काठमाडौं । पछिल्लो चार दिनयता तोलामा १ हजार ६०० रूपैयाँ बढेको सुनको भाउ ‘अल टाइम हाई’ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार (आज) सुनको भाउ तोलाको १ लाख ३ हजार ९०० रूपैयाँ तोकिएको छ । सुनको भाउ ‘अल टाइम हाई’ हुँदा तोलाको १ लाख ५ हजार ५०० रूपैयाँ पुगेको थियो । यस आधारमा सुनको मूल्यमा तोलामा १ हजार ६०० रूपैयाँभन्दा बढी वृद्धि भए नयाँ रेकर्ड बन्नेछ ।
पुसमा सुनको मूल्यमा भएको वृद्धि हेर्दा नयाँ रेकर्ड कायम हुने सम्भावना देखिन्छ । पुस १ गतेयता सुनको मूल्य तोलामा ४ हजार रूपैयाँ बढिसकेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत पुस १ गते सुनको भाउ तोलामा ९९ हजार ९०० रूपैयाँ थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रवार सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रूपैयाँ थियो । आइतवार सुनको भाउ तोलामा १ हजार रूपैयाँ बढेर १ लाख ३ हजार ३०० रूपैयाँ पुगेको थियो ।
पछिल्लो चार दिनयता मात्रै सुनको भाउ तोलामा १ हजार ६०० रूपैयाँ बढिसकेको छ । गत शुक्रवार सुनको मूल्य तोलाको १ लाख २ हजार ३०० रूपैयाँ थियो । आइतवार बढेर १ लाख ३ हजार ३०० रूपैयाँ पुगेको थियो ।
सुनचाँदी व्यवसायीहरू पनि सुनको मूल्य अझै बढ्न सक्ने बताउँछन् । यो भनाइमा सहमत छन्, सुनचाँदी व्यवसायी महासघंका अध्यक्ष मणिकरत्न शाक्य । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि बढिरहेको उनको भनाइ छ । ‘अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य प्रतिऔंस ३५ डलर बढेको छ, त्यसले नेपाली बजारलाई पनि प्रभाव परेको छ,’ उनले भने ।