logo
नेपाल–अमेरिका व्यापार सम्बन्धका आयाम भन्सार दरबाट मात्र नेपाल लाभान्वित हुन सक्दैन
नेपाल–अमेरिका व्यापार सम्बन्धका आयाम
२ बैशाख २०८२

विश्वको महाशक्ति राष्ट्रका रूपमा रहेको संयुक्त राज्य अमेरिका नीतिगत रूपान्तरणको चरणमा प्रवेश गरेको छ । आप्रवासन, उत्पादन, सुरक्षा, वैदेशिक सम्बन्ध नीतिहरू सँगसँगै वैदेशिक व्यापार नीतिमा अमेरिकी नीतिमा आमूल परिवर्तन भएको छ । यस परिस्थितिमा परिवर्तित अमेरिकी वाणिज्य नीतिको नेपालमा पार्ने पाश्र्वप्रभावका बारेमा तथ्यपरक समीक्षा र विवेचना गर्दै अमेरिकी बजारलक्षित वाणिज्य नीति अंगीकार गर्नु आवश्यक देखिन्छ । यी नीति अंगीकार गर्दाका आयामहरू यस प्रकारका छन् । 

रणनीतिक आयाम

सन् १९४७ को अप्रिल २१ तारीखमा अमेरिकी राष्ट्रपति ट्रुम्यानले नेपालका राजा श्री ५ त्रिभुवनलाई सम्बोधन गर्दै नेपाल एक सार्वभौम र स्वतन्त्र मुलुक भएको र संयुक्त राज्य अमेरिका नेपालसँग मित्रता र वाणिज्य सम्बन्ध सुदृढ गर्न चाहन्छ भन्ने आफ्ना प्रतिनिधिमण्डलमार्फत पत्र लेख्नुभएको थियो । त्यही आधारमा सन् १९४७ को अप्रिल २५ तारीखमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच मित्रता र वाणिज्य सन्धि सम्पन्न भएको थियो जसमा नेपालमा तर्फबाट श्री ३ पद्मशमशेर जबरा र संयुक्त राज्य अमेरिकाका तर्फबाट जोसेफ सी साटरथ्वाइटले हस्ताक्षर गरेका थिए । नेपालको स्वतन्त्रता र सार्वभौम सत्ताप्रतिको अटुट समर्थन नेपाल र संयुक्त राज्य अमेरिकाको आपसी सम्बन्धको रणनीतिक आयाम रहेको छ, जहाँ वाणिज्य सम्बन्ध एक अन्योन्याश्रित तत्त्वको रूपमा रहेको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच वाणिज्य सम्बन्ध जति सुदृढ, बहुआयामिक र चिरस्थायी हुन्छ, नेपालको स्वतन्त्रता र सार्वभौम सत्ता पनि त्यत्ति नै बढी अभेद्य हुँदै जान्छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच पहिलोपटक आदानप्रदान भएको सन्धिमा मित्रता र वाणिज्य शब्द सँगसँगै आएका छन् । यी शब्दको चयन र संयोजनले आफै मित्रता सँगसँगै वाणिज्य भन्ने एक विशिष्ट अर्थ बोकेको पाइन्छ । मित्रता र वाणिज्य सम्बन्धको गहिरो अन्तर आबद्धता रहेको हुन्छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहेको यो सम्बन्ध आफैमा आर्थिक आयामभित्रको रणनीतिक आयाम र रणनीतिक आयामभित्रको आर्थिक आयामका रूपमा ग्रहण गर्न आवश्यक छ ।

संयुक्त राज्य अमेरिका हिमालय क्षेत्रमा चीन र भारतका बीच सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र हिमाली राज्यको पक्षमा छ, जसको मित्रशक्तिका रूपमा संयुक्त राज्य अमेरिका खडा छ र व्यापारिक गतिविधिमार्फत नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध सुदृढ गर्न चाहन्छ भन्ने स्पष्ट सन्देश यस सन्धिमा अन्तरनिहित छ । दक्षिण एशियाको भूराजनीतिक सीमाहरूमा परिवर्तन आउँदा पनि नेपाल स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा रहिरहनमा सन् १९४७ अप्रिल २५ तारीखका दिन नेपाल र संयुक्त राज्य अमेरिकाबीच सम्पन्न मित्रता र वाणिज्य सन्धिको योगदान सर्वोपरि रहेको छ । सन् १९२३ नेपाल र बेलायतबीच सम्पन्न सन्धि र सन् सन् १९४७ मा नेपाल र संयुक्त राज्य अमेरिका सम्पन्न सन्धिका पृष्ठभूमिमा सन् १९५०मा नेपाल भारत शान्ति तथा मैत्री सन्धि सम्भव भएको हो भन्ने ऐतिहासिक तथ्यलाई यहाँ बिर्सनु हुँदैन । इतिहासको यो तीतो सत्यलाई स्वीकार गर्न नसकेका तत्त्वहरूले विभिन्न कोणबाट नेपाल र संयुक्त राज्य अमेरिका सम्बन्धलाई अवमूल्यन गर्ने अभ्यासहरूमा संलग्न देखिन्छन् । तसर्थ नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धको यस रणनीति आयामको महत्त्वलाई बुझ्दै यस रणनीतिक आयाममा आर्थिक आयाम पनि जोड्दै सम्बन्धलाई अझ परिष्कृत बनाउने दिशामा जानु आवश्यक देखिन्छ ।

सन् १९४७ तिर तत्कालीन समयको एकमात्र आणविक शक्तिले युक्त परम शक्तिशाली महाशक्ति राष्ट्र, संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा भिटोशक्ति प्राप्त सबैभन्दा ठूलो आर्थिक शक्ति तथा दोस्रो विश्वयुद्धको विजेता देशका रूपमा रहेको संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डल विकट भौगोलिक कठिनाइलाई चिर्दै काठमाडौं आई नेपाललाई स्वतन्त्र, सार्वभौम मुलुकको मान्यता दिनु र नेपालसँग व्यापारिक सम्झौता गर्नु नेपालको स्वतन्त्रताका लागि कति महत्त्व राख्थ्यो भन्ने विषय त घामजस्तै छर्लङ छ । 

व्यापारिक आयाम 

‘नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा संयुक्त राज्य अमेरिकाबाट मान्यता, हिमाली अधिराज्यसँग नेपालबीच व्यापारिक सम्झौता’ शीर्षकमा न्यूयोर्क टाइम्सले ३० अप्रिल १९४७ मा समाचार प्राथमिकताका साथ प्रकाशित गरेको थियो । यो समाचारको शीर्षक पनि गहिरो अर्थ रहेको छ । नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणासँगै संयुक्त राज्य अमेरिकाको नेपालसँग व्यापारिक सम्झौतामा भएको अर्को वाक्यांश पनि जोडिएर आएको छ जहाँ व्यापारलाई सर्वोपरि महत्त्वका साथ हेरिएको छ । नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता र व्यापारिक सम्झौताको वाक्यांशको प्रवाहले नेपाल कुन दिशामा कसरी जानुपर्छ भन्ने स्पष्ट गन्तव्यबोध गराएको छ । नेपाल र संयुक्त राज्य अमेरिका सम्बन्धको यो व्यापारिक आयाम हो जसका आधारमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अटुट रूपमा विकसित हुँदै गएको देखिन्छ । 

परन्तु नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहेका यी दुईओटा आयामलाई गम्भीरतापूर्वक ग्रहण गर्दै देशको समग्र प्रगतिमा समर्पित हुनुपर्नेमा तत्पश्चात्का कालखण्डमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्धलाई दाता र याचकको स्तरमा झार्ने अभ्यासहरूमा हाम्रा गतिविधि केन्द्रित हुन थालेका छन् । मित्रता र वाणिज्यका दुईओटा शब्दावलीको पृष्ठभूमिमा मित्रता र वाणिज्यलाई सँगसँगै लैजानुपर्नेमा वाणिज्यलाई महत्त्व नदिई केवल मित्रताको नाममा अनुदानको आशाको त्यान्द्रोमा यस सम्बन्धलाई अडाउने दिशामा हामी अग्रसर हुँदै गएका छौं । 

प्रेम र व्यापार दुईतर्फी भएन भने त्यो दीर्घकालीन रूपमा टिकाउ प्रकृतिको हुँदैन । व्यापारलाई दुईतर्फी बनाउन दुवै पक्षबीच समान आधारमा समान व्यवहार गरिनु अपरिहार्य हुन्छ । यी व्यवहारमा निष्कपटताको प्राचुर्य र सत्यनिष्ठाको बाहुल्य हुन जरुरी हुन्छ । संस्कृत व्याकरणमा पनि ‘अकः सवर्णे दीर्घः’ सूत्रलाई बलिष्ठ दीर्घसन्धिको सूत्रका रूपमा लिने गरिन्छ । रसायनशास्त्रमा पनि कोभालेन्ट बोन्डलाई बलिष्ठ बोन्डका रूपमा लिने गरिन्छ, जहाँ दुवै पक्ष एकआपसमा एकाकार हुँदै लघुबाट दीर्घतामा प्राप्त हुन्छन् । व्यापारमा पनि सत्यनिष्ठाका आधारमा दुवैतर्फका आर्थिक योगदानहरू समान स्वरूप र समान व्यवहारमा एकाकार हुन खोज्दा त्यसले सम्बन्धलाई दीर्घकालीन, भरपर्दाे र टिकाउ बनाउँदछ । त्यसैले नीतिशास्त्रीहरू दुवै पक्षको लाभ हुने यस प्रकारका सन्धिलाई सात्त्विक प्रकृतिको सन्धिका रूपमा लिने गर्छन् जहाँ अहंकार रूपी राजसी गुण र घृणा र आवेगरूपी तामसी गुणको अनुपस्थिति रहन्छ । 

समान भूगोल तथा जलवायुु, उपभोक्ता संस्कृति तथा क्रयशक्तिका कारण नेपाल र भारतबीचको व्यापारमा नेपाली उत्पादनहरू भारतमा प्रतिस्पर्धी हुन सक्दैनन् । तसर्थ नेपालले भारतबाहेकका मुलुकका वस्तुहरू निर्यात गर्ने रणनीति अंगीकार गर्दै सोहीअनुरूप निर्यात क्षमता अभिवृद्धि गर्नुपर्छ भन्ने मान्यतालाई मूर्तरूप दिन २०२७ सालमा व्यापार प्रवर्द्धन केन्द्रको स्थापना भएको हो । 

भारतबाहेकका मुलुकहरूमा निर्यातयुक्त भनी त्यस बखत पहिचान भएका वस्तुहरू अझै पनि ती मुलुकमा अनवरत रूपमा निर्यात भइरहेका छन् । स्थायी प्रकृतिको बजार रहेको, बजारमा अनावश्यक हस्तक्षेप हुने नगरेको र स्वदेशमा प्रशस्त मूल्य वृद्धि भएको तथा प्रशस्त मात्रामा नेपालीहरूले रोजगार प्रदान गरिरहेको तथा आयको वितरण तुलनात्मक रूपमा समानुपातिक रहेका यी वस्तुको निर्यातले नेपालको अर्थतन्त्रलाई थप बलियो बनाएको देखिन्छ । 

परन्तु आर्थिक पक्षहरूलाई गैरआर्थिक पक्षबाट सम्बोधन गर्ने प्रयासहरू हुँदै गर्दा नेपाली वस्तुहरूको प्रतिस्पर्धी क्षमतामा ह्रास आउँदा नेपालले लिनपर्ने बजार अन्य देशहरूले उपयोग गरिरहेको अवस्था छ । सन् १९४७ देखि आजका मितिपर्यन्त अमेरिकी संकेत (सहलाभमा आधारित आर्थिक सहकार्य)लाई बुझ्न नसक्दा नेपालको दिनचर्या अमेरिकी ऋण अनुदान कसरी प्राप्त गर्नेमा नै केन्द्रित भएको देखिन्छ । फलतः देशभित्र अमेरिकी बजार र अमेरिकी लगानी लक्षित उद्यमशीलताको विकास हुन नसकी विशाल अमेरिकी बजार र लगानीलाई गुमाउनु परिरहेको अवस्था आजका दिनसम्म पनि विद्यमान छ । 

यहाँ बुझ्नुपर्ने विषय के हो भने अमेरिकामा प्राप्त बजारमा नेपालका केही महत्त्वपूर्ण रणनीतिक पक्षलाई दृष्टिगत गरी सहुलियत प्रदान गरिएको हो । पश्चिमी गोलार्धमा ऊनी गलैंचा, नेपाली हस्तकलाजन्य उत्पादनहरूको बजार प्राप्ति यसका केही प्रतिनिधि उदाहरण हुन् । यसको अर्थ भारत र चीनका उत्पादनहरू नेपाली नाममा या नेपाली उत्पादनहरू भारतीय र चिनियाँ नाममा अमेरिकी बजारमा विस्तार गर्ने यसको न त अर्थ नै हो न त आशय नै हो । यी क्रियाकलापहरूले तत्कालीन लाभ मिले तापनि दीर्घकालमा देशको व्यावसायिक साखलाई कमजोर गर्ने र उद्यमशीलताको संस्कृतिलाई नष्ट गर्ने गर्छ । 

अमेरिकी सरकारबाट नेपालमाथि सदाशयता राखी सन् २०१५ मा ७७ ओटा वस्तुहरूमा शून्य भन्सार सुविधाको प्रदान गरिएको थियो । परन्तु त्यो सुविधालाई प्राप्त गर्न उद्योगको क्षमता अभिवृद्धि गर्दै आपूर्ति गर्न सक्ने क्षमता बढाउनेतर्फ देशको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा ७७ वस्तुको अखण्ड कीर्तन र भजन गर्ने दिशामा पो हामी केन्द्रित हुन थाल्यौं । परिणामस्वरूप नेपालले ७७ वस्तुहरूमा सुविधा प्राप्त गरेको वर्ष यी वस्तुको निर्यात रू. ८७ करोड रहेकोमा त्यसपछिका कुनै पनि वर्षमा यो आकारमा यी वस्तुको निर्यात अमेरिकी बजारमा हुन सकेन । नेपालले सुविधा प्राप्त गरेको नौ वर्षमा यो निर्यात अझ खुम्चेर रू. ७२ करोडमा झर्न पुग्यो । निर्यात गर्ने क्षमता अभिवृद्धि र स्वदेशमा उद्यमशीलताको विकास नभई सुविधाहरू मात्र माग्ने प्रवृत्तिले अमेरिकी बजारमा निर्यात प्रवर्द्धन हुन सक्दैन भन्ने ७७ वस्तु अमेरिकी बजार प्रवेशमा प्राप्त भन्सार सहुलियत र नेपालको निर्यात सम्पादनले पुष्टि गर्छ । 

वर्तमान समयमा अमेरिकी सरकारको वाणिज्य नीति विशेष गरी भन्सार नीतिका कारण नेपालमा अनेकथरी प्राज्ञिक अभ्यासहरू शुरू भएका छन् । अमेरिकी भन्सार नीतिका कारण नेपाली उत्पादनका प्रतिस्पर्धी मुलुकहरूको तुलनामा कम भन्सार दर लागू भएका कारण नेपालले यसबाट लाभ लिन सक्ने गरी उत्साहजनक विचारहरूले सञ्चारमाध्यम भरिन थालेका छन् जसरी सन् २०१५ मा ७७ वस्तुहरूमा प्राप्त सुविधाले नेपाली अर्थतन्त्रको नै कायापलट गर्ने खालका विचारहरूले सञ्चार माध्यमहरू भरिएका थिए । 

परन्तु अमेरिकी भन्सार नीतिको अन्तरनीहित उद्देश्य चीनमा उत्पादित खेलौनाहरू अर्को देशबाट आयात गर्ने वा बंगलादेशमा उत्पादित तयारी पोशाकको सट्टा ती वस्तुहरू अर्को मुलुकबाट आयात गर्ने भन्ने हुँदै होइन । अमेरिकी भन्सार नीतिको पहिलो उद्देश्य अमेरिकालाई म्यानुफ्याक्चरिङको हब बनाई देशभित्र व्यापक रूपमा अमेरिकी नागरिकहरूलाई रोजगारी सृजना गरी युवापुस्तामा व्याप्त हुन थालेको विषाद र नैराश्यलाई अन्त्य गर्दै समृद्ध अमेरिकाको सपना साकार पार्ने हो । 

बंगलादेशका तयारी पोशाक बंगलादेशबाट आयात गर्न छोडेर नेपालबाट आयात गर्ने अमेरिकी भन्सार नीतिको उद्देश्य हुँदै होइन बरु तयारी पोशाक अमेरिकामा नै उत्पादन गर्ने हो । तसर्थ चर्को भन्सार दरका कारण विभिन्न देशले प्राप्त गरिरहेको अमेरिकी बजार नेपालले प्राप्त गर्न सक्छ र हामी अर्बौं डलरको तयारी पोशाक अमेरिकी बजारमा निर्यात गर्न सक्छौं भन्ने सोम शर्माको सपनाबाट हामी ब्युँझनु जरुरी छ । 

अमेरिकी भन्सार नीतिको दोस्रो उद्देश्य सहलाभमा आधारित व्यापारिक सम्बन्ध स्थापना गर्नु हो । नेपाललाई १० प्रतिशत भन्सार दरको क्लस्टरमा राख्नु र इजरायलजस्तो अमेरिकी धुरीको परममित्रलाई १७ प्रतिशत भन्सार दरको क्लस्टरमा राखिनुबाट स्पष्टै हुन्छ कि व्यापारिक सम्बन्ध सहलाभमा आधारित हुुनुपर्छ र यी आर्थिक पक्षबाट निर्देशित हुनुपर्छ भन्ने पुष्टि हुन्छ । यत्ति सरल र स्पष्ट विषयलाई विषयान्तर गर्दै नेपाल १० प्रतिशत भन्सार दरको क्लस्टरमा परेर लाभ लिन सक्छ भन्ने अचम्मको मनोदशाबाट हामी ग्रस्त हुँदै गएका छौं । 

हामीले अमेरिकी बजारमा शून्य भन्सार सुविधाको अपेक्षा गर्दै अमेरिकी उत्पादनमा दुई अंकका भन्सार दरहरू थोपर्नु कति न्यायिक हुन्छ भन्ने आफैले प्रश्न गर्ने विषय हो । सन् १९४७ देखि आजपर्यन्त अमेरिकी प्रशासनले चाहेको सहलाभमा आधारित आर्थिक सहकार्यको मोडलमा जाने चाहनालाई नेपालले आत्मसात नगर्दासम्म अमेरिकी बजारको लाभ नेपालले लिन सक्ने अवस्था दृष्टिगोचर हुँदैन । 

उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै सहलाभमा आधारित आर्थिक सहकार्यको मोडलमा नेपालको अमेरिकातर्फको वाणिज्य नीति तर्जुमा हुन आवश्यक देखिन्छ । दोश्रो आत्मनिर्भर अमेरिका अभियानलाई समेत दृष्टिगत गर्दै नेपालका प्रतिस्पर्धी लाभ भएका र अमेरिकी उद्योगलाई समेत लाभ हुने पृष्ठपोषणयुक्त निर्यातमा नेपालले जोड दिनु आवश्यक छ । सन् १९४७ को ट्रुम्यानको समय र आजको ट्रम्पको समयसम्म आइपुग्दा सहलाभमा आधारित आर्थिक सहकार्यको अविचलित नीतिको मर्मलाई आत्मसात् गरी नेपालले अमेरिकातर्फको निर्यात र आर्थिक सहकार्यको नीति निर्धारण गर्न आवश्यक छ जहाँ नेपाल र संंयुक्त राज्य अमेरिका दुवै पक्षको लाभ होस् । निजीक्षेत्रले पनि उद्यमशीलतामा आधारित निर्यात वृद्धिको नीति अंगीकार गरी गुणस्तरीय उत्पादनमार्फत अमेरिकी बजारमा स्थापित हुने नीति अंगीकार गर्नुपर्छ । नेपाल सरकारले पनि नेपाली उत्पादनहरूलाई मूल्य, परिमाण र गुणस्तर प्रतिस्पर्धी बनाउन उत्पादनको लागत न्यूनीकरण गर्न भौतिक पूर्वाधार, संस्थागत क्षमता अभिवृद्धि तथा प्रक्रियागत सरलता र सहजतामा विशेष ध्यान दिनु आवश्यक छ । सारमा भन्नुपर्दा सहलाभमा आधारित आर्थिक सहकार्य नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध नेपालको स्वतन्त्रता र सार्वभौम सत्ताको सुरक्षाको महत्त्वपूर्ण मेरूदण्ड पनि हो भन्ने विषयको महत्त्वलाई सबैले समयमै बुझ्न पनि आवश्यक देखिन्छ । 

वस्तुगत आधारमा हेर्दा नेपालमा संयुक्त राज्य अमेरिकातर्फ वर्षेनि ३०० देखि ५०० ओटा विभिन्न प्रकारका वस्तु निर्यात हुने गर्छन् । ती वस्तुको वस्तुगत रणनीति तयार गरी प्रत्येक वर्ष निर्यात अभिवृद्धिको लक्ष्यसहित सरकारी र निजीक्षेत्र सक्रिय हुनु जरुरी छ । यसैगरी नेपालले अन्यत्रबाट आयात गरिरहेका तर संयुक्त राज्य अमेरिकाबाट अझ किफायती रूपमा आयात गर्न सकिने वस्तुहरूको सूची तयार गरी अमेरिकाबाट हुने आयातमा पनि विशेष वृद्धि हुने खालका रणनीतिहरू तर्जुमा गर्न आवश्यक छ । 

(लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।)

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.