संयुक्त राज्य अमेरिकाले नयाँ भन्सार नीति अंगीकार गरिसकेपछि विश्वका विभिन्न देशहरूले उक्त भन्सार नीतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा गहन गृहकार्यहरू शुरू गरेका छन् । ती गृहकार्यका आधारमा संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ता सम्पन्न गर्न उच्चस्तरीय प्रतिनिधिमण्डलहरू पठाउन थालेका छन् । हालैमात्र इटालीकी प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको छ । इजरायलका प्रधानमन्त्रीले केही हप्ताअघि नै यस विषयमा वार्ता गर्न अमेरिकाको भ्रमण गरिसक्नुभएको छ । स्वदेशभित्र रणनीति तर्जुमाको गृहकार्य सम्पन्न भइसकेपछि संयुक्त राज्य अमेरिकासँग कस्तो प्रकारको रणनीति अंगीकार गर्ने भन्ने विषयमा विश्वभरि बृहत् अभ्यास भइरहेको छ । सम्बद्ध देशका अर्थवाणिज्य क्षेत्रको कर्मचारीतन्त्र, अर्थशास्त्रीहरू, तथ्यांकशाास्त्रीहरू, व्यापारविज्ञ, निजीक्षेत्र र व्यापार वार्ताकारहरूको अहिले एकमात्र सक्रियता अमेरिकी भन्सार दरको प्रभाव न्यूनीकरण र यस भन्सार दरभित्र अन्तरनिहित अवसरको पहिचानका वरिपरि परिभ्रमण गरिरहेका छन् । नेपालको दोस्रो सबैभन्दा ठूलो निर्यात गन्तव्य तथा पाँचौ ठूलो आयातको स्रोत मुलुक, समग्रमा निर्यात आयात अनुपातको अवस्था लगभग सन्तुलनको हाराहारीमा रहेको सन्दर्भमा नेपालले पनि संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ताको तयारी गर्दै यस सम्बन्धमा व्यापक गृहकार्य हुनु आवश्यक छ ।
सैद्धान्तिक अवधारणा
डिप्लोमेसीको सबैभन्दा नजिकको संस्कृत शब्द दौत्यम् हो, जसको जगमा दुवै पक्षको हितमा मिलनविन्दुको पहिचान गरी दुवै देशको हितसाधन गर्नु हो जसको माध्यम वार्ता हो । यी अभ्याशहरू सहलाभको सिद्धान्तमा आधारित हुन्छन् । अर्थात् दुवै पक्षको हित साधन गर्ने यस विधिलाई दौत्य नीतिमा सात्त्िवक नीति भनिन्छ जो दीर्घकालीन प्रकृतिका र सहज लाभका स्रोत मानिन्छन् ।
वर्तमान अमेरिकी भन्सार नीतिको उद्देश्य पनि सहलाभमा आधारित व्यापारिक सम्बन्ध स्थापना गर्नु हो । संयुक्त राज्य अमेरिकाले विश्वभरिका देशहरूलाई न्यूनतम भन्सार दरको सुुविधा दिइरहँदा अपवादबाहेक शेष विश्वका अधिकांश देशहरूले संयुक्त राज्य अमेरिकाबाट हुने वस्तुहरूको आयातमा भीषण आकारको भन्सार दरहरू लागू गरिरहँदा यी व्यवहारहरू न्यायसंगत नभएको अमेरिकी आम जनता र अर्थशास्त्रीहरूको प्रतिनिधि पात्रका रूपमा वर्तमान संयुक्त राज्य अमेरिका भन्सार दरहरूको घोषणा भएको पृष्ठभूमिमा माथि भनिएझैं सहलाभ (विन विन)को सिद्धान्तभित्र रहेर मात्र संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ताहरू सफल हुने लक्षण देखिन्छन् ।
नेपालका सुरक्षा र अन्य रणनीतिक पक्षहरूमा सम्बोधन गर्नुपर्ने धेरै विषयहरू नरहेको र आर्थिक पक्ष नै प्रधान पक्षका रूपमा रहेको सन्दर्भमा यूरोपेली संघ, जापान, चीन, दक्षिण अमेरिकी र अफ्रिकी देशहरूको तुलनामा नेपालको संयुक्त राज्य अमेरिकासँगको व्यापारवार्तामा धेरै जटिलता छैनन् र सम्बोधन गर्नुपर्ने पाश्र्व विषयहरू पनि धेरै छैनन् । सारमा भन्नुपर्दा नेपाल र संयुक्त राज्य अमेरिकाबीच विशुद्ध भन्सार दरहरूमा गरिने वार्ताहरूले अपेक्षित परिणाम ल्याउन सकिने सम्भावना रहेको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य मुलुकसमेत रहेको र नेपाल र भारतबीच विद्यमान वाणिज्य सन्धिमा अन्य मुलुकबाट हुन आयातलाई नेपालले लगाउने भन्सार दरहरू भन्दा भारतबाट हुुने आयातमा बढी भन्सार लगाउन नपाउने व्यवस्थाहरूलाई समेत दृष्टिगत गरी संयुक्त राज्य अमेरिकासँग नेपालले व्यापार वार्ता अघि बढाउनु आवश्यक देखिन्छ ।
गृहकार्य गरिनुपर्ने विषयहरू
नेपालले संयुक्त राज्य अमेरिकासँग गर्ने व्यापार वार्तामा आन्तरिक रूपमा देहायका विषयमा गृहकार्य हुन जरुरी छ । सर्वप्रथम नेपालले संयुक्त राज्य अमेरिकाबाट वर्तमान समयमा गरिरहेका आयातको विश्लेषण हुन जरुरी छ । ती आयात विशुद्ध रूपमा संयुक्त राज्य अमेरिकाबाट मात्र आयात भइरहेका छन् कि अन्य मुलुकबाट पनि आयात भइरहेका छन् उक्त विषयमा समेत तुलनात्मक रूपमा अध्ययन हुन जरुरी छ । यदि ती वस्तुहरू संयुक्त राज्य अमेरिका र अन्य मुलुकहरूबाट समेत आयात भइरहेका छन् भने संयुक्त राज्य अमेरिकाबाट मात्रै आयात गर्दाका लाभहानिका विषयमा पनि विश्लेषण हुन आवश्यक हुन्छ । जुन वस्तु नेपालले संयुक्त राज्य अमेरिकाबाट आयात गरिहेको छ ती वस्तु अन्य मुलुकबाट आयात गरिरहँदा उक्त मुलुकसँगको नेपालको व्यापार सन्तुलनको अवस्था कस्तो छ भन्ने विषय पनि यस विश्लेषणको अंग बनाउन जरुरी छ ।
उदाहरण भटमास
आर्थिक वर्ष २०८०/८१ मा नेपालले विश्वका भारत, नाइजेरिया, संयुक्त राज्य अमेरिका, बुर्किना फासो, क्यानडा, चीन, इथियोपिया, घाना, मलावी, मोजाम्बिक र टोगो गरी विश्वका ११ ओटा देशहरूबाट भटमास आयात गरेकोे देखिन्छ । यी देशमध्ये पनि नेपालको कुल भटमास आयातमा संयुक्त राज्य अमेरिकाको अंश ५८ दशमलव ९३ प्रतिशत रहेको छ भने नाइजेरियाको अंश २० दशमलव ८९ प्रतिशत रहेको छ । यसैगरी टोगोको अंश ७ प्रतिशत रहेको छ भने भारतको अंश ५ दशमलव ४२ प्रतिशत रहेको छ । बाँकी देशहरूको अंश ७ दशमलव ७८ प्रतिशत रहेको छ । परन्तु नेपालले भटमास आयात गर्ने मुलुकमध्ये चारओटा मुलुकसँग नेपालको निर्यात शून्य रहेको छ । बाँकी सातओटा मुलुकमध्ये पनि नाइजेरिया, इथियोपिया र टोगोसँग नेपालको निर्यात आयात अनुपात ४ अंकको विशाल खाडल रही ती मुलुकसँग नेपालको निर्यात नाम मात्रको रहेको छ । चीनसँगको नेपालको निर्यात आयात अनुपातको खाडल तीन अंकमा रहेको छ भने भारत र क्यानडासँगको सो अनुपात क्रमश: १: ९ दशमलव ७ र १: ६ दशमलव ६ रहेको छ । संयुक्त राज्य अमेरिका यस्तो देश हो जससँग नेपालको निर्यात आयात अनुपात सर्वाधिक अनुकुल अर्थात् १: १ दशमलव १ रहेको छ ।
अभटमास उत्पादनको दृष्टिकोणबाट हेर्दा विश्वमा प्रमुख उत्पादक देशहरूमा ब्राजिलपछि संयुक्त राज्य अमेरिका दोस्रो स्थानमा रहेको छ । परिस्थितिमा नेपालको भटमास आयात नीति के हुने भन्ने विषयमा उपर्युक्त तथ्यांकले स्पष्ट संकेत गरेको छ । सर्वाधिक अनुकूल व्यापार सन्तुलन भएको, नेपालको निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक पनि रहेको आदि कारणलाई दृष्टिगत गरी अन्य मुलुकलाई छोडी नेपालले संयुक्त राज्य अमेरिकाबाट भटमास आयात गर्ने नीति अंगीकार गर्नुपर्छ । नेपालले संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ता गर्दा यस्ता आयातमा नेपालले छूट दिन सक्ने र नेपालका अमुक अमुक वस्तुहरूमा संयुक्त राज्य अमेरिकाबाट सहुलियतको माग राख्ने मोडालिटीमा व्यापार वार्ता अघि बढाउन आवश्यक देखिन्छ ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापारको वर्तमान अवस्थालाई दृष्टिगत गर्दा अमेरिकी चाहना र नेपाली बजारको आकार र प्रवृत्तिलाई दृष्टिगत गरी (१) काष्ठफल ( नट्स) वर्गका उत्पादनहरू, (२) भटमास र सूर्यमुखी (तैल वर्गका उत्पादनहरू), (३) हवाईजहाज तथा पार्ट्स तथा (४) कोइलाजस्ता अमेरिकी उत्पादनलाई नेपालले अमेरिकाबाट आयात गर्ने प्राथमिकताको सूचीमा राख्नु आवश्यक हुन्छ ।
नेपालमा संयुक्त राज्य अमेरिकाबाट हुने आयातले पनि यही संकेत गर्छ । काष्ठफलमा बदाम, पेस्ता जस्ता वस्तुहरू नेपालमा आयात गर्ने मात्रै हैन, चीन र भारतको बजार लक्षित निर्यात गर्ने रणनीतिमा पनि आयात गर्नु जरुरी छ । सीमावर्ती नेपाली बजारमा भारतीय उपभोक्ता अमेरिकी बदाम र पेस्ताका ब्रान्डसहित ठूलाठूला शो रूमहरू राख्नु आवश्यक छ । यस्तै भटमास, सूर्यमूखी तेल र मुमफली यी तीन उत्पादनमा पनि नेपालले संयुक्त राज्य अमेरिकाबाट हुने आयातलाई प्रोत्साहन हुने नीति अंगीकार गर्नु आवश्यक छ ।
नेपालको उड्डयन उद्योगको पुरानोे साझेदारको रूपमा रहेको संयुक्त राज्य अमेरिकाबाट हवाईजहाज, हेलिकप्टर, तिनका पार्टस्पुर्जा र एक्सेसरिजको आयातलाई प्रोत्साहन हुने नीति पनि नेपालले अंगीकार गर्नु आवश्यक छ । यस्तै संयुक्त राज्य अमेरिकाले कोइला उत्खननलाई प्रोत्साहन गर्ने नीति अंगीकार गरेको र नेपालमा कोइलाको माग पनि आकर्षक रहेको सन्दर्भमा संयुक्त राज्य अमेरिकाको कोइला आयातमा पनि प्रोत्साहनात्मक नीतिहरू लिनु आवश्यक छ ।
अबको बाटो
सारमा भन्नुपर्दा नेपाललाई आवश्यक पर्ने उल्लेख्य आयात भइरहेका र संयुक्त राज्य अमेरिकाको निर्यात प्रवर्द्धन रणनीतिमा परेका वस्तुहरूको आयातमा नेपालले विशेष पहल लिन आवश्यक छ ।
यस्तो पहलसँगै नेपालले संयुक्त राज्य अमेरिकातर्फ निर्यात गर्न भन्सार सुविधाको माग गरिनुपर्ने वस्तुहरूको सूचि पनि तयार गर्नुपर्छ । ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना शल, फेल्टका उत्पादनहरू, शिरपोश र पाउपोश, चाँदीका गहना, हस्तकलाका सामानहरू, प्राकृतिक रेशाका उत्पादनहरू तथा नेपालको भूगोल विशेषमा उत्पादन हुने विशेष गुण भएका वानस्पतिक, खाद्यान्न, तेलहन र दलहनजस्ता वस्तुहरूका लागि अमेरिकी बजारमा सहुलियतका लागि व्यापार वार्ताहरू आरम्भ गरिनु आवश्यक देखिएको छ ।
यसका अतिरिक्त पनि निजीक्षेत्रको सल्लाहमा संयुक्त राज्य अमेरिकाबाट आयात गर्दा नेपाललाई लाभ हुने गरी कुनकुन वस्तुको आयात प्रवर्द्धन गर्ने र सो को साटो कुनकुन वस्तुहरूका लागि अमेरिकी बजारमा सहुलियतका लागि पहल गर्ने भन्ने विषयमा ठोस धारणा बनाई तथ्यतथ्यांक तथा दुवै पक्षको लाभ हुने स्पष्ट खाकासहित संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ताको तयारी थाल्न अब विलम्ब गर्नु हुँदैन । संयुक्त राज्य अमेरिकाबाट आयात गर्ने सम्भावना हुँदाहुँदै पनि नेपालको निर्यात सम्भावना न्यून भएको मुलुकबाट ती वस्तु आयात गर्नुको साटो बरु निर्यात अभिवृद्धिको रणनीतिभित्र पारी त्यस्ता वस्तुहरू संयुक्त राज्य अमेरिकाबाट आयात गर्ने नीति अपनाउँदा नेपाललाई लाभ हुने देखिन्छ । अबको नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापारिक सम्बन्ध माग्ने र दिने मोडालिटीबाट प्रस्थान गरी दुवै पक्षको लाभ हुने लिने र दिने मोडालिटीतर्फ लाग्नु जरुरी छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।