सहकारी विभागले सहकारी सुधार कार्ययोजना दुई हप्ताभित्र सार्वजनिक गर्ने भएको छ । सो कार्ययोजनाबारे सहकारी तथा गरीबी निवारण मन्त्रालयलगायत सम्बन्धित पक्षसँग यसै साता छलफल गरिने सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले बताए ।
उनले भने, ‘सहकारीको मूल्य एवम् मान्यताअनुसार सहकारी संस्थाको सञ्चालन गर्न गराउन कार्ययोजना ल्याउन लागिएको हो ।’ अहिलेसम्म सहकारी क्षेत्रलाई समस्याग्रस्त घोषणा नगरिए पनि समस्याग्रस्त सहकारी संस्थाहरू धेरै रहेको उनको भनाइ छ ।
सहकारीको अनुगमनका क्रममा समस्याग्रस्त सहकारी धेरै फेला परेको पनि न्यौपानेले बताए । उनका अनुसार सहकारी संस्थाहरू सदस्यहरूबाट सञ्चालित हुनुपर्नेमा अहिले सञ्चालकहरूमार्फत सञ्चालन भइरहेको पाइएको छ । कतिपय सहकारी संस्थाहरूमा त शेयर सदस्यको भूमिका अलिकति पनि नदेखिएको उनले जानकारी दिए ।
प्रस्तावित कार्ययोजनामा सहकारीको अनुगमन नतीजामुखी भएर गर्नुपर्ने उल्लेख छ । अहिलेसम्म अनुगमन कार्य सहकारी सिद्धान्तअनुरूप प्रक्रियामूलक तरीकाले गर्ने गरिएको विभागले बताएको छ ।
सहकारीले कुल लगानीको ४० प्रतिशतसम्म घरजग्गामा लगानी गरेको फेला परेको थियो । न्यौपानेले भने, ‘अनुगमनका क्रममा देखिएका त्यस्ता समस्या समाधान गर्नु पनि कार्ययोजनाको उद्देश्य हो ।’ सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी तत्काल कारवाही गर्दा नकारात्मक असर पर्ने भएकाले पहिलो चरणमा सुधार गर्न निर्देशन दिइने कार्ययोजनामा उल्लेख छ ।
वर्ष ८, अंक ६३, बुधवार ६ मङ्सिर, २०६९