फागुन २, काठमाडौं (अस) । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको शेयरधनी’ भन्ने मुल नाराका साथ सरकारले ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ शुभारम्भ गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बिहीवार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री केपी ओलीले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनताको लगानीका आयोजनाको पहिलो शेयर मै किन्छु, दोस्रो कसले किन्ने हो ? आफैं निर्णय गर्नुहोस् ।’ सानो पूँजी लगानी गरेर ठूल्ठूला आयोजना बनाउनका लागि सरकारले अभियान शुरु गरेको भन्दै उहाँले एक वर्षको अवधिमा वर्तमान सरकारले इतिहासमा कहिल्यै नभएका काम गरेको र उपलब्धि हासिल गरेको दाबी गर्नुभयो । पहिलो वर्षलाई सरकारले आधार वर्ष मानेको र निकै बलियो आधार तयार भएको उहाँले बताउनुभयो ।
स्वदेशी लगानी परिचालन गरी जलविद्युत आयोजना निर्माण गर्ने उदेश्यले हरेक नागरिकलाई जलविद्युतमा शेयर लगानी गर्ने अवसर सृजना गर्न यो कार्यक्रम ल्याइएको ऊर्जा मन्त्रालयले बताएको छ । कार्यक्रमका लागि १९ ओटा जलविद्युत आयोजना छनोट गरिएको र ति आयोजनामा नागरिकको १ खर्ब रुपैयाँभन्दा बढीको लगानी जुटाउने सरकारको लक्ष्य छ । ति आयोजनाबाट ३ हजार ७ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने सरकारको भनाइ छ ।
यसअघि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले यो कार्यक्रम शुरुवाताको प्रयास गरे पनि नीतिगत रुपमा कार्यान्वयनमा भने आएको थिएन ।