काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख २५ देखि आयोजना हुन लागेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको तयारी पूरा भएको छ ।
आयोजक नेपाल उद्योग वाणिज्य महासंघले मंगलवार टेकुस्थित महासंघको सचिवालयमा कार्यक्रम आयोजना गरी यसबारे जानकारी गराएको हो । २९ गतेसम्म आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान र बङ्गलादेशका स्टलहरू राखिने र थाइल्याण्डको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला हुन लागेको हो ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनहरूको अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गरी मुलुकको अर्थतन्त्र माथि उकास्न सघाउ पुर्याउने बताए ।
१० औं संस्करणको मेलामा स्वदेशी तथा विदेशी गरी कुल २५० भन्दा बढी स्टल राखिने उनले जानकारी दिए । ती स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनले बताए । मेलामा स्वदेशी र विदेशी गरी करीब २० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष हेमराज ढकालले मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने जानकारी दिए । मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरू, वस्तुगत संघहरूका उत्पादनहरूका साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (ईभी) गाडीहरू समेत राखिने उनको भनाइ छ ।
महासंघका केन्द्रीय सदस्य तथा व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने बताए । उनले मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने जानकारी दिए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत मीन बहादुर कुँवरले नेपाली वस्तुको अन्तरराष्ट्रिय बजारीकरणका लागि मेला फलदायी हुने बताए ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, समर्टवाच, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरू रहने आयोजकले जानकारी दिएको छ ।
मेलामा ज्येष्ठ नागरिक तथा फरक रूपले समक्ष नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छूटको व्यवस्था समेत गरिएको छ । साथै विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।