साउन २०, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५१ दशलमव ३७ प्रतिशत घटेको छ ।
कम्पनीले अघिल्लो आवमा रू. १४ करोड ९५ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ७ करोड २७ लाखमा झरेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५३ दशमलव ५९ प्रतिशत घटेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २२ करोड १८ लाख, रिटेण्ड अर्निङमा रू. ४ करोड २६ लाख र शेयर प्रिमियममा रू. ११ लाख ४१ हजार सञ्चित गरेको छ ।
कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ३३ रहेकोमा गत आवमा घटेर रू. ६ दशमलव ९० मा झरेको हो ।
त्यस्तै, कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ४५ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ ।
गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४४ दशमलव ९० गुणा, तरलता अनुपात ४६ दशमलव ५१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव २३ रहेको छ ।