोगशालाको समस्या हट्नु निकै सकारात्मक कदम हो । तर, नेपालले औद्योगिक वस्तुका लागि समेत यस्तै अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला बनाउन आवश्यक छ ।
भारतको खाद्यसुरक्षा र मापदण्ड प्राधिकरण (फुड सेफ्टी एन्ड स्ट्यान्डर्डस् अर्थोरिटी अफ इन्डिया–एफएसएसएआई) ले नेपालको उक्त खाद्य प्रयोगशालालाई आपसी मान्यता दिने निर्णय गरेको हो । यसअघि भारतीय प्रयोगशालाबाट प्रमाणित गर्नुपर्ने अवस्था थियो । अहिले पनि अन्य वस्तुको हकमा त्यस्तै अवस्था छ । यस्तो प्रमाणपत्र लिन समय लाग्दा भन्सार नाकामै लामो समयसम्म नेपाली वस्तु अड्किने गरेको छ । यदि भारतले अन्य गैरभन्सार अवरोध खडा गरेन अब १० कृषि वस्तुका हकमा भने यो समस्या हट्ने देखिन्छ । यद्यपि गैरभन्सार अवरोधमा यो मात्र होइन, अन्य विषय पनि छन् ।
फ्याट्स एन्ड आयल, फ्रुट्स एन्ड भेजिटेबल, सिरियल्स् प्रोडक्ट्स (चामल, गहुँ, मकै, कोदो), टी एन्ड कफी, मिल्क एन्ड डेरी प्रोडक्ट्स, हनी एन्ड स्वीटनरर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर, डायटरी सप्लिमेन्ट्सका हकमा यस्तो सहज अवस्था आएपछि अन्य समूहका वस्तुमा भने यो समस्या यथावत् नै छ । नेपालमा अन्तरराष्ट्रिय स्तरको प्रयोगशाला नभएको र भएको प्रयोगशालाले पनि मान्यता नपाएको अवस्थामा अब थप प्रयोगशाला निर्माणमा सरकारको ध्यान जानु आवश्यक छ । भारतमा अहिले अग्र्यानिक तरकारीको माग रहेको र नेपाली हरिया तरकारी त्यहाँ निर्यात गर्न सकिने अवस्था आएको छ । तर, यसका लागि नेपालले अग्र्यानिक तरकारी उत्पादनमा विशेष कार्यक्रम ल्याउन आवश्यक छ र अग्र्यानिक तरकारी भनेर प्रमाणीकरण गर्न आवश्यक छ । तरकारीमा विषादी र हानिकारक कीटाणुरहित भएको प्रमाणित नभई कुनै पनि देशले अर्को देशको उत्पादन आयात गर्न दिँदैनन् । त्यसैले यस्तो प्रयोगशालालाई अझ आधुनिक र विश्वसनीय बनाउँदै लैजानुपर्ने हुन्छ ।
- नेपालबाट चीनतर्फ भैंसीको मासु निर्यातका लागि यही प्रमाणीकरणको समस्या आउन सक्ने देखिन्छ ।
- गैरभन्सार अवरोध हटाउन कूटनीतिक र प्रशासनिक पहल हुनुपर्छ ।
- नेपालले प्रयोगशाला आदि पूर्वाधार निर्माणमा पनि ध्यान दिनु आवश्यक छ ।
औद्योगिक उत्पादनमा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) को मापदण्ड पूरा नगरे भारत निर्यात गर्न पाइँदैन । नेपालको गुणस्तरलाई उसले मान्यता नदिएकाले यस्तो मापदण्ड पूरा गरेको प्रमाणित गर्न भारतको प्रयोगशालामा नमूना पठाउनुपर्ने बाध्यता छ । यसले गर्दा सिमेन्ट, प्लाइउड आदि निर्यातमा भारतमा अवरोध हुने गरेको छ । भारतले प्रमाणपत्र दिन ढिला गर्दा सीमामा सामान रोकिने र यसले गर्दा व्यवसायीको लागत बढ्ने देखिन्छ । यस्मा पनि नेपाली प्रयोगशालाको परीक्षणलाई मान्यता दिने हो भने निर्यात निकै सहज हुन्छ । गैरभन्सार अवरोध नेपालको निर्यात व्यापारको एउटा ठूलो समस्या भएकाले यसको समाधान हुने हो भने निर्यात बढ्न सक्छ र व्यापारघाटा केही कम गर्न सकिन्छ ।
समस्या भारत निर्यातमा मात्रै छैन, उत्तरी छिमेक चीनतर्फ पनि छ । चीनका राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउँदा अम्लीय फलफूल निर्यातका लागि सम्झौता भएको थियो । तर, स्यानिटरी र फाइटो स्यानिटरी परीक्षणसम्बन्धी प्रयोगशाला र प्रमाणीकरण नहुँदा यसको निर्यात गर्न अझै सकिएको छैन । खरीदका लागि चिनियाँ व्यापारीले चासो देखाएको भनिए पनि निर्यात भने भएको छैन । त्यस्तै नेपालको चिया आयात गर्न चिनियाँ व्यापारी उत्सुक भए पनि चिया निर्यात बढाउन सकिएको छैन ।
नेपालले विभिन्न वस्तु निर्यातका लागि पनि प्रयोगशाला परीक्षण नहुँदा वा मान्यता नपाउँदा समस्या भएको छ । गैरभन्सार अवरोध हटाउन कूटनीतिक र प्रशासनिक पहल हुनुपर्छ । नेपालले प्रयोगशाला आदि पूर्वाधार निर्माणमा पनि ध्यान दिनु आवश्यक छ । नेपालबाट भैंसीको मासु निर्यातका लागि ठूलो लगानी गर्ने तयार भइरहेको छ र ठूलो परिमाणमा आयात गर्न चीन राजी भएको छ । तर, यसमा पनि यही प्रमाणीकरणको समस्या आउन सक्ने देखिन्छ । त्यसैले थप अन्तरराष्ट्रिय प्रयोगशाला बनाउन सरकारको सक्रियता आवश्यक देखिन्छ ।