काठमाडौं । भदौ ८ गते तीन विकास बैंकले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २० हजार कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकले ३ लाख ३४ हजार ८७४ कित्ता र एक्सेल डेभलपमेन्ट बैंकले १६ हजार २७५ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका हुन् ।
तीन कम्पनीमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शेयरको प्रतिकित्ता मूल्य १४५ तोकेको छ । अन्य दुई कम्पनीहरूले भने शेयरको मूल्य खुलाएका छैनन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विक्रीमा ल्याएको शेयर खरीद गरेका शेयरधनीहरूले भदौ ८ गतेपछि कम्पनीद्वारा घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्ने जानकारी समेत दिएको छ ।
भदौ ८ देखि विक्रीमा आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि भदौ १७ गतेसम्म आवेदन दिनुपर्नेछ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
अन्य दुई कम्पनीको शेयर खरीदका लागि आगामी १५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सांग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले भने यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।