एकथरी मानिसहरू अहिले राजा नभएर नै देश बर्बाद भोे, विदेशीले हेपे । राजा चाहियो भन्न थालेका छन् । हिजोकै राजा ठीक, हिजोकै व्यवस्था ठीक, हिजो रामराज्य थियो, अहिले नर्क भो भनेर बर्बराउन थालेका छन् । त्यही भएर गणतन्त्र धर्मराउन थालेजस्तो छ । मसानमा पुगेको भूत चल्मलाउन थालेजस्तो छ ।
हिजो नेताका प्रत्येक शब्दमा ताली बजाउनेहरू अचेल गाली बर्साउन थालेका छन् । ताली, गाली, थाली, माली जे जे गरे पनि देशका लागि त नेता नभई कसरी चल्छ र ? नेता भएपछि न सांसद, मन्त्री बन्ने हुन् । सांसद भएपछि न संसद् बन्ने हो, नीति बन्ने हो । त्यै नीति नियम कार्यान्वयन गर्न मन्त्री बन्ने, बनाउने हो । मन्त्री बनाएपछि न मन्त्रालय र सरकार चल्ने हो । देशलाई जनता थोरै भए पनि चल्छ, तर नेता धेरै नभई त हुँदै हुँदैन नि । त्यसैले त देशलाई धनी बनाउनु छ भने पहिला नेतालाई धनी बनाउनुपर्छ भन्ने गरिएको ।
नेता भएपछि नेतालाई भोट त चाहिन्छ नै । जति नै खोट भए पनि भोट पाउन नोट पनि चाहिन्छ, असल कुरामात्रै गर्नेले त चोटैचोट पाउने हो । नोट पाउनुभन्दा पहिल्यै भोट पाउन सके राम्रो हो । किनकि भोट पाएपछि नोट पनि आफै आउन थालिहाल्छ । यसरी नोट, भोट र चोटको तीन चक्कर काटेपछि बल्ल नयाँ राजा बनिन्छ । विगतमा केवल एउटा दरबार थियो– नारायणहिटी । पछि सिंहदरबार हुँदै पेरिस दरबार, बालकोट दरबार, बुढानीलकण्ठ दरबार, बल्खु दरबार र अहिले भैंसेपाटी दरबार बनिसकेको छ ।
भोट पाउन नेता भोटरकहाँ त पुग्नैपर्छ । भोटरकहाँ पुग्न नेतालाई मोटर त चाहिन्छ नै । मोटर भएपछि यात्रा त गर्नैपर्यो । यात्रा गर्नका लागि भत्ता चाहिन्छ नै । भत्ताका लागि सत्ता चाहिन्छ । सत्ताको भर्याङ चढ्न हप्ता असुलीको अभ्यास पनि गर्नैपर्छ । भत्ता लिएपछि नेताले भाषण त गर्नैपर्छ । भाषण सुन्नका लागि जनता नामका केही निर्जीव जीव पनि चाहिन्छन् ।
जनतालाई त अनिवार्य आश्वासन चाहिन्छ । तर शासनविनाको आश्वासन काम लाग्दैन । आश्वासनका लागि जनताका आशा अर्थात् मागहरू पनि हुनैपर्छ । जनताका माग पूरा गर्छु भन्ने नेताले आफ्नो परिवारको माग पूरा नगर्ने कुरै भएन । परिवार भनेपछि परिवार बस्ने घर, अझ बंगलाहरू पनि चाहियो । बंगलाहरू बनाउन त बस्ती, नगर चाहियो । बस्ती, नगर आदि बस्न, बसाउन जिल्ला र अझ प्रदेशहरू चाहिए । जिल्ला र प्रदेशहरू भएपछि न बल्ल देश बन्छ । अनि देश भएपछि नेता त चाहिए चाहिए । नेता नभई देश हुन्छ र ? अनि नेताको विरोध किन ?
देशमा एकथरी मानिसहरूलाई नेताले पुगेको छैन । राजा नै चाहिन्छ भन्न थालेका छन् । अझ कोही कोही त तन्त्रमन्त्र गरेर पनि राजतन्त्र नै फर्काउनुपर्छ भनेर पनि कराइरहेका देखिन्छन् । उनीहरूले कुरा नबुझेका हुन् वा बुझेर बुझ पचाएका हुन् मैले चैं बुझिनँ । किनकि नाम, पद जे लेखे पनि, जे भने पनि आखिरमा संसद् भवनभित्र छिर्ने सांसदहरू र सिंहदरबारदेखि गाउँगाउँमा पुगेका ७५३ सिंहदरबारहरू अर्थात् स्थानीय निकायसम्म हाँक्नेहरू को हुन् त ? ती राजा हैनन् र ? राजा भनेको के हो ? राज गर्ने होइन र ? अर्थात् उनीहरूले सेवाको बदलामा राम्रैसँग मेवा लिएरै काम गरिरहेका छन् । यसरी उनीहरूले राज गरेकै छन् त । राज गर्ने भएपछि राजा भएनन् त ? यसमा कुनै शंका छ र ?
पहिले लिगलिग डाँडामा दौडेर पहिलो हुने राजा बन्थे, अहिले दिल्ली दौड र बेइजिङ वन्दना नगरी बन्नै सकिन्न । तर एकपटक राजा बनिसेकपछि भने आर्यघाट नपुगुन्जेलसम्म जनतालाई कजाएर, आश्वासन भजाएरै राज गर्न पाइन्छ ।
अझ पहिलाका राजाभन्दा यी राजा–रजौटाहरूको शानसौकत हेर्नुस् त । विगतमा केवल एउटा दरबार थियो– नारायणहिटी । पछि सिंहदरबार हुँदै पेरिस दरबार, बालकोट दरबार, बुढानीलकण्ठ दरबार, बल्खु दरबार र अहिले भैंसेपाटी दरबार बनिसकेको छ । अर्को वनस्थलीतिर पनि नयाँ दरबार बन्दै छ क्यारे । यी ठूला दरबारहरू बिस्तार भएर अहिले देशैभरि ठूलासाना दरबारहरू पुगिसकेका छन् । नयाँ दरबारहरूभित्र नयाँ नयाँ राजाहरूले राज गर्न थालिसकेका छन् ।
राज चैं कसरी गरिरहेका छन् भनेर नसोध्नुहोला । किनकि यो त जगजाहेर नै छ त । नयाँ राजाहरू राजपाठ चलाइरहेकै छन् । राजपाठ अर्थात् नियम, कानून बनाउनेदेखि ठेक्कापट्टा चलाउनेसम्ममा उनीहरू नै संलग्न छन् । कसलाई ठेक्का पार्ने, कसलाई नपार्ने उनीहरूकै तजबिजमा हुन्छ । कुनै पूर्वाधार बनाउने वा नबनाउने भन्ने कुरा पनि उनीहरूको भागमा के कति पर्छ भन्ने निक्र्योल भएपछि मात्र तय हुन्छ । त्यसैले शहरदेखि गाउँगाउँसम्म जे जति पूर्वाधार आदि बनेका छन्, ती जनताका आवश्यकताभन्दा राजाहरूका मिशन र कमिशनका आवश्यकताले बनेका हुन्छन् । राज गर्न चुनेर पठाएपछि उनीहरूले राज गर्ने ड्युटी त पूरा गर्नैपर्यो, अर्थात् राजा त बन्नैपर्यो ।
राजा बन्न पहिलेजस्तो सजिलो पनि छैन अहिले । पहिले लिगलिग डाँडामा दौडेर पहिलो हुने राजा बन्थे, अहिले दिल्ली दौड र बेइजिङ वन्दना नगरी बन्नै सकिन्न । तर एकपटक राजा बनिसकेपछि भने आर्यघाट नपुगुन्जेलसम्म जनतालाई कजाएर, आश्वासन भजाएरै राज गर्न पाइन्छ ।
पहिले चौतारीमा राजा भेटिए, भन्ज्याङमा रानी भेटिइन् भन्दै गीत गाउँथे । अहिले त सिंहदरबारमा मात्र हैन, गाउँगाउँमा राजा छन्, वडा वडामा रानी छिन्, त्यसैले त्यो गीत गाउनै परेन । अहिले त गाउँ ठाउँमा राजारानी मात्र छैनन्, तिनका मोटर पनि छन्, डोजर पनि छन् । किनकि ती चीज नभई राजतन्त्र आउँदैन वा आएको मानिँदैन ।
त्यसैले त यो राजस्व उठाउनेमा आधारित नयाँ राजतन्त्र आउनुअघि स्थानीय निकायमा २०/५० रुपियाँमा हुने कामका लागि अहिले १०/२० हजार चाहिन्छ । किनकि पुरानो फालेपछि नयाँलाई पाल्नुपर्यो । सोहीअनुसार उनीहरूको इज्जतलाई सजाएर ब्रिफकेसमा हाल्नुपर्यो । प्रदेश र केन्द्रका राजाहरूको जस्तै उनीहरूको पनि इज्जत, मान, सम्मान, गौरव भन्ने कुरा हुन्छ । ती कुराहरूको पनि ख्याल गर्नुपर्ने हुन्छ । उनीहरूलाई पनि गाडी, बंगला, विदेश भ्रमणको इच्छा हुन्छ । यसरी यी नयाँ राजाहरूको आवश्यकता पूरा गर्न नसक्ने जनता वास्तवमा जनता नै होइनन् । त्यसैले ज–जसले स्वदेशमा राजाहरूको आवश्यकता पूरा गर्न सक्तैनन्, ती विदेशतिर लाग्नु नै कल्याणकारी हुन्छ भनेर नयाँ दिव्य उपदेशमा लेखिएको छ ।
पहिले जहाँनिया राणाशासन नामक राजतन्त्र थियो । पछि एकतन्त्रीय शाहवंश नामक राजतन्त्र आयो । अहिले बहुदलीय गणतन्त्रात्मक राजतन्त्र चलिरहेको छ । विश्वमै कहीँ नभा राजतन्त्र क्या ! नौलो प्रयोग । रूपमा, नाममा जे देखिए पनि, जे लेखिए पनि सारमा सबै राजतन्त्र नै हुन् । अर्थात् राजाहरूका लागि, राजाहरूद्वारा, जनतालाई शासन गर्न बनाइएको तन्त्र । यसको सुन्दर पक्ष नै यो हो कि बुद्धिसुद्धी नभएको, कुनै सामान्य चप्पल पड्काएर हिँड्ने सडकछाप पनि नेता बनेर राज गर्ने ठाउँमा पुग्न सक्छन् । राजा बनेपछि आफू र आफ्ना अनुकूल नियम कानून बनाएर जिन्दगीभर राज गर्न पाउँछन् । अब यस्तो अनुपम राजतन्त्र भएको मुलुकमा यो पुरानो राजा फर्काउने वा राजतन्त्र ल्याउने कुरा केका लागि हो मैले बुझ्न सकेको छैन । तपाईंले बुझ्नुभएको छ त ?