पुस १८, पाँचथर (अस) । पाँचथरमा केन्द्रीय प्रसारणको विद्युत् वितरण गर्ने जिम्मा पाएको फिदिम विद्युत् सहकारीले महसुल नबुझाएको भन्दै प्राधिकरणले विद्युत् लाइन काटेको छ । ०६५ सालमा प्राधिकरणसँगको सम्झौतापछि सदरमुकाम फिदिमसहित आसपासका यासोक, रानीगाउँ, रानीटार, लुम्फाबुङ ,नागिन क्षेत्रमा सहकारीले विद्युत् वितरण गर्दै आएको थियो । सहकारीले रू. २ करोड बक्यौता नबुझाएपछि बुधवार बिहानबाटै लाइन काटिएको प्राधिकरणले बताएको छ । विद्युत् अवरुद्ध भएपछि जिल्लामा सञ्चालित साना–ठूला उद्योगका काम ठप्प भएको छ ।
प्राधिकरणले पटकपटक बक्यौता तिर्न पत्राचार गर्दा पनि बेवास्ता गरेको प्राधिकरणले बताएको छ । प्राधिकरणलाई मासिक शुल्क बुझाउने सहमति गरे पनि ०६५ सालबाटै शुल्क नबुझाएको प्राधिकरण स्रोतको भनाइ छ । प्र्राधिकरणले लाइन काट्नुपूर्व जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले लाइन सहकारीको हिसाब मिलान गरी विद्युत् सुचारु गर्न निर्देशन दिइसकेको बताए । सहकारीमार्फत २ हजार उपभोक्ताले विद्युत् उपभोग गरिरहेका थिए । उपभोक्ताले भने विद्युत् महसुल तिरे पनि सहकारीले नतिरेका कारण आफूहरू मारमा परेको बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.