काठमाडौं । नेपालको हवाई सुरक्षाको स्थितिबारे व्यापक प्रश्न उठिरहेका बेला बुधवार भएको हेलिकोप्टर दुर्घनामा एक नेपाली पाइलट र चार चिनियाँ नागरिकको निधन भएको छ ।
काठमाडौंबाट रसुवाको स्याफ्रुबँेशीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ७, सूर्यचौरमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित चिनियाँ नागरिकको निधन भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।
साउन ९ गते १८ जनाको ज्यान जाने गरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घाउ सुक्न नपाउँदै बुधवार उक्त हेलिकोप्टर दुर्घटना भएको हो ।
निधन हुनेमा क्याप्टेन अरुण मल्लसहित चिनियाँ नागरिक टाङ चुटाओ, वु यियाओ, ली चिय र सी चमिन रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुर्घटनामा निधन हुनेहरूको शव बुधवार नै संकलन गरेर पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ ।
मल्ल २०७० साल असोजमा लुक्लामा भएको हवाई दुर्घटनामा परी बाँच्न सफल पाइलट हुन् । एयर डाइनेस्टीकोे पाइलट रहेका उनी हेलिकोप्टर अवतरण गर्ने क्रममा भएको दुर्घनामा परेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधवार दिउँसो १ बजेर ५४ मिनेटमा एयर डाइनेस्टीको हेलिकोप्टर काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेँशीका लागि उडेको थियो । उडेको ३ मिनेटपछि नै काठमाडौंको टावरसँग हेलिकोप्टरको सम्पर्क विच्छेद भएको थियो । पछि उक्त हेलिकोप्टर सूर्यचौरमा दुर्घटनामा परेको पुष्टि भएको प्राधिकरणले जानकारी दिएको छ । उक्त कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले चिनियाँहरू के प्रयोजनका लागि स्याफ्रुबँेशी जान लागेका हुन् त्यो निश्चित नभएको बताए ।
सरकारी अधिकारीहरूका अनुसार दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । केकस्ता कारणले दुर्घटना भएको हो भन्ने विषय अध्ययनपछि थाहा हुने प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेयले बताए । जल तथा मौसम विज्ञान विभागले मंगलवार र बुधवार मौसम बदली भई सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको थियो । यो अवधिमा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन विभागले साउन २१ गते आह्वान गरेको थियो ।
यसअघि २०७९ साल चैतमा एयर डाइनेस्टीको हेलिकोप्टर काठमाडौंको ह्याम्स अस्पतालमा अवतरण गर्ने क्रममा पनि दुर्घटनामा परेको थियो । उक्त घटनामा मानवीय क्षति भएको थिएन । लामो समयदेखि नेपालमा हवाई दुर्घटनाको संख्या बढ्दो गतिमा रहेको पाइन्छ, जसले गर्दा नेपालको हवाई सुरक्षा स्थितिबारे प्रश्न उब्जेको छ ।
अन्य विमान दुर्घटनाका समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।
प्राधिकरणका प्रवक्ता पाण्डेयले अहिले छिटो अवधिमै भएका हवाई दुर्घटनाले चिन्तित बनाइरहेको बताए । सरकारी कागजमा हवाई सुरक्षामा सुधार हुँदै गरेको देखिन्छ तर दुर्घटना भने बढ्दो क्रममा छ ।
‘काम गराइ र लेखाइमा फरक हो कि ?’ पाण्डेले भने, ‘प्राधिकरणको काम वाचडगको हो, जहाज/हेलिकोप्टर नउड्दासम्म प्राधिकरणले सम्पूर्ण कुरा हेरेको हुन्छ । जब पाइलटले ढोका बन्द गरेर उडान गर्छ, त्यसपछि सम्पूर्ण जिम्मा पाइलटको हुन्छ । प्राधिकरण तथा विमानस्थल सम्पर्कमा रहने भनेको रेडियो सम्पर्क अर्थात् एयर ट्राफिक कन्ट्रोल हो ।’
सन् २०२२ को अप्रिलमा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले गरेको नेपालको नियामकको हवाई सुरक्षा क्षमता लेखापरीक्षणको हवाला दिँदै प्राधिकरणले जारी गरेको हवाई सुरक्षा प्रतिवेदन २०२३ मा प्राधिकरणको हवाई सुरक्षा कार्यान्वयन क्षमतामा सुधार आएको बताएको छ । त्यसमा अन्तरराष्ट्रिय औसत अंक ६७ दशमलव ५ प्रतिशत रहेकोमा नेपालले ७० दशमलव १ प्रतिशत अंक प्राप्त गरेको प्राधिकरणले बताएको छ ।
तर, लगातार दुर्घटना भइरहेकाले प्राधिकरणको क्षमतामाथि प्रश्न उब्जिएको हो । यही साउन १० गते प्रतिनिधिसभाको पर्यटन तथा अन्तरराष्ट्रिय समन्वय समितिमा सांसद उदयशमशेर राणाले प्राधिकरणको नेतृत्वमा प्रदीप अधिकारी आएपछि सातओटा हवाई दुर्घटना भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी लिन उनलाई आग्रह गरेका थिए । खासगरी प्राधिकरणको नियामकीय क्षमता बढाउन यसलाई टुक्र्याएर नियामक र सेवाप्रदायक गरी दुई छुट्टाछुट्टै संस्था बनाउनुपर्ने आईकाओको सुझाव प्राधिकरणले लत्याउँदै आएको छ ।
तर, नेपालको हवाई सुरक्षासम्बन्धी विषय समेटिएको आईकाओ प्रतिवेदन प्राधिकरणले हालसम्म सार्वजनिक गरेको छैन । प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमले आईकाओको हवाई सुरक्षा लेखपरीक्षण प्रतिवेदनमा नेपालको अवस्था सामान्यभन्दा पनि निकै राम्रो सुधार भए पनि दुर्घटना भने भइरहेको बताए । ‘यस कारणले नेपालको हवाई प्रणालीमा वा प्राधिकरणमै समस्या हो कि भन्ने विषयमा अब गम्भीर रूपमा हेर्न जरुरी छ,’ उनले भने । तर, एयर डाइनेस्टीको हेलिकोप्टर किन दुर्घटनामा पर्यो तुरुन्तातुरुन्तै विश्लेषण गर्न भने गाह्रो रहेको बताए ।
जाँचबुझ आयोग गठन
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि बुधवारै बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । हेलिकोप्टर दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन बुझाउन सरकारले नेपाली सेनाका वरिष्ठ क्याप्टेन सुवास थापा, सिम्रिक एयरका मेन्टिनेन्स म्यानेजर विष्णु बस्न्यात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनीयर तनुजा पोखरेल सदस्य सचिव रहने गरी आयोग गठन गरेको हो ।
सबैभन्दा धेरै फ्लाइट मुभमेन्ट भएको एयर डाइनेस्टी करीब ३० वर्षदेखि हेलिकोप्टर सेवा दिँदै आएको एयर डाइनेस्टी हेलिकोप्टर सन् २०२३ मा सेवा दिने कम्पनीमध्ये पहिलो नम्बरमा रहेको छ । नेपाल पर्यटन तथ्यांक २०२३ अनुसार उक्त वर्ष डाइनेस्टीले २ हजार २३४ ओटा उडान/अवतरण (फ्लाइट मुभमेन्ट) गरेको थियो । तयसबाट ६ हजार ८४० यात्रुलाई सेवा दिएको थियो । यो संख्या अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो ।
चारओटा हेलिकोप्टरमार्फत सेवा दिँदै आएको कम्पनीको बुधवारको दुर्घटनामा एउटा हेलिकोप्टर पूर्णरूपमा नष्ट भएको छ । एयर डाइनेस्टी धेरैओटा हेलिकोप्टर भएका कम्पनीमा पर्छ । यद्यपि उक्त दुर्घटनाभन्दा पहिला नै कम्पनीले थप एउटा हेलिकोप्टर ३/४ महीनामा भित्त्याउने योजना बनाइसकेको कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जानकारी दिए । यो कम्पनीको प्रबन्ध निर्देशक पवित्रकुमार कार्की हुन् ।
अर्काइभबाट
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन
उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो दुर्घटनामा परेको हेलिकप्टर
हेलिकप्टर दुर्घटनाका मृतकको शव संकलन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइँदै [अपडेट]
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना : पाँचै जनाको शव भेटियो [अपडेट]
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना : उद्धारका लागि प्रभु एयरको हेलिकप्टर घटनास्थल जाँदै [अपडेट]
४ जना चिनियाँ नागरिक लिएर उडेको एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना