कमोडिटिज फ्युचर्स लगानीको वैकल्पिक अवसर
अभियान संवाददाता
नेपालमा हालसम्म स्थापित सबै कमोडिटिज एक्सचेञ्जले कृषिउपज, धातु तथा ऊर्जाको करारमा कारोबार गर्दै/गराउँदै आएका छन् । अहिले चलनचल्तीमा करारका चार प्रकार प्रमुख छन्- फर्वार्ड, फयुचर्स , अप्शन र स्वाप । कमोडिटिज एक्सचेञ्जमा भने फयुचसमा मात्र कारोबार हुने गरेको छ । नेपालको कमोडिटी बजारमा उपयोग हुने मूल्य अमेरिकी डलर र भारतीय रुपैयाँलाई आधार मानेर तय हुने गर्छ ।
कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चातेललगायतका वस्तुलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । मूल्य घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सृजना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार करारपत्र बनाई गरिन्छ ।
पूँजी भएर पनि लगानी कहाँ गर्ने भन्ने चिन्ता छ भने कमोडिटी फयुचर एक्सचेञ्ज उपयुक्त विकल्प हुन सक्छ । यस्तो एक्सचेञ्जमा इण्टरनेटको माध्यमबाट घर तथा अफिसमै बसेर खाद्यदेखि सुनसम्मका वस्तुमा लगानी गर्न सकिन्छ । तर, लगानी केमा र कसरी गर्ने भन्ने जानकारी हुनुपर्ने विज्ञहरू बताउँछन् । बुझेर लगानी गर्नेहरूले प्रतिफल हात पार्छन् भने लहलहैमा लगानी गर्नेहरू पछुताउने गरेको विज्ञहरूको धारणा छ । लगानी बजारमा कमाउने र गुमाउने सम्भावनाको अन्त्य कहिल्यै हुँदैन ।
कमोडिटिज एण्ड मेटल एक्सचेञ्ज नेपाल लिमिटेड (कोमेन) ले सबैभन्दा पहिले कमोडिटी एक्सचेञ्जको कारोबार शुरू गरेको थियो । हाल कोमेनसहित नेपाल डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड (एनडेक्स), मर्कण्टायल एक्सचेञ्ज (मेक्स), वेल्थ एक्सचेञ्ज र स्पट एक्सचेञ्ज नेपाल गरी पाँचओटा कमोडिटी एक्सचेञ्ज सञ्चालनमा रहेका छन् । नेपालमा कमोडिटीको वास्तविक कारोबारको आकार १ खर्ब रुपैयाँबराबरको भएको मेक्सका प्रबन्ध निर्देशक दीपेन्द्र खतिवडा बताउँछन् । कमोडिटीको कारोबारलाई डेरिभेटिभमा परिणत गर्दा हरेक दिनको कारोबार ४ खर्ब रुपैयाँ हुन आउने खतिवडाको भनाइ छ ।
हाल नेपालमा कमोडिटिज एक्सचेञ्च विश्व मापदण्डअनुरूप सञ्चालन भएका छैनन् । अहिले पाँच प्रतिशतभन्दा कम बजार मात्र कमोडिटी एक्सचेञ्जको प्रकृतिअनुसार सञ्चालन भएको एनडेक्सका प्रबन्ध निर्देशक सन्तोष प्रधान बताउँछन् । स्थानीय उत्पादनको कारोबार शुरू भएपछि नेपाली बजारमा दुई(तीनओटाभन्दा बढी कमोडिटिज एक्सचेञ्ज टिक्न नसक्ने खतिवडाले बताए ।
कमोडिटिज एक्सचेञ्जहरूलाई व्यवस्थित बनाउन नियमन आवश्यक भएको छ । कमोडिटी बजारको नियमनका लागि नेपाल धितोपत्र बोर्डले आफू सक्षम रहेको बताउँदै आएको छ । बोर्डले नियमनसम्बन्धी गृहकार्य गरी धितोपत्रसम्बन्धी ऐन २०६३ मा संशोधन गर्न तयारी गरिसकेको बोर्डका उपनिर्देशक नवराज अधिकारीले बताए । तर, बोर्ड अहिलेसम्म कमोडिटी बजारको नियामक निकाय बन्न सकेको छैन ।
कमोडिटिज एक्सचेञ्ज के हो ?
कमोडिटिज एक्सचेञ्ज विभिन्न वस्तुको खरीदविक्री गर्ने ठाउँ हो । परम्परागत रूपमा कमोडिटी बजारमा वस्तुको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने मात्र नभएर भौतिक रूपमा पनि वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ । अहिले भौतिक वस्तुको उपस्थितिविना पनि त्यस्ता वस्तुको स्वामित्व मात्र खरीदविक्री हुन थालेको छ । यो कारोबार सङ्गठित कमोडिटिज एक्सचेञ्ज (वस्तुबजार) बाट हुने गर्छ । स्वामित्वको मात्र खरीदविक्री हुँदा वस्तु भने जहाँ थियो त्यहीँ (अर्थात् गोदाममै) रहिरहन सक्छ । वस्तुको स्वामित्व जनाउने कागजको मात्र खरीदविक्री हुन्छ । यसरी हेर्दा कमोडिटी बजार जग्गाको खरीदविक्रीजस्तै हुन्छ । तसथ, यस्ता वस्तुहरू (जसलाई कमोडिटिज भनिन्छ) मा पनि शेयर वा जग्गामा जस्तै लगानी गर्न सकिन्छ । त्यसैले, सङ्गठित कमोडिटी एक्सचेञ्जलाई स्टक एक्सचेञ्जजस्तै पूँजीबजारको एक अङ्गका रूपमा लिने गरिन्छ ।
वस्तु बजारबाट पूँजी पलायन भइरहेको हुन सक्छ
जोशेप अधिकारी
मर्निङस्टार इन्भेष्टमेण्ट
अहिले नेपालमा एउटा मात्र स्टक एक्सचेञ्ज छ । तर, कमोडिटी एक्सचेञ्ज चार/पाँचओटा भइसकेका छन् । स्टक एक्सचेञ्जमा सीमित ब्रोकर छन् तर, कमोडिटी ब्रोकर २ सय नाघिसके भने सबब्रोकर पनि त्यति नै छन् । स्टक एक्सचेञ्जको कारोबार गर्न काठमाडौँबाहिरबाट त्यति सजिलो छैन । तर, कमोडिटी बजार नेपालका कुनाकुनामा पुगिसकेको छ । त्यस्तै, कमोडिटिज व्यवसायको आकार स्टक एक्सचेञ्जको भन्दा धेरै गुणा ठूलो भइसक्दा पनि नियामकको टुङ्गो नलाग्दा सरकार कानमा तेल हालेर बसिरहेको जस्तो लागिरहेको छ । कमोडिटी बजारको नियामक हुन चाहने संस्थाले बजारको समस्या तथा चुनौतीका विषयमा आजैदेखि सूचना सङ्कलन गर्न थाल्दा हुन्छ । अहिले बजार अपरिपक्व अवस्थामा रहेकोले यसका सकारात्मक तथा नकारात्मक दुवै पक्षको अध्ययन गर्नुपर्छ ।
नेपालका कमोडिटी एक्सचेञ्जलाई वास्तविक एक्सचेञ्ज भन्न सकिँदैन । यिनीहरूले कष्टमाइज एक्सचेञ्जको रूपमा कण्ट्रयाक्ट फर ड्रिफ्रेन्सेज (सीएफडी) को बट्टा चलाइरहेका छन्, जुन अमेरिकाको बजारमा पूर्ण गैरकानूनी हो । तर, बेलायत, अष्ट्रेलिया तथा अन्य मुलुकमा यसले राम्रै स्थान लिइरहेको छ । अब बन्ने नियामक निकायले यो बजारको जोखिम व्यवस्थापन कसरी गर्ने भन्नेतिर लाग्नुपर्छ । नेपालबाट बाहिर पैसा पठाउने औपचारिक संयन्त्र नभएको समयमा कमोडिटी एक्सचेञ्जहरू कसरी सञ्चालित छन् भन्ने विषयमा अनुसन्धान गर्नुपर्छ ।
युनाइटेड नेशन कोअपरेशन अफ ट्रेड एण्ड डेभलपमेण्ट (अङ्कटाड)ले नव उदीयमान देशहरूमा कमोडिटी बजारको विकास गर्ने विषयमा अनुसन्धान तथा सहयोग गरेको छ । उक्त अनुसन्धानले नेपाल, रुवाण्डा, इथियोपिया, मोजाम्बिकजस्ता देशमा कमोडिटी बजारको विकासले मूल्यचक्र (भ्यालूचेन) र आपूर्तिचक्र (सप्लाइचेन)मा सहयोग पुर्याउने देखाएको छ । तर, नेपालका एक्सचेञ्जहरूले अध्ययन अनुसन्धान गरेर नयाँ अवसर पहिल्याउनतिर नलागेर खालि 'नेट डिपो' बढाउन मात्र लागिपरेका छन् ।
अहिले सबैभन्दा धेरै बहुमूल्य धातुको कारोबार भइरहेको छ । त्यसैगरी, कच्चा तेल र तामाजस्ता धातुको कारोबार पनि निकै उच्च छ । यी सबै वस्तुको मूल्य अमेरिकी डलरमा हुने गरेको छ । यो विषयमा राष्ट्र बैङ्क चनाखो हुनु जरुरी छ । डलरको मूल्य कसरी नेपाली रुपैयाँमा रूपान्तरण हुन्छ भन्ने विषयमा राष्ट्र बैङ्कले खोजबिन गर्नुपर्छ ।
शेयर ब्रोकरले पनि डेरिभेटिभमा कारोबार गर्न पाउनुपर्छ
अञ्जनराज पौडेल
अध्यक्ष, स्टक ब्रोकर एशोसिएशन नेपाल
अहिले स्टकमा २३ ओटा ब्रोकर कम्पनी छन् । कमोडिटिज र शेयर बजार वित्तीय बजारमा एक सिक्काका दुई पाटाजस्ता हुन् । हाम्रो नियामक निकाय धितोपत्र बोर्डअन्तर्गत नै कमोडिटी बजार आउन लागेको हुँदा यसमा हाम्रो पनि केही योगदान रहन्छ । अहिले सबै कमोडिटिज एक्सचेञ्जले हामीलाई उनीहरूको सदस्यता लिन प्रस्ताव गरिसकेका छन् । तर, त्यसका लागि हामीले आफू संलग्न नभएको छुट्टै संस्था दर्ता गरेर काम गर्नुपर्छ । हाम्रै नियामक निकायले नै कमोडिटी बजारलाई नियमन गर्ने भएपछि हामीले पनि उक्त बजारमा काम गर्न पाउनुपर्छ भन्ने हो ।
अब स्टक ब्रोकर ५० पुग्दै छन् । २ सयभन्दा बढी कमोडिटिज ब्रोकर छन् । मर्चेण्ट बैङ्क र पोर्टफोलियो म्यानेजमेण्ट कम्पनीलाई गणना गर्ने हो भने यसको सङ्ख्या अझै बढ्छ । पहिला राष्ट्र बैङ्कले जथाभावी लाइसेन्स दिँदा अहिले वित्तीय क्षेत्रमा जुन अवस्था भइरहेको छ, भोलि कमोडिटिज बजारको त्यही अवस्था भयो भने त्यसले अर्थतन्त्रलाई पार्ने असरको मूल्याङ्कन गरिसाध्य हुनेछैन । कमोडिटी बजारबाट पूँजी पलायन भइरहेको भन्ने मुद्दा जटिल हो । यस विषयमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्छ । अहिले कमोडिटिज बजारको पहिचान के हो ? भन्ने प्रश्न आउन सक्छ । तर, जसरी सुझावहरू आइरहेका छन्, बजारको क्षमताअनुसार तिनलाई व्यवस्थित गर्न विचार पुर्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले स्टक तथा कमोडिटी बजारलाई पनि धराशयी बनाउन सक्छ । यो विषयलाई पनि ख्याल गर्नु आवश्यक छ । साथै, पूँजीगत लाभकरलाई पनि पारदर्शी बनाउनुपर्छ । यसको सट्टा कारोबार (ट्राञ्जेक्शन) कर लगाउन हामीले सुझाव दिएका छौं ।
मूल्य निर्धारण प्रक्रिया नै खोटपूर्ण छ
कन्हैया घिराइया
प्रबन्ध निर्देशक,
एक्सपिडियण्ट सेक्युरिटिज
सबैभन्दा पहिले नेपालमा कमोडिटी एक्सचेञ्ज कसरी सञ्चालन भइरहेको छ भन्ने बुझ्न जरुरी छ । नेपाल स्टक एक्सचेञ्जमा जस्तै मूल्य म्याचिङ गर्ने परिपाटी यसमा छैन । कमोडिटिज एक्सचेञ्जमा डलरमा मूल्य भएका विदेशी वस्तुको मात्र किनबेच भइरहेको छ । त्यसमा पनि लामो समयसम्मका लागि डलरको विनिमय दर आफूखुशी निर्धारण गरेर कारोबार भइरहेको छ । यसले वस्तुहरूको वास्तविक मूल्य प्रतिबिम्बित गर्न सकेको छैन । त्यसैले, वस्तुहरूको मूल्य निर्धारण प्रक्रिया नै खोटपूर्ण छ । अर्को कुरा एक्सचेञ्जको स्त्रिmनमा चलेको मूल्यमा जोकोहीले जुनसुकै समयमा पनि खरीदविक्री गर्न सक्छ । खरीदकर्ताले विक्रेता खोजिरहनुपर्दैन । यसको अर्थ त्यहाँ कुनै डिलर (मार्केट मेकर) पक्कै रहेको हुन्छ, जसले बजार निर्माताको काम गरिरहेको छ । तर, नेपालको सन्दर्भमा त्यस्ता बजार निर्माता अदृश्य छन् । उनीहरूको परिचय छैन, आयस्रोतको ठेगाना छैन भने कसरी कारोबार गरिरहेका छन् भन्ने विषयमा कुनै अनुगमन छैन । साथै, उनीहरूले जोखिम न्यूनीकरण गर्न आफ्नो पोजिशन बाहिर हेज गर्नुपर्छ । उनीहरूका पोजिशन कहाँ कुन एक्सचेञ्जमा हेज भएका छन् र सो विदेशी कम्पनीको विश्वसनीयता कस्तो छ केही थाहा छैन । यसले पूँजी पलायन भएको प्रस्टै छ ।
अहिलेसम्म अधिकांश लगानीकर्ताले गुमाइरहेका छन् र त्यस्तो कुनै दुर्घटना भएको छैन । भोलिका दिनमा धेरै ग्राहकले कमाए भने एक्सचेञ्जले भुक्तान गर्न सक्छ कि सक्दैन । जसरी बीमाको पनि पुनर्बीमा गरेजस्तै डेरिभेटिभमा बाहिर हेज गर्न राष्ट्र बैङ्कले स्वीकृति दिँदैन । त्यसैले, अहिलेकै अवस्थामा एक्सचेञ्ज सञ्चालन गर्न दिने हो भने पूँजी पलायन थप भयावह हुन्छ । नेपाली लगानीकर्ताको पैसा पनि थप जोखिममा पर्छ ।
नेपालमा रियल टाइम कारोबार सम्भव छैन
कृष्ण गिरि
सीईओ, काठमाडौं क्लियरिङ हाउस
नेपालले भारतीय मुद्रा र अमेरिकी डलरसँग दोहोरो विनिमय दर प्रणाली कायम गरेकाले वस्तुबजारमा रियल टाइम कारोबार छैन । त्यसैले, अन्तरराष्ट्रिय बजारअनुसारको मूल्य यहाँ तत्कालै पाउन गाह्रो छ । सुनको मूल्य सधैं अमेरिकी डलरसँग जोडिएको हुन्छ । डलर र भारतीय मुद्राबीच स्थिर विनिमयदर प्रणाली भएकाले मूल्य घटबढ हुने छुट्टै बाटो छ । त्यसैगरी, सुनको मूल्य पनि आफ्नै ट्रयाकमा घटबढ भइरहेको हुन्छ । भारतीय मुद्रा, अमेरिकी डलर र सुनको मूल्यको घटबढ विपरीत प्रतिक्रियामा चलिरहेको हुन्छ ।
लगानीकर्ता र ब्रोकरले अन्य मुलुकको सिको गर्ने सम्भावना कत्तिको छ भन्ने छलफलको विषय हो । सोझो तरीकाले कारोबार गर्दा कतिपय क्लियरिङ हाउसबाट आफूखुशी चलखेल गरेको आरोप आउने गर्छ । हाम्रो सोच पनि वास्तविक बजारको सिको गर्ने नै छ । यस्तो अवस्थामा लगानीकर्तालाई मूल्यको उतारचढावका बारेमा कसरी बुझाउन सकिन्छ भन्ने डर लागिरहेको छ । किनभने, अन्तरराष्ट्रिय बजारमा मूल्य घटिरहँदा स्थानीय बजार बढिरहेको हुन्छ । सुन र डलरसँग भारतीय मूल्य विपरीत ढङ्गबाट बढ्ने वा घट्ने हुन्छ । यस्तो अवस्थामा एक्सचेञ्जले मूल्यमा आफूखुशी चलखेल गरेर लगानीकर्तालाई नोक्सान भयो भन्ने गरिन्छ । यस्तो अवस्थामा मूल्यका लागि एक्सचेञ्जहरूले वास्तविक बजारको सिको गर्न सक्छन् ।
सबैभन्दा पहिले नियामक निकायको आवश्यकता छ
दीपक ठकुरी
सीईओ, एक्सिस ब्रोकिङ
नेपालमा कमोडिटिज बजार शुरुआतको अवस्थामा छ । अहिलेको अवस्थामा कमोडिटिज बजारमा पूँजी पलायन भएको तथा मूल्यमा चलखेल हुने गरेको कुरा उठ्न थालेको छ । अहिलेको हाम्रो अवस्था अभिभावकविहीन सन्तानको जस्तै भएको छ । त्यसैले, हामीलाई सबैभन्दा पहिले नियामक निकायको आवश्यकता छ ।
वस्तुबजार सक्षम हुन 'सेटलमेण्ट ग्यारेण्टी फण्ड’को नीति आवश्यक छ । सेटलमेण्टको ग्यारेण्टीका लागि सबै पक्षले केही न केही योगदान गर्नु आवश्यक छ । सरकारले यसका लागि आवश्यक नीति तर्जुमा गर्नुपर्छ । लगानीकर्ताको सुरक्षणका लागि पनि फण्ड आवश्यक पर्छ । यस्तो फण्डमा करछूटको व्यवस्था हुनु आवश्यक छ ।
केही बैङ्कहरू पनि कमोडिटिज बजारमा आउन चाहिरहेका छन् । तर, अहिलेको नीतिनियमले उनीहरूलाई कमोडिटिज र डेरिभेटिभमा सहभागी हुन बन्देज लगाएको छ । नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा लागू गरेको करनीतिलाई हेर्दा व्यवसायको आकारलाई नै धराशयी बनाएको छ । यसले गर्दा व्यवसाय करीब २० देखि ३० प्रतिशत गिर्दो अवस्थामा छ ।
कमोडिटिज एक्सचेञ्जले वित्तीय विनाश निम्त्याउँदै छन्
मनोज बुढाथोकी
प्रोफेशनल फाइनान्स एनालिष्ट,
एबीसी कमोडिटी
नेपालमा चलेका एक्सचेञ्जहरूलाई कमोडिटी एक्सचेञ्ज भन्न सकिने अवस्था छैन । एक्सचेञ्जमा वेयरहाउस रिसिप्टलाई कारोबार गर्ने प्रावधान नै छैन भने त्यो कमोडिटी एक्सचेञ्ज नै होइन । अहिले सञ्चालनमा आएको वास्तविक एक्सचेञ्ज डेरिभेटिभ एक्सचेञ्ज मात्र हो ।
कमोडिटी एक्सचेञ्जहरू वास्तविक ट्रयाकबाट विचलित भएका छन् । अहिले कमोडिटी एक्सचेञ्जहरूले खतरनाक युरेनियम परमाणुजस्तै डेरिभेटिभ उत्पादन गरिरहेका छन् । युरेनियमलाई प्रशोधन गरेर राम्रो काममा पनि प्रयोग गर्न सकिन्छ । तर, त्यो विनाशकारीको हातमा पुग्यो भने सबै विनाश गर्न सक्छ । अहिले नेपालमा चलिरहेको कारोबारको प्रकृति हेर्दा कमोडिटी बजार त्यस्तै विनाशकारी बाटोतिर गइरहेको छ । नेपालको अर्थतन्त्रलाई धक्का लगाउने काममा उनीहरूले डेरिभेटिभलाई प्रयोग गरिरहेका छन् ।
विनाशको अवस्था आउनु अगावै उपयुक्त नीति नियम बनाएर नेपालको अर्थतन्त्रलाई जोगाउनु अहिलेको टड्कारो आवश्यकता हो । अबको छलफल अहिलेको प्रवृत्तिलाई बढ्न दिने कि नदिने भन्ने विषयमा केन्द्रित हुनुपर्छ । अहिले युरेनियमको रूपमा बनाइँदै गरेको डेरिभेटिभलाई पड्कनुभन्दा अगाडि नै सही ट्रयाकमा ल्याउनुपर्छ ।
Admin 2011-07-08