लघुवित्त वित्तीय संस्थाले वित्तीय पहुँचका माध्यमबाट सदस्यमा स्वरोजगारिताको विकास गर्दै आएका छन् भने उल्लेख्य संख्यामा रोजगारी पनि प्रदान गरिरहेका छन् । कार्य सम्पादनका हिसाबले लघुवित्तमा रहेका कर्मचारीलाई व्यवस्थापन र फिल्ड तह गरी दुई वर्गमा विभाजन गर्न सकिन्छ । व्यवस्थापन तहमा रहेका कर्मचारीले व्यवस्थापकीय तहका कार्य सम्पादन गर्छन् भने फिल्ड तहका कर्मचारीले संस्था र सदस्यबीच सेतुको काम गर्छन् । यी कर्मचारीले समुदायमा गई लक्षित वर्गलाई संस्थामा आबद्ध गरी वित्तीय सेवा प्रदान गर्ने गर्छन् । यसरी लघुवित्त वित्तीय संस्थामा जुन तह र क्षेत्रमा रहे पनि कर्मचारीले पूरा गर्ने गहन जिम्मेवारीले संस्थालाई आफ्नो उद्देश्य प्राप्त गर्नेतर्फ अग्रसर गराइराखेको हुन्छ ।
संस्था सञ्चालनका लागि आवश्यक पर्ने मानवसंसाधन, पूँजी, कच्चा पदार्थ र प्रविधि (फोर एम) मध्ये मानवसंसाधन सबैभन्दा महत्त्वपूर्ण साधन हो । यही साधनले अन्य साधनलाई प्रभावकारी तरीकाले परिचालन गर्ने भएकाले संस्था सुचारु तवरले सञ्चालन हुन सक्छ । त्यसैले मानवसंसाधनको ज्ञान, शीप, कार्यकुशलता, काम गर्ने आदत, कार्यक्षमता आदिले प्रत्यक्ष रूपमा संस्थाको प्रतिस्पर्धात्मक क्षमता र उच्चस्तरको कार्यसम्पादनले संस्थालाई सही तवरले अगाडि बढाउन सकिन्छ । सैद्धान्तिक रूपले मुख्यतया कर्मचारीहरू दुई प्रकारका हुन्छन् । पहिलो किसिमका कर्मचारीमा नीति तथा कार्यविधिबाट मात्रै काम गर्ने, नवप्रवर्तनात्मक गतिविधिमा भन्दा आफ्नो वृत्ति विकासमा जोड दिने, जागीरको स्थायित्वमा रमाउने र तलबमा सन्तुष्ट हुने म्याक्स वेबरको ब्युरोक्रेसी थ्योरीबाट प्रभावित हुने विशेषता पाइन्छ । दोस्रो प्रकारका कर्मचारीहरू उत्पादक तथा उत्पादनमा बढी जोड दिने हुन्छन् । उनीहरू एफडब्ल्यू टेलरको व्यवस्थापन थ्योरीबाट प्रेरित भई उत्पादन र नाफा वृद्धि हुनेगरी काम गर्ने प्रकृतिका हुन्छन् । यसका साथै करारमा रहेका कर्मचारीहरू अत्यधिक कार्यभार हुने भएकाले कतिपयले काम छोड्ने भएकाले उनीहरूको सट्टामा नयाँ कर्मचारी भित्त्याउने प्रवृत्ति रहने गरेको पाइन्छ । लघुवित्त वित्तीय संस्थामा उल्लिखित दुवै प्रकारका कर्मचारीहरू रहेको पाइन्छ ।
कमजोर कर्मचारी व्यवस्थापनका कारण कर्जाको विश्लेषण प्रभावकारी नहुने, कर्जा सदुपयोगिताजस्ता प्रक्रिया ओझेलमा पर्न थाले र आन्तरिक नियन्त्रण प्रणालीको गुणस्तर खस्कन थाल्यो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८० चैतमसान्तमा मुलुकमा सञ्चालनमा रहेका ५५ ओटा लघुवित्त वित्तीय संस्थाका ५ हजार १२५ शाखामा २१ हजार ८०२ जना कर्मचारी कार्यरत छन् । कार्यप्रकृतिको दृष्टिकोणले लघुवित्त वित्तीय संस्थाले सेवाग्राहीको घरदैलोमा नै गएर लक्षित वर्गको पहिचान गर्ने उनीहरूलाई संस्थामा आबद्ध गर्ने, वित्तीय कारोबारका बारेमा जानकारी प्रदान गर्ने, उनीहरूको आवश्यकता र क्षमताअनुसारको वित्तीय सेवा प्रदान गर्ने भएकाले यी संस्थाको कुल कार्यको करीब ८० प्रतिशत कार्य फिल्ड तहमा सम्पन्न हुने गर्छ । यस हिसाबले कुल कर्मचारीको करीब ७० प्रतिशत कर्मचारीहरू फिल्डमा कार्यरत रहने अनुमान गर्न सकिन्छ । लघुवित्त वित्तीय संस्थामा कर्मचारीको वृद्धिदरलाई हेर्दा २०७५ चैतमा १६ हजार ७८५ रहेको कर्मचारीको संख्या ५ वर्षपछि २०८० चैतमा झन्डै ३० प्रतिशतले वृद्धि भई २१,८०२ पुगेको देखिन्छ ।
लघुवित्त वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै यस क्षेत्रमा बढ्दै गएको अस्वस्थ्य प्रतिस्पर्धाले संस्थाहरूको शाखा संख्यामा पनि वृद्धि भयो । संस्थाहरू नाफामुखी बन्दै जाँदा कर्जा विस्तार अधिक हुनथाल्यो । यसका लागि कम समयमा नै उल्लेख्य संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने र संस्थाहरू बीच कर्मचारीहरू खोसाखोसको अवस्थासमेत सृजना भयो । छोटो समयमा कर्मचारीको उच्च माग हुँदा तालीमविना नै कर्मचारीलाई कार्यक्षेत्रमा पठाउने, कार्यरत कर्मचारीलाई तालीम प्रदान गर्न प्राथमिकता नदिने, समान पद वा पदोन्नति हुनेगरी एक संस्थाबाट अर्को संस्थामा छिटोछिटो कर्मचारीको स्थानान्तरण हुँदा कम अनुभव वा अनुभव नभएका कर्मचारीहरूले संस्थाको उच्च पदको जिम्मेवारी पाउन थाले । फलस्वरूप कमजोर कर्मचारी व्यवस्थापनका कारण कर्जाको विश्लेषण प्रभावकारी नहुने, कर्जा सदुपयोगिताजस्ता प्रक्रियाहरू ओझेलमा पर्न थाले र आन्तरिक नियन्त्रण प्रणालीको गुणस्तर खस्कन थाल्यो । यसका साथै दिइएको लक्ष्य पूरा गर्ने ध्याउन्नमा लागेर कर्मचारीले जोखिम विश्लेषण नगरी कर्जा प्रवाह गर्ने, साँवाब्याज तिर्न नसकेर समस्यामा परेका ऋणी सदस्यलाई नै थप कर्जा दिने, कर्जा सदुपयोगिता नहेर्नेलगायत कारण संस्थामा वित्तीय अनुशासनमा क्षय हुने क्रम शुरू भएको देखिन्छ । यसैबीच राष्ट्रव्यापी रूपमा कर्जा नतिर्ने अभियान, लघुवित्त विरुद्धको आन्दोलन, लघुवित्तलार्ई मीटरब्याजीसँग तुलना गरिनु, मुलुकभर फैलिएको कोभिड संक्रमण, आर्थिक मन्दी, भुइँचालोलगायत कारण लघुवित्त वित्तीय संस्थाहरू थप दबाबमा परेको देखिन्छ । उल्लिखित विभिन्न कारणले लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जाको अंशमा उल्लेख्य वृद्धि भई गत पुस मसान्तमा २९ अर्ब (७ दशमलव ४९ प्रतिशत) पुगेको छ ।
कर्मचारीलाई लघुवित्त कार्यक्रमसँग सम्बद्ध तालीम प्रत्येक २ वर्षमा कम्तीमा एकपटक र नयाँ भर्ना भएका कर्मचारीलाई सेवा प्रवेश गरेको १ महीनाभित्र कम्तीमा २ हप्ताको अभिमुखीकरण तालीम प्रदान गर्नुपर्ने, यसरी प्रदान गरेको तालीमको सम्पूर्ण विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
लघुवित्त वित्तीय संस्थाहरू फरक प्रकृतिका वित्तीय संस्था हुन् । अन्य बैंक तथा वित्तीय संस्थाले आफ्नो कार्यालय परिसरबाट सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्छन् भने लघुवित्त वित्तीय संस्थाले सेवाग्राहीकै घरदैलोमा गएर वित्तीय सेवा प्रदान गर्ने भएकाले सदस्यहरूसँग फिल्ड तहका कर्मचारीको निरन्तर भेटघाट र सामीप्य हुने गर्छ । त्यसैले उनीहरूको व्यवहार, आचरण, काम गर्ने शैली, कार्यक्षमता आदिले सदस्य र संस्थाबीचको आबद्धता, वित्तीय कारोबारको निरन्तरता, संस्थाको स्थायित्व र भविष्यसमेत निर्धारण हुने गर्छ । तर, पछिल्लो समय कर्जाको साँवाब्याज असुलीको क्रममा केही कर्मचारीले ग्राहकसँग अमर्यादित व्यवहार गरेकाले संस्था र सदस्यबीचको सम्बन्धलाई कमजोर बनाएको देखिन्छ । त्यसैले आफ्नोे कर्तव्यप्रति वस्तुनिष्ठ भएर लाग्ने, कार्यक्षमताको वृद्धि, काम गर्ने आदत, नतिजामुखी प्रवृत्ति, संस्थागत संस्कृति, संस्थाको निर्धारित उद्देश्यलगायत विषयमा निपुण बनाउन कर्मचारीलाई समयसमयमा उत्प्रेरित बनाउनुपर्ने हुन्छ । समयानुसारको वृत्तिविकास, तलबभत्ता तथा अन्य सुविधा, कार्यावातावरण, गुनासो सुनुवाइ, निष्पक्ष एवं सम्मानजनक व्यवहार, तालीमलगायत कुराबाट कर्मचारी वर्गमा उत्प्रेरणा ल्याउन सकिन्छ ।
नयाँ कर्मचारी भर्ना गर्दा नीतिगत प्रक्रियालाई अवलम्बन नगर्ने, छोटो समयमा गरिने पदोन्नति, तालीमको अभाव, भेदभावपूर्ण व्यवहार, दण्डसजाय आदिले कर्मचारीमा असन्तुष्टि बढाउँछ । कर्मचारी सेवा विनियमावलीले निर्दिष्ट गरेका कर्मचारीसँग सम्बद्ध विषयलाई विनाभेदभाव कार्यान्वयनमा ल्याउनुपर्छ । नयाँ भर्नामार्फत नियुक्त गरिएका कर्मचारीहरूलाई सेवा प्रवेशपूर्वको तालीम, उनीहरूको विगतको कार्यानुभव, उनीहरूको बानीबेहोरालगायतमा जानकारी लिने, फिल्डमा काम गर्ने कर्मचारीलाई सेवाग्राहीसँग गर्ने व्यवहारसम्बन्धी तालीम, कार्यक्रमसँग सम्बन्धी तालीम र कार्यानुभवपश्चात् मात्र पदोन्नति गर्ने तथा जिम्मेवारी दिने, कर्मचारीको जायज गुनासो सुनुवाइ, पुरस्कार तथा दण्डसजायको व्यवस्था, समयानुकूलको तलबसुविधा आदिले कर्मचारीमा सन्तुष्टि ल्याउने र उनीहरूलाई उद्देश्यमूलक बनाई परिचालन गर्न सकिने भएकाले उल्लिखित विषयलाई प्राथमिकता दिनुपर्छ ।
कर्मचारीहरू कुनै पनि संस्थाको धरोहर भएकाले कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था र कर्मचारीलाई अनिवार्य रूपमा तालीममा सहभागी गराउनुपर्ने विषयमा नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन नै जारी गरेको छ । संस्थाले कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष गत आर्थिक वर्षको कर्मचारीको कुल तलबभत्ता खर्चको न्यूनतम ३ प्रतिशत रकम कर्मचारीको तालीम तथा वृत्तिविकासमा खर्च गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । यसअन्तर्गत कर्मचारीलाई लघुवित्त कार्यक्रमसँग सम्बद्ध तालीम प्रत्येक २ वर्षमा कम्तीमा एकपटक र नयाँ भर्ना भएका कर्मचारीलाई सेवा प्रवेश गरेको १ महीनाभित्र कम्तीमा २ हप्ताको अभिमुखीकरण तालीम प्रदान गर्नुपर्ने, यसरी प्रदान गरेको तालीमको सम्पूर्ण विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
बैंकिङ व्यवसाय विश्वासमा चल्ने व्यवसाय भएकाले कर्मचारीको कार्यक्षमता, कार्यशैली, व्यवहार, आचरणलगायत पक्षले सेवाग्राहीको मन जित्न सक्नुपर्छ । यसका लागि कर्मचारीहरूलाई आवश्यक तालीम प्रदान गर्ने, सदस्यहरूसँग निष्पक्ष तथा सम्मानजनक व्यवहार, बोलीचाली र उनीहरूको गुनासो सुनुवाइसम्बन्धी विषयमा सेवाप्रवेशको समयमा र आवश्यकता अनुसार सेवा अवधिमा पनि तालीम प्रदान गर्ने, क्षमतावान् उत्तराधिकारीको उत्पादनजस्ता कार्यहरू अपरिहार्य हुन्छन् । यस्ता कार्यले कर्मचारीमा नैतिकता, इमानदारी र कार्यक्षमता बढाई विषयगत ज्ञान र कार्यसम्पादनको स्तर बढाउने भएकाले संस्थालाई सफल बनाउन सहयोग पुग्ने देखिन्छ ।
लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।