काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफालाई सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई स्वीकृति प्रदान गर्दै नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेस गर्ने निर्णयसमेत मङ्सिर ८ गतेको बैठकले गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम १० करोड ५३ लाख रुपैयाँभन्दा बढी छ ।
रिटेन्ड अर्निङ १ करोड १ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । सिभिल लघुवित्तले नाम परिवर्तन गरी हिमालयन लघुवित्त कायम गरेको हो । यस कम्पनीले विगतका वर्षहरूमा अधिकतम् २० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले हालसम्मकै बढी १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि ) वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।