अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोसो कार्यकालमा ‘मेक अमेरिका ग्रेट अगेन’ अघि बढाउँदै जुन देशले आफ्नो देशमाथि जति चर्को भन्सार लगाएका छन् त्यसकै आधारमा आयातमा भन्सार लगाउन रेसिप्रोकल दर लागू गरेका छन् । अमेरिकाको यस्तो भन्सार शुल्कका कारण विश्वभरि नै व्यापार युद्धको खतरा बढेको छ भने सबैजसो देश यसबाट कसरी बच्ने र कसरी प्रतिवाद गर्ने भनेर रणनीति तयार गर्न जुटिरहेका छन् । नेपाल सरकारले भने केही पनि तयारी गरेको देखिँदैन । यस्तो भन्सार दर नेपालललाई १० प्रतिशतमात्र बढाइएकाले ठूलो अन्तर नपर्ने बरु अवसरको ढोका खुल्ने आकलन गरिएको छ । तर, यस्ता अवसरहरू उपयोग गर्न सरकार र व्यवसायी तम्तयार नहुँदा कागलाई बेल पाक्यो हर्ष न विस्मात्को अवस्था देखिएको छ ।
अमेरिकी भन्सार शुल्कका कारण विश्वभरि नै मन्दी आउने विश्लेषण भइरहेको छ । अमेरिका ठूलो बजार भएकाले यसले लिने सानो नीतिले पनि विश्वभर हलचल ल्याउनु स्वाभाविकै हो । अमेरिकाले भन्सार दर बढाएका कारण अर्जेन्टिनाले अमेरिकी वस्तुमाथि शून्य भन्सार दर लगाउने बताएको समाचार आएको छ र अन्य केही मुलुक पनि त्यसतर्फ लाग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै अमेरिकाको यो भन्सार शुल्क बढाउने नीति कति समयसम्म कायम रहन्छ भन्ने पनि निश्चितचाहिँ छैन । अमेरिका व्यापक मन्दीमा फस्न पुग्यो भने यसमाथि पुनर्विचार नहोला भन्न सकिन्न । यद्यपि राष्ट्रपति ट्रम्पले ‘थोरै बेरको पीडा’ सहनुपर्ने बताएका छन् । त्यसैले भन्सार दरमा केही परिवर्तन भए पनि पहिलाकै जस्तो नीतिमा अब अमेरिका हिँड्दैन भन्ने सन्देशचाहिँ स्पष्ट नै बुझिन्छ । अमेरिकाले संरक्षणवादी नीति लिएपछि अन्य राष्ट्रले पनि त्यस्तो नीति लिने तयारी थालेको देखिन्छ तर, नेपालजस्तो सीमित वस्तु निर्यात गर्ने मुलुकका लागि यसले केकस्तो असर पार्छ भन्नेमा व्यापक अनुसन्धान आवश्यक देखिन्छ ।
- ट्रम्पले नेपाललाई थपेको १० प्रतिशत भन्सार चुनौतीभन्दा पनि अवसर बन्न सक्ने देखिन्छ ।
- बंगलादेशलाई उसले ३७ प्रतिशत भन्सार थपेको छ । यो भनेको नेपालका लागि अवसर हो ।
- अमेरिकामा थप चिया निर्यात गर्न सके निर्यात विविधीकरण हुनेछ ।
तत्कालका लागि सरसर्ती हेर्दा ट्रम्पले नेपाललाई थपेको १० प्रतिशत भन्सार चुनौतीभन्दा पनि अवसर बन्न सक्ने देखिन्छ । केही वस्तु भन्सार तिरेर पनि राम्रै निर्यात भइरहेका थिए । उदाहरणका लागि कुकुर बिरालाको खानाका रूपमा निर्यात हुने छुर्पी, गलैँचा लगायतका वस्तुलाई लिन सकिन्छ अमेरिकाले नेपाली गार्मेन्टलाई शून्य भन्सार दरको सुविधा दिए पनि पर्याप्त निर्यात हुन नसकेको अवस्थामा केही वस्तु भन्सार तिरेर पनि राम्रै निर्यात भएको देखिन्छ । अब थपिएको १० प्रतिशत भन्सारले यस्ता वस्तुलाई त्यति धेरै असर नपार्न सक्छ ।
भारत, बंगलादेश, श्रीलंका, भियतनामजस्ता मुलुकलाई नेपाललाई भन्दा निकै बढी भन्सार लगाइएको छ । बंगलादेशलाई उसले ३७ प्रतिशत भन्सार थपेको छ । यो भनेको नेपालका लागि अवसर हो । बंगलादेशमा राजनीतिक परिवर्तनपछि त्यहाँका लगानी गर्दा अन्यत्र लगानीको ठाउँ खोजिरहेको र उनीहरूले नेपालमा पनि सम्भावना देखेको समाचार आएको थियो । अहिलेको भन्सार शुल्क हेर्दा नेपालबाट निर्यात गर्न बढी फाइदा देखिन्छ । तयारी कपडा निर्यातमा बंगलादेश विश्वकै उच्च स्थानमा रहेको छ । त्यस्तै अर्को भियतनामलाई पनि उच्च कर लगाइएको छ । नेपालको चिया निर्यातका लागि पनि यो नीति सहयोगी हुने देखिन्छ । अर्थोडक्स र अन्य चिया निर्यातमा श्रीलंकाको हिस्सा निकै ठूलो छ । श्रीलंकाको वस्तुमा अमेरिकाले थप ४४ प्रतिशत भन्सार लगाएको छ । भन्सारको यो अन्तर नेपालको चिया अमेरिकी बजारमा लैजानका लागि राम्रो अवसर हो । अहिले नेपालको कोशी प्रदेशमा उत्पादन हुने ८८ प्रतिशत अर्थोडक्स चिया भारत निर्यात हुने गरेको हालैको राष्ट्र बैकको एक अध्ययनले देखाएको छ । अमेरिकामा थप चिया निर्यात गर्न सके निर्यात विविधीकरण हुनेछ । त्यस्तै गलैचा, फेल्ट, पश्मिनालगायत विस्तुहरू पनि निर्यात बढाउन सकिन्छ । अमेरिका नेपालको ठूलै व्यापारिक साझेदार हो र उससँग नेपालको व्यापार प्राय: नाफामा जाने गरेको छ । अर्थात् अमेरिका नेपालको ठूलो निर्यात बजार हुन सक्छ ।
यसका लागि सरकारले आवश्यक पूर्वाधारहरू बनाइदिनुपर्छ । लगानीका लागि वातावरण बनाइदिनुपर्छ । गार्मेन्टमा कोही लगानी गर्न आउँछ भने तत्काल सरकारले छूट लगायतका सुविधा दिन हिचकिचाउनु हुँदैन । निर्यातकर्ताहरूलाई सहजीकरण गर्ने काम पनि सरकारले गर्नुपर्छ । अहिले अर्को एउटा अवसर आएको छ । विगतमा नेपालले धेरै अवसर गुमाएको छ तर अहिले अवसर छोप्न सक्यो भने मुलुकको निर्यात बढ्नुका साथै कारखानाहरू प्रशस्त खुल्ने सम्भावना देखिन्छ ।